|

डडेल्धुराः संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन हुने बताए। मंगलबार प्रेस संगठन डडेल्धुरा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री ढकालले एमसिसी कुनै सैन्य प्रयोजनाका लागि नभएकाले संसदबाट पास हुने बताएका हुन्।

माघ १२ गते संसदले सभामुख पाएपछि सरकारले एमसिसीको फाइल संसदमा पेश गर्ने र संसदबाट कसैको रोकटोकबिना पास हुने उनको दाबी छ। ‘एमसिसी परियोजना कुनै सैन्य परियोजना होइन। हातहतियार, बारूद र सशस्त्र बलसँग यसको कुनै संलग्नता छैन,’ उनले भने, ‘एमसिसी विकास परियोजना हो। नेपालको लागि आवश्यक पनि छ।’

एमसिसी परियोजना कार्यान्वयनमा लगिने उनको भनाइ थियो। एमसिसीका बारेमा पार्टीभित्र विवाद रहनु समस्या भएको उनले बताए। पार्टीभित्र केही मतभेद रहनु स्वाभाविक भएको उनको तर्क थियो।

भीम रावलप्रति कटाक्ष

नेपाल कम्युनिस्ट पार्टी नेकपाको एकता देखेर अन्य दलहरू छट्पटाइरहेको उनले बताए। कांग्रेसप्रति लक्षित गर्दै उनले उनीहरूप्रति सहानुभूति राख्न मात्रै सकिने धारण राखे। एमसिसी र सरकारका कामको विरोध गर्दै आइरहेका नेता भीम रावल ‘पद नपाएर’ विरोधमा उत्रिएको आरोप लगाए।

रावलप्रति कटाक्ष गर्दै मन्त्री ढकलले उनको विरोधले विपक्षी दललाई राहात पुगेको बताए। ‘अलिअलि पद अवसर नपाएका कारण जो ‘कुण्ठा’ हरू कहिलेकाहीँ व्यक्त हुन्छन्। त्यसले हाम्रा (नेकपा) कार्यकर्तालाई भन्दा पनि विपक्षीलाई बाच्नका लागि राहात दिएका छन्।’ उनले रावलप्रति कटाक्ष गर्दै भने,‘यस्ता अभिव्यक्तिले पनि समाजमा योगदान नै गरेका छन्।’

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको समेत जिम्मेवारीमा रहेका मन्त्री ढकालले संसदमा लगेका विधेयकहरू विधि प्रक्रियाबाटै लगेको जानकारी गराए।संसद्मा सरकारले पेश गरेको सूचना प्रविधि विधेयकमा केही कमी भए सुधार गरेर पास हुने उनको भनाइ थियो।

‘संसद्मा सरकारले पेश गरेका विधेकमा केही कमी छन् भने सुधारिएर पास हुन्छन्। यसैले सरकारले संसद्मा पेश गरेको हो,’ उनले भने, ‘सार्वभौम संसद्ले त्यसलाई परिमार्जन गर्न सक्छ।’

डडेल्धुरा अस्पतालको निरीक्षण

मन्त्री ढकालले संघीय सरकारमा मातहतमा रहेका डडेल्धुरा अस्पतालको निरीक्षण समेत गरेका छन्। मंगलबार बैतडीमा ट्रमा सेन्टरको सम्भाव्यता अध्ययन गर्ने जाने क्रममा डडेल्धुरा पुगेका मन्त्री ढकालले विशिष्ट विशेषज्ञ अस्पतालको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा मन्त्री ढकाले चिकित्सक दुर्गम आउन नमान्ने प्रवृतिले अभाव भएको बताए।

लामो समयसम्म चिकित्सक अभाव रहेका अस्पतालमा अब क्रमिक रुपमा डाक्टरको पदपूर्ति हुँदै जाने उनको दाबी छ। ‘डडेल्धुरा अस्पतालको जिम्मा संघले लिएको छ, यद्यपि केही अभावहरू कायम छन्,’ उनले भने, ‘यो मन्त्रालय हामीले समालेपछि व्यवस्थापन गर्दै जान्छौं। यी हिजोका अभाव अब हट्दै जाने छ।’ 

चिकित्सकहरू केन्द्रले पठाउने अध्ययन बिदामा बस्ने समस्या देशभरको रहेको उनले बताए। अध्ययन बिदामा पनि अब अडाइ गरिने उनको भनाइ छ। उनले भने, ‘हाम्रा डाक्टर सापहरूको अधिकांश समय पढाइमा जान्छ। छ महिना काम गर्ने फेरि पढन जाने फेरि अर्को चरण सेवा गयो फेरि पढ्न जाने रहेछ। 

अब स्वास्थ्य मन्त्रालयले अध्ययन विदालाई पनि कडाइ गर्छ।’ उनले विशिष्ट विशेषज्ञ अस्पतालको विकास समितिहरूले छिटै पूर्णता पाउने समेत बताए। डडेल्धुरा अस्पतालले विगत लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक पाएको छैन।

अस्पतालले ११ औं तहको मेडिकल सुपरिटेण्डेन्टसमेत पाएको छैन। तत्कालीन जिल्ला अस्पताल व्यवस्थापन समिति भंग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समितिसमेत गठन हुन सकेको छैन।

२० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले छात्रवृति करारबाट एकजना र अस्पताल विकास समितिबाट दुईजना गरी करारमा ३ जना विशेषज्ञ चिकित्सक छन्। त्यस्तै १९ जना मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा ९ जना चिकित्सक रहे पनि ५ जना अध्ययन बिदामा रहेका छन्। ४ जनामात्र अस्पतालमा कार्यरत छन्। 

स्वास्थ्य मन्त्रालयले पठाएका ११ जना स्थायी र ३ जना करार गरी १४ जना चिकित्सक मध्ये ३ जना मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन्। बाँकी ११ जना भने अहिलेसम्म अस्पतालमा पुगेका छैनन्।

मन्त्रालयले पठाएका ७ जना चिकित्सक यसअघिदेखि नै अध्ययन बिदामा छन् भने एकजना संघीय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएका छन्। यस्तै अर्का एकजना अहिले सुत्केरी स्याहार बिदामा रहेका छन्। यसैगरी करारमा पठाएका २ जना अझै सम्पर्कमा नआएका अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगदीशचन्द्र बिष्टले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.