|

जनकपुरधाम : राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ मा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को तर्फबाट उम्मेदवार बनेका शेखर सिंहको उम्मेदवारी खारेजीका लागि उजुरी परेको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग तालमेल गरेका राजपाको तर्फबाट सप्तरी घर भएका सिंहले अल्पसंख्यक समूहबाट उम्मेदबारी दिएका हुन्। नेपाली कांग्रेसका उम्मेदवार भोला पंजियारले उनीविरुद्ध राष्ट्रियसभा निर्वाचन कार्यालय प्रदेश २ जनकपुरधाममा उजुरी दर्ता गराएका छन्। 

उजुरीमा राजपा उम्मेदवार सिंहले कुटपिट तथा अंगभंग मुद्दामा २ वर्ष कैद र जरिवाना फर्छ्यौट नगरेको दावी गरिएको छ। २०४४ असार ३० मा सप्तरी जिल्ला अदालतले कुटपिट तथा अंगभंग मुद्दामा सिंहबिरुद्व कैद र जरिवानाको फैसला गरेको उजुरीमा उल्लेख छ। 

सो फैसला तत्कालीन सगरमाथा अंचल अदालतबाट सदर भई सर्वाेच्च अदालतको पूर्ण इजलासको २०५६ पुस १ गते पुनरावलोकनको निस्सा नहुने भई अन्तिम फैसला भएको पनि निवेदनमा भनिएको छ। उजुरीकर्ता कांग्रेस उम्मेदवार पंजियारले अदालतबाट तोकिएको सजाय भुक्तान नगरेकाले उम्मेदवारी खारेज गर्नुपर्ने जिकिर गरेका हुन्। 

उजुरीको आधारमा सिंहको उम्मेदवारी खारेज भए समाजवादी पार्टी र कांग्रेसका साझा उम्मेदवार पंजियार स्वतः निर्वाचित हुने स्रोतले जनाएको छ। राष्ट्रियसभा निर्वाचन कार्यालय प्रदेश २ का अधिकृत राजुकुमार खतिवडाले भने उजुरी दर्ता भएको पुष्टि गरे। उनले उजुरी निर्वाचन आयोगमा पठाउने र त्यहाँबाट गरिने निर्णय कार्यान्वयन हुने बताए।

यता, उम्मेदवार सिंहले अदालतले फैसला गरेको मुद्दाको लागत कट्टा भइरहेको दावी गरेका छन्। उनले भने, ‘२०५४ सालमै लागत कट्टा भइसकेको छ। त्यसको प्रमाण मसँग सुरक्षित छ। त्यसैले उम्मेदवारी खारेज हुन सक्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.