|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानको लागि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुलाई छलफल गर्न बोलाएका छन्। पार्टीभित्रको चुलिँदो विवाद अन्त्य गर्न सभापति देउवाले शीर्ष पाँच नेतालाई तीन बजे आफ्नै निवास बुढानिलकण्ठमा बोलाएका हुन्। बैठकमा देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्ण बहादुर खड्का, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला मात्रै सहभागी हुने बताइएको छ। 

गत पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकमा  संस्थापन पक्षले बहुमतका आधारमा विभाग थप्‍ने, भ्रातृसंस्थाको म्याद बढाउने, सभापतिले पार्टीलाई आफूअनुकुल बनाउन विधानका धारा हटाउने निर्णय गरेपछि विवाद चर्किँदो छ। देउवाले डाकेको बैठक पटक-पटक पौडेल तथा सिटौला पक्षले बहिष्कार गर्न थालेपछि देउवाले पेलेरै विभिन्‍न निर्णयहरु गरेका थिए।  

पौडेल र सिटौला पक्षले गत पुस ११ गते बसेको केन्द्रीय समितिले गरेको महाधिवेशनको मिति तोक्ने लगायतका निर्णयहरु सभापतिले फिर्ता लिनुपर्ने माग राख्दै आएको छ। आन्तरिक विवाद चुलिँदै गएपछि देउवा र पौडेल पक्षले सहमति खोज्‍न कार्यदल समेत बनाएको थियो। देउवा पक्षबाट वार्ताको नेतृत्व पार्टी उपसभापति बिमलेन्द्र निधि र पौडेल पक्षबाट प्रकाशमान सिंहको नेतृत्वमा बद्री पाण्डे र हृदयराम थानी रहेका थिए। 

पुस ११ गतेको बैठकमा सभापतिले पेलेरै बहुमताको आधारमा विभिन्न निर्णयहरु गरेपछि कार्यदलको समेत बैठक बस्‍न सकेको छैन। यद्यपी पार्टी उपसभापति निधि, पूर्वमहामन्त्रीद्वय सिटौला र सिंहबीच छलफल भने छलफल भएको थियो। निधि, सिटौला र सिंहबीच भएको छलफलका विषयलाई आज बुढानीलकण्ठमा प्रस्तुत गरिने र सहमतिको प्रयास गरिने नेताहरुले बताएका छन्। 

‘११ गतेको बैठक पछि पार्टीमा बढेको मनमुटाव अन्त्य गर्न पार्टी सभापति ज्यूकै पहलमा छलफल हुन लागेको हो,’ प्रकाशमान सिंहका सहयोगी यूपी लामिछानेले भने, ‘११ गतेको बैठकमा भएको निर्णयकै कारण असन्तुष्टि बढ्यो, विवादलाई संवादकै माध्यमबाट विवाद अन्त्य गर्न लागिएको हो।’ आजको बैठकमा शीर्ष नेताबीच सहमति भए देउवाले छिटै केन्द्रीय समितिको बैठक आह्वान गर्नेछन्। उक्त बैठकमा आज भएको सहमति सार्वजनिक हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.