|
फाइल तस्बिर

पर्सा : नेपाल प्रहरी सहायक निरीक्षक (असइ) मा जागिर लगाइदिन्छु भनी ठगी गर्दै हिँड्ने नेकपाका प्रदेश २ कमिटी सदस्य रामबाबु बैठा पुर्पक्षका लागि कारागार चलान भएका छन्। पर्सा जिल्ला अदालतमा मंगलबार भएको ठगी मुद्दाको बहसपछि प्रदेश कमिटी सदस्य बैठा पुर्पक्षका लागि कारागार चलान भएका हुन्।

रौतहटको साविक गाविस पथरा बुधराम हालको मौलापुर नगरपालिका-७ बस्ने प्रदीपकुमार साहले जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको जाहेरीपश्चात नेपाल सरकार वादी रहेको ठगी मुद्दामा उनी पुर्पक्षका लागि कारागार चलान भएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद अधिकारीले थाहाखबरलाई बताए।

पर्साको पोखरिया नगरपालिका-१ वनकटुवाका स्थायी बासिन्दा बैठा सम्लग्न ठगी मुद्दाको पुरक सुनुवाइ मंगलबार पर्सा जिल्ला अदालतका ३ नम्बर जिल्ला न्यायाधीश इन्द्रप्रसाद सुवेदीको इजलासमा भएको हो। वादी नेपाल सरकारको तर्फबाट सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता रुद्रप्रसाद पन्थी र प्रतिवादी बैठाको तर्फबाट अधिवक्ता प्रमोद प्रसादले बहस गरेका थिए।

बहसपछि पर्सा जिल्ला अदालतको ०७६ सी १ २४० नम्बरको ठगी मुद्दामा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ को उपदफा १ को खण्ड ‘ख' बमोजिम पुर्पक्षका निमित्त थुनामा राखी कार्वाही गर्न आदेश भएको श्रेष्तेदार अधिकारीले बताए। सोही मुद्दामा बैठाको सहयोगीका रूपमा संलग्न पर्साकै सुनिल कुमार चौरसिया र कालिकामाई गाउँपालिका ३ का ईश्क कुमार पासवानलाई गएको मंसिर ११ गते नै पर्सा जिल्ला अदालतले क्रमशः ५ लाख र ५०  हजार धरौटी माग गरेर तारेखमा छोडेको श्रेष्तेदार अधिकारीको भनाइ छ।

प्रहरी सहायक निरिक्षक (असइ) मा जागिर लगाइदिने भनी पटकपटक गरी पाँच लाख आइएमइ र २ लाख नगद गरी सात लाख ठगी गरेको भन्दै पीडित साहले गएको कात्तिक १ गते नै पर्सा प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए।

त्यसयता बैठा फरार रहँदै आएको समयमा सोमबार बिहान उनलाई नियन्त्रणमा लिन सफल भइ पुरक सुनुवाइका लागि मंगलबार अदालतमा पेश गरेको उनको भनाइ छ। वर्तमान कानूनअनुसार कसुर पुष्टी भए सात वर्ष कैद र ७० हजार जरिवाना सम्म हुने कानूनी प्रावधान रहेको छ।

‘०७२ सालबाट जागिरमा लगाइदिन्छु भन्दै बैठाले ‘मेरो पार्टीका नेता नारायणकाजी श्रेष्ठ, अर्का नेता विश्वनाथ साहसँग कुरा भइरहेको छ। उहाँहरूकै कोटामा तिमीलाई पार्ने हो' भन्दै झुलाउँदै आए। केही पार नचलेपछि प्रहरीमा उजुरी दिएँ। पैसा पनि नदिने र जागिर पनि नलगाइदिने गरेको कारण त्यहि तनावमा बुबा नारायणप्रसाद साहको पनि निधन भइसक्यो' पीडित प्रदीप कुमार साहले भने।

गत कात्तिक २० गते पनि न्यायको लागि सबैको सहयोग चाहियो भनी पीडित साहले वीरगन्जमा पत्रकार सम्मेलन गरी अनुरोध गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.