अंगगणितमा कमजोर भए पनि विचारमा माथि छौँ : कांग्रेस उम्मेदवार

|

धनकुटा : आगामी माघ ९ गते राष्ट्रियसभाका १८ सदस्य पदका लागि निर्वाचन हुँदैछ। ५९ सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जनाको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअघि नै चुनाव गरिसक्नु पर्ने कानुनी व्यवस्था छ।

फागुनमा कार्यकाल सकेर बिदा हुनेमा नेकपाका ९, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना छन। राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सकिने संवैधानिक व्यवस्था छ। राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष उपाध्यक्ष मतदाता रहनेछन्। प्रदेश १ मा प्रदेशसभा सदस्यतर्फ ९३ र स्थानीय तहतर्फ अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख २७४ गरी कुल ३६७ जना मतदाता छन। प्रदेश र स्थानीय गरेर कुल मतभार भने ९ हजार ३ सय ९६ रहेको छ।

जसमा प्रदेशसभातर्फ ६७ र स्थानीय तहतर्फ १७४ गरी २४१ मत नेकपाको छ। कुल मत परिमाणलाई हेर्दा प्रदेश १ मा नेकपा बलियो स्थितिमा छ। यसैगरी कांग्रेसको प्रदेशसभातर्फ २१ र स्थानीय तहतर्फ १०८ मत छ।

यस आधारमा हेर्दा प्रदेश १ बाट राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा कांग्रेसभन्दा नेकपा बलियो स्थितिमा छ। यस्तै अन्य दलहरुमा समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रदेशसभामा ५ जना सदस्य छन।

त्यस्तै यी दलहरुको स्थनीय तहमा भएको १३ गरी कुल १८ मत छ। राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ को मतदानस्थल मोरङस्थित विराटनगर महानगरपालिकाको वीरेन्द्र सभागृहमा तोकिएको छ।

प्रदेश-१ बाट क–कसको सकिँदैछ कार्यकाल?

दुई वर्षे कार्यकाल सम्पन्न गरी राष्ट्रियसभाबाट बिदा हुन लागेका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत १ गरी १९ सांसदको दुई वर्षे कार्यकाल फागुन २१ गते सकिँदैछ। जसमा प्रदेश १ बाट तीनजना छन्।

त्यसमध्ये नेकपाका दुईजना र नेपाली कांग्रेसका एकजना सदस्य छन्। नेकपाका खेमराज नेपाली र हरिचरण शिवाकोटीको कार्यकाल सकिन लागेको छ भने कांग्रेसकी सरिता प्रसाईं पनि कार्यकाल सम्पन्न गरी राष्ट्रियसभाबाट बिदा हुँदैछिन।

को को छन उम्मेदवा?

प्रदेश १ मा नेकपाबाट गोपी अछामी, देवेन्द्र दाहाल र इन्दु गौतम तथा  कांग्रेसबाट नीरबहादुर विश्वकर्मा, मीना पुलामी मगर, राजेन्द्र कुमार घिमिरे उम्मेद्वार बनेका छन। नेकपाकाका तर्फबाट दलित कोटाका उम्मेदवार अछामी पूर्व खेलकुद राज्यमन्त्री हुन्।

सिन्धुली घर भएका उनी हाल पार्टीको मोरङ जिल्ला कमिटीका सह–इन्चार्ज छन्। महिलातर्फबाट उम्मेदवार बनेकी सुनसरी इटहरीकी गौतम प्रधानमन्त्रीका परराष्ट्र ममिला सल्लाहकार डा. राजन भट्टराईकी सासू हुन्। उनी अखिल नेपाल महिला संघकी केन्दीय सदस्य पनि हुन्। त्यसैगरी, अन्यतर्फबाट उम्मेदवार बनेका दाहाल तत्कालीन एमालेको झापा जिल्ला सचिव एवं हाल पार्टीको केन्द्रीय सदस्य हुन्। उनी प्रधानमन्त्री केपी शर्मा ओली निकटका मानिन्छन्।

यस्तै, नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका विश्वकर्मा दलित, कांग्रेस महासमिति सदस्य सुनसरी धरानकी मीना महिला र पूर्व महासमिति सदस्य झापाका घिमिरे अन्यबाट उम्मेदवार बनेका हुन्।

के भन्छन उम्मेदवार?

आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसबाट प्रदेश १ को लागि उम्मेदवार बनेका राजेन्द्र कुमार घिमिरेले आफूहरू अंकगणितको हिसाबले यो निर्वाचनमा कमजोर भए पनि विचारले माथि भएको बताएका छन्।

राष्ट्रियसभा निर्वाचनका मत माग्दै धनकुटा आएका घिमिरेले धनकुटामा भएको पत्रकार भेटघाटमा बोल्दै अहिलेको सरकार हरेक ठाउँमा आर्थिक दलदलमा फसेकाले आफूहरूले जित्न आवश्यक रहेको बताए।

यता, नेकपाका तर्फबाट उम्मेदवार बनेका गोपी अछामीले आगामी ८ गते मतदाता प्रशिक्षण कार्यक्रम राखिएको र हरेक प्रदेशमा नेकपाका उम्मेदवार सर्वसम्वत जस्तै भइसकेकाले घोषणा हुन मात्रै बाँकी रहेको बताए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.