सरकारले पहल गरेर खाली गर्नु पर्नेमा जोड

|

काठमाडौं : राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले टुँडिखेल मासिएकोमा चिन्ता जनाएका छन्। विशाल टुँडिखेल नेपाली सेनाले समेत हडपेपछि खुम्चिएकोमा गुनासो गर्दै उनले बाँकी रहेको खुलामञ्चको संरक्षणमा पनि सरकारले बेवास्ता गरेको उल्लेख गरे।

आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले टुँडिखेल र खुलामञ्च ठेकेदार र सेनाले कब्जा गरिरहँदा तिनको संरक्षणमा सरकारको ध्यान नगएको आरोप लगाएका हुन्। 

'पहिला टुँडिखेल दक्षिण एसियकै ठूलो र राम्रो ठाउँ थियो। अहिले अतिक्रमणको चपेटामा परेको छ', उनले भने, 'टुँडिखेल जनताको पैतृक सास्कृति सम्पत्ति हो। यसलाई मासिन दिनु भएन।'

सांसद बिडारीले प्रकृति र संस्कृति संरक्षणका लागि आवाज उठाइरहेका बेला दुवै कुराबाट महत्वपूर्ण मानिएको टुँडिखेल बचाउनेतर्फ चासो नदिएकोमा आपत्ति जनाए। 

टुँडिखेल सेनाले पहिले नै कब्जा गरिसकेको बताउँदै बिडारीले खुलामञ्‍च पनि २०७२ बाट कब्जा गरिएको स्मरण गराए। 'बाँकी रहेको खुलामञ्‍चमा मोटरसाइकल पार्किङ गरियो। टहरा निर्माण गरियो', उनले भने, 'अब जनताले कहाँ भाषण गर्ने? कहाँ गएर विरोध गर्ने? यिनको संरक्षणमा सरकारको ध्यान किन गएन?' 

रानीपोखरीदेखि हालको नेपाली सेनाको जंगी अड्‍डासम्मको विशाल टुँडिखेल बिस्तारै मिचिँदै सहिद गेटसम्म सीमित भएको छ', उनले भने, 'टुँडिखेल आदिवासीहरुको पहिचान बोकेको थलो र नेवार जातिको संस्कृतिक केन्द्र पनि हो। अहिले खुलामञ्च अर्कैको कब्जामा छ। त्यहाँ जनताले उपभोग गर्न पाउँदैनन्। नेवारहरुको अजिमा पूजा कहाँ गर्ने? सानो टुँडिखेल पनि सेनाले कब्जा गरिसक्यो।’

सांसद बिडारीले भाषण गर्ने ठाउँ नभएकाले दिनदिनै माइतीघरमा कार्यक्रम हुँदा चर्को ट्राफिक जाम हुने गरेको बताए। भ्यू टावर निर्माणमा राजनीतिक पहुँचका आधारमा ठेक्का सम्झौता गरिएकाले समस्या भएको उनले सुनाए। 

'भ्यू टावर निर्माण कसले रोक्यो? टुँडिखेलमा टहरा बनाउन कसले ठेक्का दियो? कसले पैसा खायो? कुन पार्टीका मन्त्री हुन् ठेक्का दिने? खोज्नु पर्‍यो कि परेन सरकार?,’ उनले प्रश्‍न गरे। 

अतिक्रमित टुँडिखेल संरक्षणको जिम्मा अहिलेको लोकतान्त्रिक सरकारको भएको बताउँदै उनले जनताका लागि खुलामञ्च खुलै रहनुपर्नेमा जोड दिए। विगतमा जे भएपनि यही सरकारले सेनासँग छलफल गरेर टुँडिखेल संरक्षण गर्नुपर्ने उनको भनाई थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.