|

कञ्चनपुर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित गर्ने बताए। मंगलबार कञ्चनपुरको महेन्द्रनगरमा भीमदत्त बसपार्कको उद्घाटन गर्दै मन्त्री नेम्बाङले सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित पार्न भाडा समायोजनदेखि विमा सुरक्षालाई समेत प्रभावकारी रुपमा अगाडि बढाइने बताए।

मन्त्री नेम्बाङले पूर्व-पश्चिम राजमार्ग व्यवस्थित गर्नका लागि तीनवटै तहका सरकार, यातायात सम्बद्ध व्यवसायीसँग छलफल गरिने बताए। उनले सातवटै प्रदेशमा इपिसेन्टर र चार्जिङ सेन्टर स्थापना गरिने पनि बताए। 

पब्लिक/प्राइभेट क्षेत्रलाई सहभागी गराएर विद्युतीय बस सेवा सञ्चालनका लागि निर्णय अघि सारिएको मन्त्री नेम्बाङले बताए। उनले यातायात सम्बद्ध संघ-संस्थासँग छलफल गरेरै यातायातसम्वन्धी नयाँ कानुन ल्याउने पनि बताए। मन्त्री नेम्बाङले भीमदत्त बसपार्क नयाँ प्रविधि र सुविधायुक्त बसपार्क बनेकाले विकास र समृद्धि लक्षित भएको बताए। 

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले यातायात क्षेत्रको विकास र सुविधाका लागि भीमदत्त बसपार्क थप व्यवस्थित र सुविधा सम्पन्न बनाइने बताए। महाकाली यातायात बस व्यवसायी प्रालिका अध्यक्ष डम्बरदत्त पन्तले नेपाल-भारत सीमा क्षेत्रको वनवसापुल सात घण्टाबाट १८ घण्टा खुल्ने व्यवस्था गरिदिन मन्त्रीसँग अनुरोध गरे। भीमदत्त बस पार्कलाई अन्तर्राष्ट्रिय बस पार्कका रुपमा विकसित गरिनुपर्ने उनले उल्लेख गरे। 

भीमदत्त नगरपालिकाले एक वर्षअघि ७ करोड, ३२ लाख, ५४ हजार ५९४ रुपैयाँ लगातमा निर्माण गरेको थियो। गुरुयोजनाअन्तर्गत पर्खाल, सुरक्षा पोष्ट, तीनतले कार्यालय भवन, ग्रिनपार्क, घन्टाघर, पेट्रोल पम्प, ट्याक्सी स्ट्याण्ड, डिजिटल सूचना बोर्ड, ढल निकास, शौचालय, व्यावसायिक कक्ष, टिकट काउन्टर, सौर्यबत्ती, लकर रुम र गाडी स्टाफका लागि आराम गृह निर्माण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.