सञ्जय रौनियारको बचाउ गर्दै सर्लाहीका बुद्धिजीवी काठमाडौंमा

|

काठमाडौं : सर्लाहीका बुद्धिजीवी तथा ऋणीले घरायसी लेनदेनको लागि ‘ब्याजमा ऋण कारोबार’ आवश्यक रहेको औँल्याएका छन्। शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै उनीहरूले घरायसी लेनदेनको लागि व्याजमा ऋणको कारोबार गर्नुलाई अपराधको रूपमा नबुझ्न आग्रह गरेका हुन्।

कार्यक्रममा बोल्दै कानुन व्यवसायी राजीव सिन्हाले नेपालको प्रचलित कानुनले तोकेको दर रेटमा गरिने आर्थिक लेनदेनको कारोबारलाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन्।

‘कसैको घरमा छोरीको विवाह गर्नुपर्ने हुन्छ, कसैको उपचारको लागि पैसा चाहिन्छ, कसैलाई वैदेशिक रोजगारमा जानको लागि तत्काल पैसा चाहिएको हुन्छ, हाम्रो समाजमा यस्ताखाले अन्य सामाजिक गर्जो टार्नुपर्ने समस्या आइरहन्छन्,' उनले भने, 'यी समस्याको समाधान गर्नको लागि पनि यस्तोखाले कारोबार विगत लामो समयदेखि (परम्परा) को रुपमा चलिआएको छ, यस्तो कारोबारलाई कानूनले पनि मान्यता तथा संरक्षण गरेको छ।’ उनले सर्लाहीका सञ्जय रौनियारको विरोधमा फौजदारी अभियोग दर्ता हुने अवस्था सिर्जना गरिएकोमा पनि गम्भीर असन्तुष्टि व्यक्त गरे।

कार्यक्रममा सर्लाही निवासी अधिवक्ता जगदेव चौधरीले पनि नेपालको संविधान र मूलुकी देवानी संहिता-२०७४ मा लेनदेन गर्नेबारे कानूनी व्यवस्था गरेको सुनाउँदै सो व्यवस्थामाथि सर्लाहीको साहुहरुमाथि लेनदेन गरेको आधारमा फौजदारी मुद्दा लगाई धरपकड गर्ने कार्य निन्दनीय भएको टिप्पणी गरे।

 ‘साहूहरूमाथि भएको ज्यादती, धरपकडप्रति हाम्रो गम्भीर आपत्ति छ। सरकारको तर्फबाट यो काम तुरुन्त बन्द गर्नुपर्छ’ उनले भने। उनले साहूहरूमाथि भएको ज्यादती नरोकिएमा घरायसी लेनदेनको कारोबार बन्द हुने अवस्थासमेत सिर्जना हुन लागेकोबारे सचेत गराए।

‘यदि यो कारोबार बन्द भयो भने बास्तवमा पीडितहरू झनै ठूलो पीडामा पर्छन्’ उनले भने। उनले सर्लाहीका साहु सञ्जय रौनियारले ‘मिटर ब्याज’ को कारोबार नगरेको दाबी गरे।

कार्यक्रममा राजपा नेपालका केन्द्रीय सदस्य लालबिहारी यादवले पनि सामाजिक लेनदेनको कारोबार आवश्यक रहेको औँल्याए। उनले भने, ‘यदि यो कारोबारलाई बन्द गर्ने हो भने हजारौँ गरिब, किसान समूदायका मान्छेहरूलाई आफ्नो सामाजिक काम (गर्जौ ) टार्न पनि ठूलो समस्या हुन्छ। यसले सामाजिक संरचना बिगार्छ।’ 

कार्यक्रममा रौनियारबाट ऋण लिएका सेवाग्राहीहरुको पनि उपस्थिति थियो। उनीहरूले सामाजिक लेनदेनको आर्थिक कारोबार बन्द गर्न नहुनेतर्फ सरकारको ध्यानाकार्षण गराएका थिए। ऋण लिएकाहरूमध्ये सर्लाही (हरिपुर्वा नगरपालिका–बसतपुर) का आलम अन्सारी, नागेन्द्र साह, हिरा साह र ब्रम्हपुरी गाउँपालिकाका सुरज राउत र विक्रम राउत, मंलगवा नगरपालिकाका अमिरी राउतलागयतले बोलेको थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.