हिउँ थपिएको थपियै, माैसम नसुध्रिए बेपत्ता भेटिन महिनाैं लाग्‍ने

|
फाइल तस्बिर

काठमाडौं : हिमपहिरोमा बेपत्ता पर्यटकको उद्दार गर्न अन्नपूर्ण वेसक्याम्प वरपर पुगेको उद्दार टोली नै पहिरोको जोखिम बढेपछि पोखरा फर्किएको छ। गत बिहीबार र शुक्रबार लगातार भएकाे हिमपातपछि गएको पहिरोमा परी अन्नपूर्ण बेसक्याम्पतर्फ गएका सातजना पर्यटक अझै बेपत्ता छन्‌।

बेपत्ता भएकामध्ये चारजना कोरियाली नागरिक रहेको र बाँकी तीनजना नेपाली रहेका, तर उनीहरु पथप्रदर्शक या आन्तरिक पर्यटक हुन्‌ भन्ने अझै खुलेको छैन। हालसम्म उद्दार टोलीले एक सय जना भन्दा बढी पर्यटक र पदप्रदर्शकहरुको उद्दार गरिसकेको छ। 

‘चार जना कोरियन र तीन जना नेपाली अझै बेपत्ता छन्,’ पर्यटन विभागकी मिरा आचार्यले भनिन्, ‘उद्धारको लागि प्रयास भइरहेकै हो, तर घाम लागेसँगै लगातार हिउँपहिरो खस्‍न थालेपछि उद्धारका लागि गएको टोलीलाई विभागकै सहकार्यमा पोखरा झारिँदैछ।’ उनका अनुसार उद्धारका लागि पोखराबाट गएको टोली नै हिउँपहिरोको जोखिममा परेपछि बेपत्ता भएकाहरुको खोजीमा थप समस्या भएको छ। 

शुक्रबार मात्रै १०० जनामध्ये केही पर्यटकलाई उद्दार गरी बेसक्याम्पभन्दा तल्लो क्षेत्र र केहीलाई पोखरा ल्याई राखिएको छ। हराइरहेका पर्यटकहरु खोज्न टान पश्चिमाञ्चलले ६ जना गाइडसमेत पठाएको छ। विभागले मौसमबारे जानकारी नराखी पर्यटकहरु बेसक्याम्प जाने गरेकोले दुर्घटना निम्तिएको जनाएको छ।  

हराइरहेका पर्यटकमा कोरियाली नागरिक ५७ वर्षीय ली मिन सु, ५९ वर्षीय जियोङ पिल बोङ, ५३ वर्षीया किम सूक जा र ३८ वर्षीया चोई ह्यो वन रहेको बताइएको छ। अन्यको भने नाम खुलेको छैन। १५ जनवरीदेखि पदयात्रा सुरु गरेका कोरियाली पर्यटक यात्रा गरेको दोस्रो दिनदेखि बेपत्ता छन्। कोरियाली पर्यटकहरु काठमाडौंको 'ट्रिप नेपाल मान्टेन गाइड' नामक कम्पनीबाट टिम्स शुल्क काटेर अन्नपूर्ण बेस्क्याम्पतर्फ गएका थिए। तर, उनीहरु 'ट्राभल मेट नामक' अन्तर्राष्ट्रिय एजेन्सीमार्फत नेपाल आएको पाइएको छ।  

११ जनाको समूहमा रहेका कोरियालीहरु अन्नपूर्ण पदमार्गको सिगाउँबाट माथि देउराली हुँदै बेसक्याम्पतर्फ जाने क्रममा हराएका हुन्। ११ जनामध्ये दुईजना सिगाउँसम्म पुगेका थिए। सिगाउँबाट माथि गएका नौजनामध्ये पाँचजना केही तल रहेको होटलमा सकुशल फर्केको र बेसक्याम्पतर्फ गएका चारजना हराएका हुन्। कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष यूवराज कुँवरका अनुसार हिउँपहिरोको कारण विस्थापित भएका ३५ जना माछापुच्छ्रे बेस्क्याम्पमा सुरक्षित रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.