झापाबाट तस्करले लगेका सामान एसएसबीद्वारा बरामद

|

भद्रपुर : नेपालको पूर्वी नाका झापाको मेचीनगरबाट ‘प्रहरी सेटिङमै’ दिनहुँ तस्करी भइरहेको पाइएको छ। तस्करीसँगको ‘प्रहरी सेटिङ’ले नै मेचीनगर पछिल्लो समयमा तस्करीको ट्रान्जिट पोइन्ट बन्न पुगेको हो। 

मेचीनगरको ज्यामिरगढी, काँकडभिट्टा, नकलबन्दा, बाहुँडागी र तिरिङ लगायतका नाकाबाट दिनहुँ लाखौँ मूल्य बराबरको सरसामान तस्करले निकासी तथा पैठारी गिरिरहेको छ। 

अर्थमन्त्री डा युवराज खतिवडा झापामा आएका बेला चोरी तस्करी नियन्त्रण गरी राजश्व सङ्कलनमा केन्द्रित हुन झापा प्रशासन र भन्सार कर्मचारीलाई निर्देशन दिएका थिए। तर, मन्त्री खतिवडाको निर्देशन झापाका प्रहरी, प्रशासनले पालना नगरी चोरी, तस्करीलाई प्रोत्साहन दिँदा भन्सारको राजश्वमा गिरावट आउन थालिसकेको छ। 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्का झापा, सशस्त्र प्रहरी राजश्व तथा भन्सार गस्ती सुरक्षा झापा ८ नम्बर गुल्म काँकडभिट्टा, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले ती नाकामा चोरी तस्करी रोक्न २४ सै घण्टा प्रहरी परिचालन गर्दै आइरहेको छ। 

झापाका सशस्त्र प्रहरी र नेपाल प्रहरीले सादा पोसाक अर्थात् (घुमुवा प्रहरी) त्यस क्षेत्रमा परिचालन गरेको छ। तर, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सादा पोसाकमा खटिएका प्रहरी टोली तस्करसँगको साठगाँठमा तस्करी गतिविधिलाई छुट दिँदै आइरहेको छ। 

सादा पोसाकका प्रहरी आफ्नो हाकिमलाई साना कारोबारीबाट थोरै सामान बरामद गरी काम गरे जस्तो देखाउने र ठूलो कारोबारीसँग सेटिङमा लाखौँको मूल्य बराबरको सामान ओसारपसार कार्यमा संलग्न हुने गरेको एक कारोबारीको दाबी छ। 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्का झापाले जिल्ला हेर्नलाई सादा पोसाकमा सशस्त्र प्रहरी जवानद्वय भक्त लिम्बू र विकास श्रेष्ठलाई खटाएको छ। सशस्त्र प्रहरी राजश्व तथा भन्सार गस्ती सुरक्षा झापा ८ नम्बर गुल्म काँकडभिट्टाले सादा पोसाकमा वरिष्ठ हवलदार सुरेश न्यौपाने र नरेन्द्र नेम्बाङ खटाएको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले सादा पोसाकमा प्रनानि राजेन्द्र पासवान, प्रहरी जवान तेजबहादुर चौलागाई खटाएको छ। त्यस्तै प्रहरी कार्यालय झापाले सादा पोसाकमा काँकडभिट्टा क्षेत्रका लागि प्रनानि राजेन्द्र चौहानको नेतृत्वमा प्रहरी हवलदार यमकुमार श्रेष्ठ र तेजबहादुर वीरेन्द्र मण्डललाई खटाएको छ।  

अहिले मेचीनगरका विभिन्न नाकाहरूबाट भन्सार छलेर दैनिक लाखौँ मूल्य बराबरको लत्ताकपडा, हार्डवेयर, मोटर पार्टस, इलेक्ट्रोनिक्स सरसामान भित्रिरहेको छ। नेपालबाट भारततर्फ दिनहुँ सुख्खा सुपारी, छोगडा, हरियो मटर, सुकुमेल, चाइनिज नास्पति, मरीच, फोरेनगुडसका सरसामान धमाधम गइरहेको छ।  

भारत पुगेका एक करोड बढीको सामान बरामद

झापाको काँकडभिट्टा नाकामा अहिलेसम्मकै ठूलो परिमाणममा तस्करी गतिविधि भइरहेको छ। नेपालबाट भारत पैठारी हुने र भारतबाट नेपाल निकासी हुने सरसामान दिनहुँ मेचीनगरको विभिन्न नाकाबाट तस्करी भइरहेको एउटा घटना सार्वजनिक भएको छ। 

भारतीय एसएसबी र पुलिसले काँकडभिट्टाको सीमा नाकामा पर्ने पश्चिम बङ्गालको नक्सलबारीबाट एक करोड २८ लाख मूल्य बराबरको सामान बरामद गरेपछि यस्तो घटना बाहिर आएको हो।

एसएसबी ४१ बटालियन डी कम्पनीका असिस्टेन्ट कमान डेट रवि तेजा र इन्स्पेक्टर विवेक कुमारको नेतृत्वमा नक्सलबारी थानाअन्तर्गत पर्ने लालीजोतमा पुलिससँग मिलेर नक्सलबारीको विभिन्न स्थानमा भण्डारण गरी राख्ने गोदाममा संयुक्त रूपमा छापा मारेर उक्त मूल्यबराबरको सामान बरामद गरेको हो। 

संयुक्त टोलीले छापा मारेको गोदामबाट सुख्खा सुपारी, हरियो मटर, मरीच, छोगडा र फोरेनगुड्सका सामानहरू ठूलो परिणाममा बरामद गरेको छ। साथै टोलीले तस्करी गतिविधिमा संलग्न ६ जनालाई पक्राउ समेत गरेको छ।

बरामद गरिएको सामानको मूल्य भारतीय ८० लाख रुपैयाँ रहेको एसएसबीका असिस्टेन्ट कमान डेट रवि तेजाले जानकारी दिए। उनका अनुसार बरामद गरिएको सामानहरू नेपालबाट भित्र्याएर भारतमा ल्याएर भण्डारण गरेको हो। बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि पानीट्यांकी भन्सार बुझाइसकेको जनाइएको छ। 

के भन्छन् प्रहरी प्रमुख   

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाका सशस्त्र प्रहरी उपरीक्षक रेसमकुमार थक्सुले मेचीनगरका विभिन्न नाकाबाट तस्करी भइरहेको विषयमा सूचना आएको स्वीकार गरेका छन्। 

‘सूचना पाएलगतै टोली खटाएका छौं,’ प्रहरी उपरीक्षक थक्सुले भने, ‘खटाएका टोलीले सामान पनि बरामद गर्दैछ, तर तस्करी गतिविधि नरोकिएकोमा म आफैँ छक्क परेको छु।’

गणभित्रैबाट सूचना चुहावट भइरहेको बताउँदै यसतर्फ गम्भीर भएर लाग्ने उनको भनाइ छ। तस्करी गतिविधिमा संलग्न भएको सशस्त्र प्रहरीलाई तत्काल कारबाही गरिने उनले बताए। त्यस्तै, प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले तस्करीसँग साठगाँठ गर्ने प्रहरीलाई तत्काल विभागीय कारबाही गरिने बताए।

‘मेचीनगरका नाकाहरूबाट भइरहेको तस्करी विषयमा आफूलाई समेत जानकारी आउन थालेको बताउँदै प्रहरी उपरीक्षक कोइरालाले भने, ‘जिल्लाबाटै प्रहरी परिचालन गरेर त्यस क्षेत्रमा खटाएका छौं, तस्करी रोक्न इलाका प्रहरी कार्यालय काँकडभिट्टासँग पनि समन्वय गरिरहेका छौं।’

भर्खरै सरुवा भएर जिल्लामा आएको बताउँदै उनले भने, ‘म आएदेखि प्रहरीले दिनहुँ गाई गोरुसहित सरसामान बरामद गर्दैछ। मेचीनगर नाका मात्र नभई जिल्लामै तस्करी रोक्न प्रहरी टोली खटाउने छु।’

इलाका प्रहरी कार्यालय काँकडभिट्टामा भर्खरै सरुवा भएर प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल आएकोले यस विषयमा कुराकानी भइरहेको उनले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.