|

सिमरा : सार्वजनिक जग्गाको किर्ते पुर्जा बनाएर बाराको जितपुरसिमरा १० का वडाध्यक्षले व्यक्तिको नाममा कायम गर्न मालपोत कार्यालय कलैयालाई पत्र पठाएको भेटिएको छ। 

जितपुरसिमरा उपमहानगर १० का वडाध्यक्ष सरोजकुमार राउतले  फिल्ड बुकमा पैनी र नहर भनी उल्लेख भएको सार्वजनिक जग्गा सोही वडाका स्थानीय मोतीलाल साह तेलीको नाममा कायम गर्न कलैया मालपोतलाई सिफारिस पत्र पठाएका हुन्।

 वडाध्यक्ष राउतले  साविक रामपुर टोकनी  गाविस १ हाल जितपुरसिमरा १० को कित्ता नं १८७  को  १७ कठ्ठा र कित्ता  १८८ को १९ कठ्ठा  सार्वजनिक जग्गा तेलीको नाममा कायम गर्न सिफारिस गरेको पत्रमा उल्लेख छ। 

डेढ वर्षअघि नै  गरिएको सो जग्गाको सिफारिस हाल अनुसन्धानको क्रममा पत्ता लागेको हो।  सार्वजनिक जग्गासँगै जोडिएको कित्ता नं  ११३, ४४, ६८ र  ९७  को जग्गाको श्रेस्ता पुर्जा तेलीको नाममा रहेको छ भने सोही कित्तासँग जोडिएको १८७, १८८ को १५ कट्टा १३ धुर  जग्गा फिल्ड बुकमा नहर भनी उल्लेख छ।

फिल्डबुकमा नहर भनी उल्लेख भएको जग्गा पनि तेलीले आफ्नो जग्गासँगै गाभेर भोगचलन गरिरहेका छन्। वडाध्यक्ष राउतले कलैया मालपोतलाई गरेको सिफारिस अनुसार तेलीको नाममा पुर्जा बनिसकेको भने छैन, तर सो जग्गाको भोगचलन भने तेलीले नै गरिरहेका छन्। 

दबाब दिएपछि सिफारिस दिएँ : वडाध्यक्ष

तेलीले दैनिक वडा कार्यालयमा आएर दबाब दिएका कारण आफूले सिफारिस दिएको वडाध्यक्ष राउतले बताए। ‘दिनकै दिन आएर मेरो दिमाख चाट्यो। त्यसैले मैले सिफारिस दिएको हुँ। तर  प्रकिया अगाडि बढेको छैन’ वडाध्यक्ष राउतले भने।

आफूले दिएको सिफारिस गलत भए पनि प्रकिया अगाडि नबढेको अवस्थामा विपक्षीले भने  डेढ वर्षपछि आएर दु:ख दिएको राउतले आरोप लगाए।  सार्वजनिक जग्गा व्यक्तिको नाममा काय गर्न सिफारिस दिएको भन्दै  वडाध्यक्ष राउतविरुद्ध  कारवाहीको मागसहित गत मंगलबार (पुष २९ गते) अख्तियारमा उजुरी परेको छ।

वडाध्यक्ष राउतले भने विपक्षीले हरेक कुरामा दु:ख दिएर अख्तियार उजुरी हाल्ने र कामै गर्न नदिने गरेको बताए। ‘सानो सानो विषयमा अख्तियारमा उजुरी हालेर विपक्षीले कामै गर्न दिँदैनन्’ राउतले भने। राउत राष्ट्रिय जनता पार्टी (राजपा) को तर्फबाट विजयी वडाध्यक्ष हुन्। 

छानविन भइरहेको छ : नगर प्रमुख

जीतपुर सिमरा उपमहानगरपालिका  नगरप्रमुख डा. कृष्ण पौडेलले  वडाध्यक्षले सार्वजनिक जग्गा व्यक्तिको नामका कायम गर्न सिफारिस गरेको सम्बन्धमा छानविन भइरहेको बताए ।

‘सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गर्ने सम्बन्धमा वडाध्यक्षले गरेको सिफारिसको सुचना ढिलोगरी आयो तैपनि हामीले छानविन गरिरहेका छौं’ नगरप्रमुख पौडेलले भने । यसअघि जितपुरसिमरा २३ का वडाध्यक्ष अस्लम देवनले पनि २० बिगाहा सार्वजनिक जग्गा प्रदुम्नराज पाण्डेको नाममा कायम गर्न मालपोत कार्यालय सिमरालाई सिफारिस गरेका थिए।

हाल वडाध्यक्ष देवनविरुद्ध पनि कारवाहीको मागसहित अख्तियारमा परेको उजुरीमा आयोगले  विस्तृत अनुसन्धान गरिरहेका आयोगले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.