|

तनहुँ : व्यास नगरपालिका-५ मानहुँकोट र व्यास-८ पुलिमराङको शहीद गाउँलाई खेलकुदमार्फत जोडिने भएको छ। शहीद गाउँका साथै दुई जातीय संस्कृतिको समेत प्रवद्र्धनका लागि तेस्रो अल्ट्रा म्याराथन गरिने भएको हो।

व्यास नगरपालिकाले शहीद दिवसको अवसर पारी माघ १६ गते तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको माध्यमबाट मगर र गुरुङ जातिको संस्कृतिसँग जोड्न लागिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताए।

‘खेलकुदमार्फत पर्यटनको विकास गर्ने उद्देश्यले ‘तेस्रो व्यास नगर अल्ट्रा म्याराथन’ गर्न लागिएको हो,’ नगर प्रमुख न्यौपानेले भने। मगर जातिको बाक्लो वस्ती भएको मानङकोट र गुरुङ जातिको बस्ती बाक्लो रहेको पुलिमराङलाई खेलकुदको माध्यमबाट जोड्ने उद्देश्यले तीन वर्षदेखि म्याराथन आयोजना गर्दै आएको छ। यस प्रतियोगिताले भ्रमण वर्ष २०२०लाई समेत टेवा पुग्ने विश्वास न्यौपानेले लिए।

‘मगर गाउँ मानहुँ र गुरुङ गाउँ पुलिमराङलाई जोड्न अल्ट्रा म्याराथनले टेवा पुर्‍याउने विश्वास लिएका छौँ, खेलकुदमार्फत् पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले म्याराथन आयोजना गरेका हौँ,’ न्यौपानेले भने। उनका अनुसार पर्यटकीय सम्भावना बोकेको मानहुँकोटको विकासको गति अगाडि बढिसकेको छ भने शहीद गाउँ पुलिमराङमा पनि शहीद उद्यानलाई व्यवस्थित गरिएको छ।

मानहुँमा चालु आर्थिक वर्षमै दृश्यावलोकन स्तम्भ निर्मणको कामअगाडि बढाइएको उनले बताए। पुलिमराङको सहिद उद्यानलाई व्यवस्थित गरिएको उनको भनाई छ। शहीद दिवसको दिनमा नै पुलिमराङको शहीद उद्यानको अनावरण गर्ने कार्यक्रम रहेको नगर प्रमुख न्यौपानेले जानकारी दिए।

पहिलो पटक वैशाख १ गते अल्ट्रा म्याराथन आयोजना गरेको नगरपालिकाले गत वर्षदेखि सहिद दिवसको अवसर पारेर माघ १६ गते म्याराथनको आयोजना गरेको थियो। उक्त म्याराथनलाई नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको न्यौपानेले बताए। म्याराथनमा देशभरबाट धावक सहभागी हुने र धावकलाई पनि यी दुई गाउँको रीतिरिवाज र संस्कृतिबारे जानकारी प्राप्त अवसर जुट्ने उनले बताए। म्याराथन खेलकुद मात्रै नइृ दुई जातिको रीतिरिवाज र संस्कृतिको प्रवद्र्धनको प्रवद्र्धनमा महत्वपूर्ण रहने उनको अपेक्षा छ।

व्यास नगरपालिका-५ मानहुँबाट सुरु हुने म्याराथन व्यास नगरपालिका-८ पुलिमराङसम्म ४४ किलोमिटर दूरीको रहनेछ। म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे-चापाघाट-अनसन चौतारी-सफासडक-भोर्लेटार, चोक-बैरेनी-दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ–डिही–बर्लाची–सोतीवेशी–बगुवा, रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ।

प्रतियोगिताका लागि माघ १४ गतेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ। प्रतियोगितामा प्रथम पुरस्कार ८१ हजार ७६, द्वितीय पुरस्कार ६१ हजार ७६ र तृतीय पुरस्कार ५१ हजार ७६ प्रदान गरिनेछ भने सान्त्वना हुने पाँचजनालाई १६ हजार ७६ प्रदान गरिने प्रतियोगिता संयोजक एवं व्यास नगरपालिका–९ का अध्यक्ष सुरेश थापाले जानकारी दिए।

गत वर्ष नेपाली सेनाका खगेन्द्रबहादुर भाटले उक्त दूरी दुई घण्टा ५३ मिनेटमा पूरा गरी प्रथम भएका थिए। प्रतियोगिता सञ्चालन गर्नका लागि नगरप्रमुख न्यौपानेको संयोजकत्वमा मूल समिति, उपप्रमुख मीरा जोशीको संयोजकत्वमा अनुगमन समिति, व्यास नगरपालिका-५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको नगरपालिकाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.