|

काठमाडौं :  बिहीबार र शुक्रबार अत्यधिक हिउँ परेपछि विश्वकै चर्चित अन्नपूर्ण बेस्क्याम्प पुगेका चार पर्यटक र एक नेपाली हराएका छन्। हराउनेमा कोनाको ट्रेकिङ एजेन्सीबाट गएका नेपाली गाइड सरोज परियार रहेका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष हरि भूजेलले जानकारी दिए।

हराइरहेका पर्यटकमा कोरियाली नागरिक ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ, ५३ वर्षीया किम सूक जा र ३८ वर्षीया चोई ह्यो वन रहेको बताइएको छ। १५ जनवरीदेखि पदयात्रा सुरु गरेका कोरियाली पर्यटक यात्रा गरेको दोस्रो दिनदेखि बेपत्ता छन्। 

कोरियाली पर्यटकहरु काठमाडौंको ट्रिप नेपाल मान्टेन गाइड नामक कम्पनीबाट टिम्स शुल्क काटेर अन्नपूर्ण बेस्क्याम्पतर्फ गएका थिए। तर, उनीहरु ट्राभल मेट नामक अन्तर्राष्ट्रिय एजेन्सीमार्फत नेपाल आएको पाइएको छ।  

११ जनाको समूहमा रहेका कोरियालीहरु अन्नपूर्ण पदमार्गको सिगाउँबाट माथि देउराली हुँदै बेस्क्याम्पतर्फ जाने क्रममा हराएका हुन्। ११ जनामध्ये दुईजना सिगाउँसम्म गएका थिए। सिगाउँबाट माथि गएका नौजनामध्ये पाँचजना केही तल रहेको होटलमा सकुशल फर्केको र चारजना बेसक्याम्पतर्फ गएकाहरु हराएका हुन्।

उनीहरु बेपत्ता भएको खबर पाउनेबित्तिकै टान पश्चिमाञ्चलले पोखराबाट छजना गाइडको समूहलाई त्यसतर्फ पठाइसकेको अध्यक्ष भुजेलले जानकारी दिए। उनका अनुसार पोखराबाट गएका गाइडहरु छुम्रु कटिसकेका छन्। केही घण्टामा उनीहरु पर्यटकहरु बेपत्ता भएको क्षेत्रमा पुग्ने उनले बताए।

उद्धारका लागि शुक्रबार पोखराबाट हेलिकोप्टर उडाउन खोजे पनि प्रतिकूल मौसमको कारण उड्न सकेन। मौसम अनुकूल भए शनिबार पोखरा विमानस्थलबाट हेलिकोप्टर लैजाने तयारी रहेको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.