|

काठमाडौं : पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका शीर्ष नेता छलफलमा जुटेका छन्।

बुधबार पार्टीसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरूबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्ने विषयमा छलफल भएको हो।

सभापति देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलमा विवाद समाधानका लागि अहिलेसम्म भएका गृहकार्यको बारेमा छलफल भएको वरिष्ठ नेता पौडेलले बताए। शुक्रबार बिहानै पुनः बैठक बसेर विवाद टुंग्याउने प्रयास हुने उनको भनाइ।

पौडेलसँगै पार्टीका महामन्त्री प्रकाशमान सिंह र नेता कृष्णप्रसाद सिटौला छलफलका लागि बूढानीलकण्ठ पुगेका थिए। छलफलमा उपसभापति विमलेन्द्र निधि पनि सहभागि थिए।

यसअघि पुस २७ गते बूढानीलकण्ठमै सभापति देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल भएको थियो। पौडेल पक्षले महाधिवेशन कार्यतालिका सच्याउनुपर्ने, तत्काल विभागको संख्या बढाउन नहुने र भ्रातृ संगठनको विवाद चाँडो टुंगो लगाउनुपर्ने लगायतका माग राख्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.