मन्त्रालय भन्छ- भ्रष्टाचार भएर रकम रोक्यौं

|

जनकपुरधाम : प्रदेश २ का एक राज्यमन्त्रीले बाढी प्रभावितलाई आफुले उधारोमा निकालेर वितरण गरेको राहतको ७० लाख रुपैयाँ भुक्तानी नपाएको गुनासो गरेका छन्। आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले ७० लाख रुपैयाँ भुक्तानी नपाएका भन्दै गुनासो गरेका हुन्। गत असार र साउनमा  महोत्तरीका बाढी प्रभावितलाई राज्यमन्त्री कुशवाहाले एक करोडभन्दा बढीको राहत उधारो खरिद गरी वितरण गरेका थिए।

त्यसमध्ये उनले मात्र साढे २८ लाख रुपैयाँ भुक्तानी पाएका छन्। करिब ७० लाख रुपैयाँ अझै बाँकी छ। बाढी प्रभावित प्रदेश २ का सातवटै जिल्लामा वितरण गरिएको राहत सामग्रीको भुक्तानी भइसकेको छ। तर‚ महोत्तरीमा वितरण गरिएको राहतको भुक्तानी राज्यमन्त्री कुशवाहाले नपाएका हुन्। मुख्यमन्त्रीकै सल्लाहमा उधारो लिएर राहत वितरण गरे पनि हालसम्म भुक्तानी नपाएको राज्यमन्त्री कुशवाहाले बताए। उनले महोत्तरीका ३ हजार ८०० परिवारलाई राहत सामग्री वितरण गरेको दाबी गरे।

‘दुई चरणमा राहत सामग्री वितरण गरेका थियौं,‘ उनले भने, ‘पहिलो चरणको ११ सय परिवारलाई बाँडेको राहतको भुक्तानी पाए। दोस्रो चरणमा २ हजार ७०० परिवारलाई दिएको राहतको भुक्तानी अझै पाउन सकेको छैन।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषदका सचिव र अन्य कर्मचारीहरुले राज्यमन्त्री कुशवाहाले दाबी गरेअनुसारको राहत बाढी पीडितले नपाएको भन्दै भुक्तानी रोकेको स्रोतले जनाएको छ। एक कर्मचारीले भने, ‘राहत वितरणमा भ्रष्टाचार भयो भनेर भुक्तानी रोकिएको हो। राज्यमन्त्री कुशवाहाले वितरण नै नगरेको सामग्रीको पनि बिल भर्पाई बनाएपछि भुक्तानी गर्न सचिवले मानेनन्।’

तर‚ राज्यमन्त्री कुशवाहा भन्छन्, ‘भुक्तानी गर्ने बेला विपद् व्यवस्थापन खातामा रकम थिएन। अहिले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पाँच करोड रुपैयाँ जम्मा भइसकेको छ। तर कर्मचारीले भुक्तानी दिन मानेका छैनन्।’ तत्कालीन कर्मचारीले भुक्तानी नगरेकाले अहिले नियमले नमिल्ने भनेर कर्मचारी पन्छिने गरेको उनको गुनासो छ।

भुक्तानी नपाउँदा राहत सामग्री उधारो दिने व्यावसायीहरु समस्यामा पारेको राज्यमन्त्री कुशवाहाले बताए। उनले भने, ‘राहत सामग्री उधारो दिने पाँच व्यावसायी रकम नपाएर विचल्लीमा छन्। सरकारले पनि भुक्तानी दिने निर्णय गरिसकेको छ। तर कर्मचारी भुक्तानी गर्न मानेका छैनन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.