|

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र जताततै मापदण्डविपरीतका यात्रु प्रतीक्षालय रहे पनि काठमाडौं महानगरपालिकाले हटाउन सकेको छैन। महानगरपालिकाले मापदण्डविपरीतका संरचना हटाउन केही पहल नगरेपछि अहिले पनि यात्रु प्रतीक्षालय यथावत छन्। 

बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालयको करिब तीन सय मिटर अगाडि सुन्धारामै यस्ता संरचना छन्। महानगरपालिकाले बनाएको मापदण्डमा यात्रु प्रतीक्षालय अपांगमैत्री तथा लैंगिक मैत्री हुनुपर्ने व्यवस्था छ। 

यात्रु प्रतीक्षालय निर्माणसम्बन्धी मापदण्ड २०७३ मा भनिएको छ, ‘बन्‍ने संरचना अपांगमैत्री तथा लैंगिकमैत्री हुनपर्ने छ। सम्बन्धित सरोकारवाला निकाय ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवस्था विभाग, विद्युत प्राधिकरण, उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकमसमेतको सहभागिता-सहकार्यमा यात्रु प्रतीक्षालय, सार्वजनिक शौचालय निर्माण हुनेछ।’

तर, सुन्धारा, रत्नपार्क, भृकुटीमण्डपलगायत क्षेत्रमा रहेको यात्रु प्रतीक्षालय संरचना मापदण्डविपरीतका छन्। प्रतीक्षालयमा ठूला विज्ञापनहरू राखिएकाले विज्ञापनबाहेक यात्रु बस्‍ने ठाउँ नै छैन। तर, यस्ता संरचना निर्माण हुँदासमेत महानगरपालिकाले हटाउने केही चासो देखाएको छैन। अहिले निर्माण गरिएका यात्रु प्रतीक्षालय बस्‍न योग्य नहुँदा सास्ती हुने गरेको यात्रुहरूले गुनासो गर्ने गरेका छन।

भृकुटीमण्डपमा भेटिएका चक्रपथका सुमन श्रेष्ठले अपांगमैत्री प्रतीक्षालय नहुँदा बस्न समस्या हुने गरेको बताए। उनले भने, ‘यात्रु बस‍्नका लागि प्रतीक्षालयहरू छन। बस्‍न योग्य भने छैन। अपांगमैत्री प्रतीक्षालय छैन। यस्तो संरचनामा कसरी बस्‍न सकिन्छ?।’ सपांगहरू बस्‍न नसकिने बताउँदै उनले झनै फरक क्षमता भएकाहरू बस्‍न नसक्ने बताए।

उनका अनुसार उपत्यकामा रहेका यात्रु प्रतीक्षालयमा बस्‍न लायकको ठाउँ छैन। घाम पर्दा होस या पानी पर्दा उभिएर बस्‍नुपर्छ। यात्रु प्रतीक्षालयको नाममा विज्ञापन गरी कमाइ खानेभाडो बनाएको उनको आरोप छ। 

मापदण्डअनुसार महिनामा एकपटक यात्रु प्रतीक्षालयको अनुगमन गनुपर्ने उल्लेख छ। तीनको प्रगति खुलाइ प्रतिवेदन पेश गर्नुपर्ने पनि मापदण्डमा उल्लेख छ। त्यस्तैगरी, प्रत्येक यात्रु प्रतीक्षालयमा फोहोरको व्यवस्थापनका लागि डष्टबिन हुनुपर्ने व्यवस्था छ। 

‘यात्रु प्रतीक्षालयको विज्ञापन गर्ने स्थान निश्चित हुनु पर्नेछ। कूल भागको ६० प्रतिशतमा मात्र व्यावसायिक विज्ञापन हुनुपर्ने, बाँकी भागमा चेतनामूलक ट्राफिक सन्देश, बस रुट तथा भाडादर आदि महानगरले तोकेको सामाजिक सन्देश हुनपर्ने, नक्सा डिजाइनमा विज्ञापन र सामाजिक सन्देश राख्‍ने सम्बन्धमा ४० प्रतिशत सामाजिक सन्देश र ६० प्रतिशत विज्ञापन राख्‍ने गरी डिजाइनमा संशोधन गरी सोहीअनुसार हुनेछ,’ मापदण्डमा उल्लेख छ। तर, कुनै पनि निकायले यी मापदण्डअनुसार निर्माण भने गरेका छैनन्।

स्मार्ट यात्रु प्रतीक्षालय बन्दैगरेपछि मापदण्डविपरीतका संरचना हट्ने

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले महानगरभित्र मापदण्डविपरीतका प्रतीक्षालय देखेको बताउँदै चालु आर्थिक वर्षसम्ममा सबै मापदण्डविपरीतका संरचना हटाउँदै जाने बताए। उनका अनुसार विज्ञापनका नाममा यस्ता प्रतीक्षालय निर्माण गरिएको छ।

डंगोलले भने, ‘महानगरपालिकाले मापदण्डविपरीत बनाइएको यात्रु प्रतीक्षालयको अनुगमन गर्दै आएका छ। स्मार्ट यात्रु प्रतीक्षालय निर्माण गर्ने महानगरपालिको योजना छ। यसको सर्भे काम हुँदै छ।’

उनका अनुसार अहिलेका प्रतीक्षालयहरू काम चलाउका लागि रहने छन भने प्रस्तावित योजना लागू भएपछि नयाँ प्रतीक्षालय निर्माण गर्दै जाँदा पुराना मापदण्डविपरीतका प्रतीक्षालय महानगरपालिकाले हटाउँदै जाने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.