‘कृषिमा उन्नती’ भन्दै सिमिका १० दाना वितरण गरेपछि कृषक असन्तुष्ट

|

बागलुङ : कृषिमा आत्मनिर्भर बनाउन र उन्नती गर्न भन्दै स्थानीय सरकारले १० दाना सिमिको बीउ बाँडेपछि स्थानीयबासी जनप्रतिनिधिसँग रुष्ट बनेका छन्। 
गत आर्थिक बर्ष कृषि क्षेत्रमा एक लाख रुपैयाँ बजेट छुट्याएको बागलुङ नगरपालिकाको वडा नम्बर ४ ले किसानहरुका लागि तरकारीको बीउ वितरण गरेको थियो। वडाले नाममात्रको बीउ वितरण गरेपछि किसानहरु असन्तुष्ट थिए। 

‘स्थानीय सरकारले दिएको १० दाना सिमिले कसरी कृषि उन्नतीको कल्पना गरौं?’ बागलुङ नगरपालिका-४ कुँडुलेकी बिजुला शर्माले नेकपाका स्थानीय जनप्रतिनिधिहरुसँग प्रश्न गरिन्, ‘तरकारी उत्पादनका लागि भनेर अनुदानमा आउने बीउले घरखर्च चल्ने तरकारी समेत फल्दैन।’

‘हामीले अर्को बर्षका लागि बीउ समेत फलाउन पाएनौं,‘ किसान बिजुला भन्छिन् ‘एक पोका रायोले कसरी व्यवसायीक उत्पादन गर्नु?’ किसानले उत्पादन गरेकै उपजको आधारमा देशको बजेट निर्धारण भएपनि दिनरात माटोसँग लड्ने किसानको मूल्यांकन नभएको भन्दै बिजुलाले आक्रोश पोखिन्। प्याकेजमा कार्यक्रम बनाउन र वास्तविक र नक्कली किसान छुट्ट्याउन आग्रह गर्दै उनले वास्तविक किसानले बीउ पाएमात्रै आर्थिक उन्नतीसँग कृषि जोडिन सक्ने सन्देश नेताहरुलाई दिइन्। 

अहिले सत्तासीन नेकपा बागलुङ नगर कमिटीले ‘जनतासँग जनप्रतिनिधि’ कार्यक्रम चलाइरहेको छ। यसक्रममा सो पार्टीले शनिबार बानपा –४ कुँडुलेमा कार्यक्रम आयोजना गरेको थियो। स्थानीय कृषकहरुसमेत सहभागी सो कार्यक्रममा स्थानीय टिकाराम शर्माले तोरीमा आएको झार मार्ने भनेर प्राविधिकले दिएको बिषादीले तोरी मासिएको गुनासो गरे। उनले भने ‘तोरी जोगाएर झार मार्ने औषधि दिने प्राविधिक चाहियो।’ उपयुक्त सल्लाह र औषधिको अभावमा किसान मर्कामा परेको उनको भनाई थियो।  

स्थानीय गुणनिधि शर्माले गाउँ विकासका लागि विनियोजन गरिएको बजेटबारे स्थानीय जनतालाई समयमै जानकारी दिइनुपर्ने बताए। उनले भने, ‘योजना आएका हुन्छन, तर समयमा जानकारी हुँदैन, अन्तिम समयमा जानकारी हुने योजनाको सम्झौता गर्नु कि काममा लाग्नु?’ 

कार्यक्रममा किसानले उठाएका मुद्दा जायज भएको वडा अध्यक्ष ध्रुवबहादुर केसीले बताए। ‘वैदेशिक रोजगारीबाट फर्केर किसानी पेशामा लागेका युवाहरुको काममा लगानी गर्दा वास्तविक फाइदा हुनेछ।’ कार्यक्रममा जनताका प्रश्नको जवाफ दिँदै प्रतिनिधिसभाका सांसद डा. सुर्य पाठकले आफुहरुले कुनै टोल वा समुदायको विकास भन्दा माथी उठेर समग्र नेपाली समाजको विकासका लागि कानून निर्माणमा भूमिका खेलेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.