|

पाल्पा : मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन। स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना हो।

पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाकी यमकला काम्मुको बङ्गुरपालन व्यवसायमा एकपटक पुग्नैपर्ने बङ्गुर फार्म हो। काम्मुले बङ्गुरको पाठापाठीको कारोवारबाट दुई वर्षमा रु २४ लाख १५ हजार आम्दानी गर्न सफल भए। वैदेशिक रोजगारबाट फर्केका तथा स्वदेशमा बेरोजगार युवा भन्नेहरु एकपटक काम्मु बङ्गुर फार्म पुगी व्यवसायप्रति लाग्न आकर्षित गर्छ।

बङ्गुरबाट कोरियामा भन्दा बढी आम्दानी हुन्छभन्दा अनौठो लाग्ला तर अनौठो मान्नु पदैन। दुई वर्षको अवधिमा ४८३ वटा बङ्गुरका पाठापाठी बेचे। बङ्गुरका पाठापाठीलाई रु पाँच हजारमा सहज रुपमा कारोबार हुन्छ।

पाल्पामा ५० प्रतिशतभन्दा बढी मगर समुदायको बस्ती छ। मगर बस्तीमा प्रायः बङ्गुरका पाठापाठी निकासी हुन्छ। अहिले बाहुन–क्षेत्रीका युवाहरु पनि बङ्गुरपालनमा व्यवसायमा आकर्षित छन्। बङ्गुरलाई हुर्काउन सहज हुने र बढी उत्पादन दिने भएपछि बङ्गुरपालनमा पाल्पामा आकर्षण बढ्दो छ। बङ्गरका पाठापाठी कारोवार र मासु सहज रुपमा खपत हुँदै आएको काम्मु बताउँछन्।

बङ्गुरका पाठापाठीको मात्र कारोवार गर्नुहुन्न। मासुका लागि पनि बङ्गुर उत्पादन हुन्छ। दुई वर्षको अवधिमा ४६ हजार ११० किलोग्राम बङ्गुरको मासुको कारोबार गरे। काम्मुले मासुबाट मात्र नौ लाख ८३ हजार ४०० रुपैयाँ आम्दानी गर्न सफल भएका छन्।

विसं २०७४ मा यमकला काम्मुद्वारा सञ्चालित बङ्गुर तथा कृषि फार्ममा बङ्गुरका ७० वटा भाले–पोथी छन्। एक कोठामा एक बङ्गुर राखिएको छ। बङ्गुरका लागि पानी र दानाका लागि कोठाभित्र व्यवस्थापन गरिएको छ। अहिले ७० बङ्गुरका लागि दुईवटा व्यवस्थित खोर निर्माण छ। दुई खोरको बीचमा एउटा माछापोखरी छ। पोखरीमा माछापालनले झनै आकर्षित बनाएको छ फार्म। माछापालन व्यवसायबाट पनि दुई–तीन लाख रुपैयाँ सहज रुपमा आम्दानी हुन्छ। स्थानीय कुखुरापालन व्यवसायबाट एक–दुई लाख रुपैयाँ हाता पर्छ नै।

काम्मुले १८ वटा बङ्गुरका पाठापाठी सङ्कलन गरी व्यवसाय शुरुआत गरे। उनको फार्ममा अहिले ७० वटा बङ्गुरका भालेपोथी छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आव २०७५/७६ सालको कृषि अनुदान कोषको १० लाख रुपैयाँ आर्थिक सहयोग र १५ लाख रुपैयाँ काम्मु लगानीमा जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय पाल्पाको समन्वयमा स्थापित बङ्गुर फार्म हो। नेपाली बङ्गुरको मासु चीनले आर्यात गर्ने भनेपछि बङ्गुरपालन पेशाप्रति युवाको आकर्षण बढ्दो छ।

'नेपाली भूमिमा पसिना बगाउन तयार हुँदा स्वदेशमा नै प्रशस्त पैसा कमाउन सकिँदो रहेछ', काम्मुले भने, 'सफलतामा चुम्नका लागि नियमित रुपमा मिहिनेत गर्ने बानी हुनुपर्छ, काम गर्न लजाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ। मिहिनेतले काम्मुद्वारा सञ्चालित काम्मु बङ्गुर तथा कृषि फार्म अहिले सबैको आकर्षक केन्द्र बन्दै गएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.