|
फाइल तस्बिर

अश्विन दानी

गोरखा : स्थानीय व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी गोरखाबाट बिक्री हुने चामलको बिक्रीदर घट्दै गएको छ। व्यापारीसँग प्रतिस्पर्धा गर्न नसक्दा खाद्यको भन्दा बजारको चामलको मूल्य सस्तो हुन थालेपछि चामलको बिक्रीदर घट्दै गएको हो।

हाल खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी गोरखाबाट चामल बिक्री हुँदैन। माछिखोला डिपो कार्यालय र सिर्दिवास डिपो कार्यालयमा पनि चामल बिक्रीदर घट्दै गएको छ।

सबै क्षेत्रमा सडक र बजारको पहुँच विस्तार हुनु, बजारको चामलसँग खाद्यको चामलले प्रतिस्पर्धा गर्न नसक्नु र खाद्यको चामलको गुणस्तरीयता प्रति नागरिकको विश्वास घट्नुले कम्पनीको चामल बिक्न छाडेको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी डिपो कार्यालय माछिखोलाका प्रमुख शिव सुनारले बताए।

सडक र बजारको पहुँच भएको ठाउँमा खाद्यको चामलभन्दा बजारको चामल सस्तो पर्ने हुनाले खाद्यको चामल बिक्नै छाडेको उनले तर्क गरे। ‘माछिखोलामा सडक आउन थालेपछि खासै खाद्यको चामल बिक्री नै हुँदैन’ सुनारले भने, ‘यहाँ खाद्यको चामलभन्दा व्यापारीले बिक्री गर्ने चामल नै सस्तो पर्छ। त्यसैले खाद्यमा चामल बिक्री हुन छाडेको छ।’

चामल बिक्री हुन छाडेपछि चालु आर्थिक वर्षमा डिपो कार्यालय माछिखोलाका लागि खाद्य कार्यालय गोरखाबाट चामल ढुवानी नभएको उनी बताउँछन्। ‘चामल बिक्न छाडेकाले यो वर्ष माछिखोला डिपोमा चामल ढुवानी नै भएको छैन’, उनले भने, ‘गत वर्षको स्टक चामल यो वर्ष बिक्री गर्दैछौँ। विगतको तुलनामा बिक्रीदर घट्दै गएको  छ।’

डिपो कार्यालय माछिखोलामा गत वर्षको स्टक चामल अझै तीन सय ९० क्विन्टल १० केजी रहेको उनले बताए। कार्यालयका अनुसार हाल खाद्यबाट बिक्री हुने सोना मनसुली माछिखोला डिपोमा प्रतिकिलो ४७, जिरा मनसुली ५८ र जापनिज चामल प्रतिकिलो ४८ रुपैँया पर्छ भने सिर्दिवास डिपोमा सोना मनसुली ५०, जिरा मनसुली ६५ र जापनिज ४८ रुपैँया पर्छ।

सिर्दिवसमा सडक र बजारको पहुँच कम भएकाले माछिखोलाको तुलनामा बढी चामल बिक्री हुने गरेको डिपो कार्यालय सिर्दिवासका प्रमुख गोपाल राई बताउँछन्। ‘यहाँ सडक र बजारको पहुँच कम नै भएकाले बजारमा व्यापारीले बेच्ने भन्दा हामीले बेचेको चामल सस्तो पर्छ’, उनले भने, ‘त्यसैले यहाँबाट चामल बिक्री भइराखेको छ।’  

राईका अनुसार चालु आर्थिक वर्षमा खाद्य कम्पनीबाट सिर्दिवास डिपोमा हालसम्म दुई हजार ६१ क्विन्टल ८५ केजी चामल दुवानी भएको  छ। जसमध्ये हालसम्म १२ सय क्विन्टल चामल बिक्री भइसक्यो।

खाद्य कम्पनीले व्यापारीसँग प्रतिप्रर्धा गर्न नसक्दा चामलको माग घट्दै गएको खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी गोरखाका प्रमुख नवीन बस्नेतले बताउँछन्। ‘व्यापारीहरूले बेच्ने चामलको मूल्य छोटो समयमै घटबढ भइराख्छ। तर, खाद्यले बिक्री गर्ने चामलको मूल्य घटबढ हुन लामो समय लाग्छ’, उनले भने, ‘त्यसैले हाम्रो चामलभन्दा व्यापारीले बेच्ने चामल सस्तो पर्छ। नागरिक जता सस्तो पर्छ उतै किन्छन्।’

खाद्यको चामल बिक्रीदर वृद्धि गर्नका लागि व्यापारीले भन्दा सस्तोमा चामल उपलब्ध गराउनु पर्ने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.