|
फाइल तस्बिर

काठमाडौं : कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलगायत जेलमा रहेका ११ जनाको मुद्दा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरूहट थारूवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

मोर्चाले टीकापुर घटनाको छानबिन गर्न बनेका समितिले बनाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ। मोर्चाका संयोजक लक्ष्मण थारूले २० दिनभित्र आफ्ना मागहरू पूरा गर्न सरकारलाई आग्रह गरे।

थारूहरूको शान्तिपूर्ण आन्दोलन चलिरहेका बेला कसको योजनामा घटना भएको हो भन्ने जानकारी पाउने अधिकार आफूहरूको पनि रहेको भन्दै उनले लाल आयोग र अन्य आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

‘टीकापुर घटना घटिसकेपछि गठन भएको आयोगहरूको प्रतिवेदन किन सार्वजनिक गरिँदैन? के हामी डाँका, चोर, फटाहा हो? हामी ज्यानमारा हो? थारूहरूको शान्तिपूर्ण आन्दोलन जारी रहेका बेला कसको योजनामा टीकापुर घटना घटेको हो? त्यो जान्न पाउने अधिकार हामीलाई छैन्’, उनले भने, ‘हाम्रो घरमा आगजनी हुन्छ, चोरी हुन्छ, हाम्रो घरमा रेप हुन्छ तर मुद्दा लाग्छ हामीलाई ज्यानमारा, ज्यान मार्ने उद्योग र डाँकाचोरीको। लोकतन्त्र यहि हो। संघीयता यहि हो?’

खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुले देशमा संघीयता, स्वायत्तता स्थापना गर्न संघर्ष गर्नेहरूलाई सरकारले दमन गर्ने नीति लिएको आरोप लगाए। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुखमा सिफरिस गरेको प्रति संकेत गर्दै उनले अदालतमा ज्यान मुद्दा चलिरहेका व्यक्तिलाई सभामुख बनाउने तरखर गर्ने तर झुठा मुद्दा लगाएर रेशम चौधरीर्लाइ कसरी जेलमा राखियो भन्दै प्रश्‍न गरे।

मोर्चाका प्रवक्ता मिनराज चौधरीले थारू गाउँमा छापामारी थरूहट नेता, अभियन्ता, युवा, विद्यार्थीलगायतलाई धरपकड गर्ने र थारू महिलाहरुमाथि दुर्व्यवहार र बलात्कारसमेत गरी थारू बस्तीहरू त्रसित बनाउनेहरूलाई कुनै कारवाही नभएको बताए।

मोर्चाले माघ १४ गते प्रधानमन्त्रीलगायत विभिन्न दका नेताहरूलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ मसान्तसम्म प्रदेशदेखि वडा तहसम्म मोर्चाको समितिहरु विस्तार गर्ने, माघ १८ गते पहिचान पक्षहरूको बृहत अन्तरक्रिया धनगढीमा गर्ने, २४ गते संयुक्त राष्ट्रसंघ, कूटनीतिक नियोग, मानवअधिकार आयोगमा संघर्षका सम्बन्धमा पत्रबाट जानकारी दिने कार्यक्रम सार्वजनिक गरिएका छन्।

त्यसैगरी फागुन १ गते कैलाली र काठमाडौंको माइतीघरमा आमरण अनसन बस्ने, २ गते धनगढीलगायत तराईका विभिन्न जिल्लामा जनप्रदर्शन गर्ने र मागहरू सुनुवाई नभए तीन दिने बन्द तथा आमहड्ताल घोषणा गर्दै ५ गते समीक्षा गरी अनिश्चितकालीन बन्द घोषणा गर्ने कार्यक्रमहरू मोर्चाले सार्वजनिक गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.