मानवअधिकारकर्मीले पठाए ‘माया घर’

|

भद्रपुर : भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा रहेकी एक बेवारिसे महिलाको ६३ दिनपछि शुक्रबार उद्धार गरिएको छ। शारीरिक रूपमा असक्त रहेकी ती महिलालाई झापाका मानव अधिकारकर्मीले उद्धार गरेका हुन्। महिलालाई उद्धार गरी शुक्रबार नै संरक्षणका लागि इटहरीस्थित ‘माया घर’ पठाइएको छ।

अस्पतालमा बेवारिसे महिला रहेको विषयमा सञ्चारमाध्यममा समाचार बाहिरिएपछि झापाका मानव अधिकारले ती महिलालाई प्रदेश-१ को सामाजिक विकास मन्त्रालय मातहत रहेको बेसहाराको आश्रय स्थल ‘माया घर’ इटहरीमा संरक्षण गर्नेका लागि पहल गरेका थिए।

सामाजिक अभियन्ता पुण्यप्रभा सुब्बाले सञ्चारमाध्यमसँग बेवारिसे महिलाको आफन्त खोजी गरिदिन अपिल गरेपछि मानव अधिकारकर्मी कोषराज न्यौपाने, रणदेव हजाम, दीपक दास, विष्णुप्रसाद खरेल, रेखा अधिकारीलगायतको पहलमा ‘माया घर’को संरक्षण ती महिलालाई जुटेको हो।

सोही पहलबमोजिम झापाका मानव अधिकारकर्मी, सामाजिक अभियन्ता र सञ्चारकर्मीको संयुक्त रोहबरमा अञ्चल अस्पताल प्रशासनले महिलालाई जिम्मा लगाएको हो।

अन्दाजी ४५ वर्ष उमेर रहेकी उनलाई आफन्त तथा अभिभावक लिन नआएसम्मका लागि संरक्षण गर्दै लालन पालनको जिम्मा लिएर राख्नका लागि प्रहरी, अस्पताल प्रशासन, अधिकारकर्मी सामाजिक अभियन्ताले ‘माया घर’लाई जिम्मा लगाएका हुन्।

अस्पतालका मेडिकल सुपरिटेण्डन डा. पीताम्बर ठाकुरले उद्धारका लागि आएकी ‘माया घर’की सचिव अर्पणा राईलाई ती महिला रहेको क्याबिनमा जिम्मेवारी पत्र हस्तान्तरण गर्दा सुती रहेकी ती महिला जुरुक्क उठेर दार्जिलिङ लाने हो भन्दै खुसी व्यक्त गरेपछि उद्धारका लागि पुगेका सबै हर्षित भएका थिए। दोहोरो कुराकानीसमेत गर्न नसक्ने ती महिला आफूलाई डिकी तामाङ भएको बताउँछिन्।

मानव अधिकारकर्मी दीपक दासले सडक मानवविहीन समाज परिकल्पना नै मानव अधिकारको आधारभूत मान्यता रहेकोले ती महिलालाई संरक्षण दिएको बताए। गत कात्तिक ३० गते बिरामी अवस्थामा सीमा नाका काँकडभिट्टामा बेवारिसे अवस्थामा रहेकी ती महिलालाई प्रहरीले उद्धार गरी अस्पतालमा भर्ना गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.