|

काठमाडौं : कृषि विकास बैंकले भ्रमण वर्षलाई लक्षित गरेर होमस्टेमा सरल कर्जा उपलब्ध गराउने भएको छ।

बैंक ५३ वर्षमा प्रवेश अवसरमा आइतबार गरिएको पत्रकार सम्मेलनमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी करिब एक हजार होमस्टे आबद्ध भएको होमस्टे एसोसिएसनसँग सम्झौता गरिएको हो। उक्त क्षेत्रमा सरल होमस्टे कर्जा प्रवाह गर्ने कार्यक्रम बनाइएको बैंकले जनाएको छ।

कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिने उद्देश्यले स्थापना भएको कृषि विकास बैंक ५३औं वर्षमा प्रवेश गरेको छ। कृषिलाई नछोड्ने, अरुलाई जोड्ने नीति लिएको यो बैंकले यो वर्ष समयमै वार्षिक साधारणसभा सम्पन्न गरी सेयरधनीहरुलाई ३० प्रतिशतको  मुनाफा वितरणसमेत गरेको छ। बैं

कार्यक्रममा बैंकका बैंकका सीईओ अनिलकुमार उपाध्यायले ५३ वर्षको यात्रामा कृषि विकास बैंक एउटा सबल र सक्षम बैंकको रुपमा स्थापित भएको बताए।

उनले कृषि विकास बैंकको पाँच दशक लामो इतिहासलाई ‘इन्जिन अफ रुरल ट्रान्सफरमेसन’को रुपमा हेर्न सकिने बताए। उपाध्यायले ग्रामीण तथा कृषि क्षेत्रको विकासको लागि सरल र सुलभ कृषि कर्जामा आफूहरु केन्द्रित रहेको पनि बताए।

बैंकले साना किसान विकास आयोजनामार्फत सामूहिक प्रणालीमा आबद्ध हुने, शैक्षिक एवं स्वास्थ्य कार्यक्रम, बचत परिचालन र सामूहिक जमानीमा कर्जा कारोबार गर्दै उक्त आयोजना समूहलाई नै सञ्चालन गर्ने क्षमता अभिवृद्धि गर्दै सहकारीमा रुपान्तरण गरी सुदृढ बनाउने प्रयास गर्दै आएको जनाएको छ।

बैंकले २०४१ सालमा नेपालमा पहिलोपटक कम्प्युटरयुक्त बैंकिङ, सीमित सेवा (निक्षेप कारोबार, कर्जा तथा जमानत, फ्याक्स कारोबार)सहितको बैंकको रुपमा स्थापित भई बैंकको शाखा सञ्जाल र साना किसान विकास आयोजनामार्फत कृषि तथा कृषि क्षेत्रसँग आबद्ध क्षेत्र मूल्य शृंखलामा लगानी गर्दैै आएको छ।

बैंक समस्याग्रस्त हुँदै गएपछि २०६२-०६३ मा एसियाली विकास बैंकको प्राविधिक सहयोगमा ‘बैंक तथा वित्तीय क्षेत्र सुधार कार्यक्रम’अन्तर्गत सुधार अघि बढाइएको थियो। कृषि विकास बैंक अहिले भने सफल र व्यावसायिक बैंकको रुपमा स्थापित भएको छ।

बैंकका सीईओ उपाध्यायले अब यस बैंकलाई समग्र बैंकिङ क्षेत्रकै अग्रणी बैंकको रुपमा स्थापित गर्ने प्रतिबद्धतासमेत जनाए। सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशतको सेयर रहेको यस बैंकमा अधिकांश कृषकहरु सेयरधनी छन्।

बैंकको करिब १२ लाख निक्षेपकर्ता, करिब एक लाख ४५ हजार ऋणी, छ हजार इन्टरनेट सेवाग्राही, दुई लाख ६२ हजार मोबाइल बैंकिङका उपभोक्ता, १ हजार भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेका छन् भने ट्रेड फाइनान्स, एसी, फरेक्स, डिम्याट, सिआस्बा, आईपीएस, गोएएमएलजस्ता सेवाहरुसमेत प्रदान गर्दै आएको छ।

आगामी वर्षमा पनि यसलाई निरन्तरता दिन आफूहरुको प्रयास रहने उपाध्यायले बताए। बैंकको निक्षेप गत वर्ष पुससम्मको तुलनामा यो वर्ष सोही अवधिमा १५ दशमलव ४४ प्रतिशत बढेर एक खर्ब २७ अर्ब पुगेको छ भने कर्जा १० दशमलव २३ प्रतिशत बढेर एक खर्ब १७ अर्ब पुगेको छ।

त्यस्तै खराब सोही अवधिमा १० दशमलव ३१ प्रतिशतले कमी आई शून्य दशमलव ८२ प्रतिशत कायम भएको छ। पुससम्म बैंकको नाफा १६ दशमलव ९९ प्रतिशतले वृद्धि भएर दुई अर्ब तीन करोड कायम भएको छ भने ईपीएस २ दशमलव ३७ कायम भएको छ ।

गत वर्षको पुससम्मको तुलनामा यो वर्ष पुससम्म मोबाइल बैंकिङ प्रयोग गर्ने उपभोक्ता दुई हजार ६ सय ४२ प्रतिशतभन्दा बढीले बढेको कृषि विकास बैंकको तथ्यांक छ। अहिलेसम्म यो सुविधा लिनेको संख्या दुई लाख ६२ हजार ४ सय ३७ पुगेको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.