पूर्वराज्यमन्त्रीले भने : पूर्वराष्ट्रपति यादवले गिद्धे नजर लगाए

|

जनकपुरधाम : प्रदेश-२ मा क्रसर उद्योग संचालन गर्न नदिए देशभरका क्रसर उद्योग ठप्प पार्ने व्यवसायीले चेतावनी दिएका छन्। जनकपुरमा आयोजित प्रदेश-२ का क्रसर व्यवसायीको भेलामा सम्बोधन गरेका व्यवसायीले आन्दोलनको धम्की दिएका हुन्।

क्रसर व्यवसायी संघका केन्द्रीय अध्यक्ष उमेश शेरचनले प्रदेश-२ मा क्रसर संचालनमा अवरोध गरेमा सरकारलाई झुकाउने आन्दोलन थाल्ने चेतावनी दिए। उनले विगत ६/७ वर्ष अगाडि काठमाडौंमा सबै व्यवसायी आन्दोलन सुरु गर्दा गृहमन्त्री नै झुकेको भन्दै उनले भने, ‘क्रसर व्यवसायमा कैयौँ मेयर र १६/१७ जना त सांसद नै हुनुहुन्छ। हामी देशभरका व्यवसायी आन्दोलन गर्यौं भने सरकार नै झुक्छ।’

उनले दिनमा उद्योग संचालन गर्न लाइसेन्स दिने र राति बितेको बिहानपल्ट कसरी अवैध भयो भनेर प्रश्‍न गरे। ‘५ फिट ६ इन्च हाइट भएको व्यक्तिलाई प्रहरीमा भर्ना लिन्छ, लिएको छ’, उनले भने, ‘अनि बिहानपल्ट ६ फिट हाइट हुनुपर्छ भन्न पाउँछ? पाउँदैन। हो, त्यसरी नै लाइसेन्स दिएको उद्योगलाई अवैध भन्न मिल्दैन।’

मापदण्ड बनाउँदा सरकारले ख्याल नगरेको भन्दै २०६८ सालमा बनाइको मापदण्ड पनि सच्याउनुपर्ने मागसमेत अध्यक्ष शेरचनले गरे। उनले पश्‍न गरे, ‘अहिले प्रविधिको युगमा बेल्चा लिएर मात्र बालुवा उठाउन सक्ने प्रावधान बनाउनु कतिको जायज हो? बेल्चाले उठाउने हो भने स्काभेटरले भात पकाउने त?’ चुरे र नदीनाला बर्बाद पार्ने सोच आफुहरूको पनि नरहेको तर मापदण्ड पनि क्रसर उद्योग नै बन्द हुनेगरी बनाउन नहुने उनको भनाइ छ।

मंसिर २७ गते धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरमा क्रसर संचालकले युवक दिलीप महतोको हत्या गरेको घटनाप्रति उनले दुःख व्यक्त पनि गरे। उनले भने, ‘त्यो एउटा दुःखद हो। दोषी सबैमाथि कारबाही हुनुपर्छ। तर, त्यो घटनासँग जोडेर सबैले गलत गरिरहेको भन्न मिल्दैन।’

एकजनाको एउटा खुकुरीले हत्या भयो भने देशभरको खुकुरी खोस्न र खुकुरी उद्योग बन्द गराउन नमिलेजस्तै एउटाले गल्ती गर्दैमा सबै उद्योगीलाई सजाय दिन नमिल्ने उनले तर्क गरे।

यस्तै पूर्वराज्यमन्त्रीसमेत रहेका क्रसर व्यवसायी शम्भुलाल श्रेष्ठले सरकारले कानूनबमोजिम दर्ता भएको क्रसर उद्योगलाई बन्द गर्न नमिल्ने बताए। उनले प्रदेश-३ ले प्राकृतिक स्रोत साधनको व्यवस्थापन कसरी गर्ने विषयमा बल्ल कानून बनाउन लागेको र अन्य प्रदेशले पनि कानून बनाउन सुझाव दिए। क्रसर उद्योगीमाथि पूर्वराष्ट्रपति डा. रामवरण यादवले नै गिद्दे दृष्टि लगाएको उनको आरोप छ।

उनले २०७२ मा बनेको मापदण्डअनुसार मात्र क्रसर उद्योग संचालन गर्न दिइयो भने औलामा पनि गन्न सकिने जति उद्योग रहने बताए। उनले देशभर १६ क्रसर मात्र मापदण्ड पालना गरेको स्वंयम स्वीकारे। उनले भने, ‘त्यो मापदण्ड पालना गर्न खालकै छैन। अहिलेको प्रविधि र गुणस्तर निर्माण सामग्रीका लागि मापदण्ड संशोधन गर्न आवश्यक छ।’

संगठित हुँदै व्यवसायी

दिलीपको हत्यापछि प्रशासनले अहिले धनुषा, सिरहा, महोत्तरीसहितका जिल्लामा संचालित अवैध क्रसर उद्योगहरू बन्द गराएको छ। क्रसर बन्द गराएपछि उनीहरू संगठित हुन लागेका हुन्। आइतबार प्रदेश-२ का क्रसर व्यवसायी जनकपुरमा भेला भएर प्रदेश कार्य समिति बनाउँदै छन्।

माघ ३ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मापदण्डअनुसार दर्ता भएका क्रसर उद्योगहरू संचालन गर्न दिनुपर्ने भन्दै व्यवसायीले ज्ञापनपत्र बुझाएका थिए। उक्त ज्ञापनपत्रलाई बेवास्ता गरिए देशभरका क्रसर व्यवसायी आन्दोलित हुने र विकास निर्माण ठप्प भएपछि सरकार पछि हट्ने उनीहरूको रणनीति छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.