|

म्याग्दी : म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका-१, गूर्जामा बाख्लो हिमपातका कारण माघ १ गतेदेखि अबरुद्ध भएको लुलाङ-गुर्जा घोडेटोबाटो बुधबारदेखि सुचारु भएको छ।

एक सातासम्म बाटो अवरुद्ध हुँदा गाउँबाट बाहिर जान नपाएका र बाहिरबाट गाउँ भित्रन नसकेका स्थानीयले हिउँ पग्लेर हिड्न मिल्ने भएपछि आजबाट राहत पाएका छन्। हिमपातका कारण नाकाबन्दीमा परेका स्थानीय आ-आफ्नो गन्तव्यतर्फ लागेका धौलागिरि गाउँपालिका १ गुर्जाका वडाअध्यक्ष झक छन्त्यालले जानकारी दिए।

समुद्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित जिल्लाको अति विकट मानिने गुर्जा पुग्ने जंगलमा करिब चारफिट हिउँले आवतजावत गर्ने पदैलमार्ग नै पुरिदिएपछि स्थानीय गाउँमा आउन र बाहिर जान पाएका थिएनन्।

गूर्जा हुँदै देउराली, लुलाङसम्म आइपुग्न स्थानीयले जंगलमा वैकल्पिक मार्गको प्रयोग गरेर आउजाउ गरेका भए पनि बृद्धबृद्धा, बालबालिकालाई सास्ती भएको जनकल्याण मावि गूर्जाका व्यवस्थापन समितिका अध्यक्ष गुनाराम छन्त्यालले जानकारी दिए।

‘हिउँ चट्टानजस्तै जमेको थियो, हिउँ नपग्लिदाँ आवतजावतमा समस्या भएको थियो,’ छन्त्यालले भने ‘सोमबारदेखि घाम लागेर मौसम सफा भएपछि बल्ल बुधवारदेखि बाटोबाट सहजै हिँड्डुल गर्न सकिने भएको छ।’

गाउँपालिका-१ गूर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउरालीमा करिव चार फिट बाख्लो हिउँ जमेको थियो। देउराली गूर्जा गाउँ जोड्ने घना जंगल हो। चट्टानजस्तै हिउँका कारण पदमार्ग पुरिएको थियो भने गूर्जाबाट गाउँपालिकाको केन्द्र हुँदै सदरमुकाम बेनी आउने अलपत्र परेका स्थानीय आज सजिलैसँग आएका वडाअध्यक्ष छन्त्यालले बताए।

ढोरपाटन शिकार आरक्षअन्तर्गत पर्ने गूर्जाबाट बागलुङ र रुकुम जिल्ला जोड्ने बाटोसमेत सञ्चालनमा नभएपछि हिउँले गाउँलेलाई नाकाबन्दी गरेजस्तै भएको स्थानीयको भनाइ छ। गूर्जामा एउटै बस्तीमा करिव ३ सय घरधुरी छन्।

गूर्जामा हिमपातले आवतजावतमा समस्या हुने भएकाले स्थानीयले तीनमहिनालाई पुग्ने खाद्यान्न अगाडि नै ढुवानी गरिसकेका थिए। हिमपातले मंसिरदेखि माघ महिनासम्म बालबालिका, बृद्धबृद्धालाई सास्ती हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.