२१८ जना चिनियाँ कोरोना भाइरसबाट संक्रमित

|

बेइजिङ : कोरोना भाइरसका कारण सोमबार चीनमा चौथो व्यक्तिको मृत्यु भएको छ। योसँगै चिकित्सकहरूले उक्त भाइरस मान्छेबाट मान्छेमा सर्ने प्रकृतिको भएको पुष्टि गरेका छन्।

पछिल्लोपटक एक ८९ वर्षीय वृद्धको ज्यान गएको हो। कोरोना भाइरसका कारण ज्यान गुमाएका ती वृद्ध उहान शहरमा बस्ने गर्थे। उहानबाटै उक्त भाइरस फैलन सुरू भएको थियो।

बेइजिङ र सांघाईसहितका शहरमा कोरोना भाइरस संक्रमित २ सय बिरामी फेला परेका छन्। योसँगै विश्व स्वास्थ्य संगठनले संकटकाल घोषणा गर्नेबारे छलफल थालेको छ।

यसअघि, स्वाइन फ्लु र इबोला फैलँदा पनि स्वास्थ्य संकटकाल घोषणा गरिएको थियो। स्वास्थ्य संगठनको बैठकले बुधबार यसबारे निर्णय लिनेछ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले, लामो अध्ययनपछि, उक्त भाइरस सरुवा प्रकृतिको रहेको पुष्टि गरेको हो। गुआनडोङ प्रान्तका दुई मानिसमा अरू मानिसबाट कोरोना सरेको पाइएको आयोगले जनाएको छ।

उहान नगरपालिकाले एक छुट्टै वक्तव्य जारी गर्दै १५ जना स्वास्थ्यकर्मी पनि कोरोनाको शिकार बनेको जनाएको छ। तीमध्ये एकको अवस्था गम्भीर छ। ती स्वास्थ्यकर्मीहरू बिरामीको उपचारमा संलग्न हुने क्रममा संक्रमित भएका थिए।

अहिलेसम्म कहाँ-कहाँ फैलियो कोरोना?

सुरूमा उहान शहरमा गतवर्ष कोरोना भाइरस पत्ता लागेको थियो। १ करोड १० लाख मानिस बसोबास गर्ने यो शहर चीनको मध्य भागमा अवस्थित छ। विश्व स्वास्थ्य संगठनले अहिलेसम्म २१८ जना चिनियाँ कोरोना भाइरसबाट संक्रमित भएको बताएको छ।

त्यसबाहेक, थाइल्याण्डमा दुईजना, जापानमा एक र दक्षिण कोरियमा एकजना कोरोना संक्रमित भेटिएका छन्। ती सबै बिरामी हालैमात्र उहानबाट घर फर्किएका थिए।

उक्त भाइरसको 'सरूवा चरित्र' पुष्टि भएपछि अष्ट्रेलिया सिंगापुर, हङकङ, ताइवान तथा जापान लगायतका देशले उहानबाट आएका यात्रीहरूको विमानस्थलमै स्वास्थ्य परीक्षण गर्न सुरू गरेको छ। अमेरिकाको सन् फ्रान्सिस्को, लस एन्जल्स, र न्यूयोर्कमा पनि यात्रुको परिक्षण गर्न थालिएको छ।

अष्ट्रेलियाले उहानबाट आएकाहरूलाई भिन्दै राखेर परिक्षण गर्न थालेको छ। घुमघामका लागि वर्षेनी १० लाखभन्दा धेरैको संख्यामा चिनियाहरू अष्ट्रेलिया जाने गर्छन्।

कति छिटो फैलँदैछ?

यसै सप्ताहन्तमा परेको (स्थानीय) नयाँ वर्षका अवशर पारेर लाखौं चिनियाँहरू स्वदेश तथा विदेशको भ्रमण गर्ने क्रममा छन्। त्यसले गर्दा, सबैतिर यो भाइरस फैलनसक्ने त्रास पैदा भएको छ।

विशेषज्ञहरू भन्छन्, नयाँ वर्षमा घुम्न जाने चिनियाँहरूको संख्या ठूलो हुने भएकाले विमानस्थलका खटाइएका चिकित्सकहरूले सबैलाई जाँच्न भ्याउनेछैनन्। त्यसमाथि अगावै घुम्न हिँडिसकेकाहरूको परिक्षण हुनै पाएको छैन।

कोरोना भाइरसले सन् २००० को सुरूमा फैलिएको सार्स भाइरसको स्मरण गराएको छ। एसियाका धेरैजसो भूभागमा फैलिएको उक्त भाइरसका कारण ७७४ जनाको मृत्यु भएको थियो। कोरोना र सार्सको 'जेनेटिक' मिल्दोजुल्दो देखिएको छ।

कोरोनाबारे अहिलेसम्मका तथ्यहरू

चिकित्सकहरूले यो भाइरसलाई '२०१९-एनकोभ' का नाम दिएका छन्। यो भाइरस यसअघि मान्छेमा देखिएको थिएन। जनावर वा समुन्द्री जीवका माध्यमबाट यो भाइरस मानिसमा सरेको विश्वास गरिन्छ। चीनको उहान शहरमा जनावर र सी-फुडको ठूलो बजार छ।

कोरोना समूह अन्तर्गतका छ प्रकारका भाइरस मानिसमा सर्ने गरेको यसअघि नै पत्ता लागे पनि अहिले फैलिएको भाइरस सातौं प्रकारको हो।

विश्व स्वास्थ्य संगठनले असुरक्षित किसिमले जनावरको नजिक नजान, माछामासुजन्य खानेकुरा राम्ररी पकाउन र रुघाखोकीद्वारा संक्रमित मानिसहरूसँग सकेसम्म टाढै बस्न अपील गरेको छ।

कोरोना भाइरस लागेमा ज्वरो आउने, खोकी लाग्ने तथा श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षणहरू देखिने चिकित्सकहरूले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.