प्रतिष्ठानका अन्य पुरस्कार पाउनेको नाम पनि घोषणा

|

काठमाडौं : षडानन्द राष्ट्रिय पुरस्कारबाट प्रा.डा. चूडामणि बन्धुलाई सम्मान गरिने भएको छ। आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानका सचिव प्रा. लालानाथ सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार नेपाली समालोचना र बाल साहित्यको उन्नयनमा बन्धुको उल्लेख्य योगदान पुर्‍याएकाले सम्मान गर्न लागिएको हो।

ब्रह्मचारी षडानन्दको योगदानका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई हरेक वर्ष प्रदान गरिने यो पुरस्कार यस वर्ष एघारौँ पटक प्रदान गरिँदै छ। पुरस्कारको राशि २०७६ सालदेखि एक लाख रुपैयाँ पुर्‍याइएको छ।

त्यसैगरी, डण्डपाणि युवा कुमारी चापागाईंका स्मृतिमा स्थापित षडानन्द क्षेत्रीय पुरस्कार सोमराज अभयलाई दिइने भएको छ। नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पुरस्कार उनलाई दिन लागिएको प्रतिष्ठानले जनाएको हो।

भोजपुर, दिङ्लाका निरञ्जन चापागाईं र गायत्री कुमार चापागाईंद्वारा आफ्ना मातापिताका स्मृतिमा स्थापित अक्षय कोषबाट प्रदान गरिने यो पुरस्कारको राशि ३५ हजार रुपैयाँ रहेको छ। साहित्यसेवी सोमराज अभय यो पुरस्कारबाट सम्मानित हुने छैटौँ व्यक्तित्व हुन्।

त्यसैगरी, एसइईको परीक्षा फलका आधारमा यस वर्ष यशोधरा माध्यमिक विद्यालय, टक्सार, भोजपुरलाई षडानन्द उत्कृष्ट विद्यालय पुरस्कार प्रदान गरिने भएको छ। साबिक चौकीडाँडा-२, भोजपुरका स्व. मदनबहादुर अधिकारीका स्मृतिमा श्रीमती उमादेवी अधिकारी र उनको परिवारले स्थापना गरेको अक्षय कोषको व्याजबाट १५ हजार राशिको यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिन्छ।

एसइई तहमा भोजपुर जिल्लाका सामुदायिक विद्यालयमध्येबाट कम्तीमा ३२ जना विद्यार्थी समावेश गराई उच्च ग्रेड ल्याउने विद्यालयलाई पुरस्कार प्रदान गर्ने प्रावधानअनुसार उक्त विद्यालय छनोट भएको हो।

षडानन्द माध्यमिक विद्यालय, दिङ्ला, भोजपुरका कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीमध्ये उत्कृष्ट नतिजा हासिल गर्ने छात्रा १ र छात्र १ लाई प्रदान गर्ने जनही पाँच हजार राशिको षडानन्द छात्रवृत्ति २०७५ सालको नतिजाका आधारमा कक्षा १० की छात्रा अपेक्षा श्रेष्ठ र कक्षा ९ का छात्र नवीन भट्‍टराई प्रदान गर्ने निर्णय भएको छ।

पुरस्कार आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान, काठमाडौंले ब्रह्मचारी षडानन्दको १८५औं जन्म जयन्तीका उपलक्ष्यमा आयोजना गर्ने समारोहमा फागुन ३ गते प्रदान गरिने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.