वनको जग्गामा संरचना, सिसी टिभी छैन, अनुगमन हुँदैन

|

हेटौंडा : मंगलबार मकवानपुरको थाहा नगरपालिका-४ स्थित एभरेस्ट पानोरमा रिसोर्टमा चार बालबालिकासहित आठ भारतीय पर्यटकको मृत्यु भयो। पर्याप्त अक्सिजन नपुग्दा निसास्सिएर उनीहरुको एकैसाथ मृत्यु भएको प्रहरी जनाएको छ।

मापदण्ड भए बाँच्थे पर्यटक?

मंगलबार ८ जना भारतीय पर्यटकको मृत्यु प्रकरणले रिसोर्टको मापदण्ड कार्यान्वयन नै नभएको शंका उत्पन्न भएको छ। होटल, लज, रेष्टुराँ, रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ (पहिलो संशोधन) नियमावली, २०७१ को धारा ६ को पहिलो दफा “क” बमोजिम नै पर्यटक स्तरको लजको मापदण्ड नपुगेको देखिन्छ।  

धारा ६ मा पर्यटकस्तरको लज घटीमा देहाय बमोजिमको सुविधायुक्त हुनु पर्नेछ भन्दै दफा “क” मा भनिएको छ ,“सुत्ने कोठा कम्तीमा पाँचवटा हुनु पर्ने र ती सबैमा पर्याप्त प्राकृतिक प्रकाश आउन सक्ने र हावा चल्ने हुनु पर्ने।''

प्रहरीको अनुसन्धान अनुसार अक्सिजन अभावको कारणले निस्सासिएको देखिने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिएका छन्। पहिलो मापदण्ड नै पर्यटकीय लजको रुपमा रहेको एभरेस्ट पानोरमाले लागू गरेको भए सम्भवत कसैले ज्यान गुमाउने थिएनन्। मापदण्ड अनुसार भएको भए हावा चल्ने थियो। जसका कारण अक्सिजन पुग्न सक्ने देखिन्थ्यो।  

यस्तो छ मापदण्ड

पानोरमा महंगो र नाम चलेको रिसोर्टसहितको पर्यटकीय लज भए पनि सुविधा पर्याप्त छैन। जाडोको समयमा शून्य भन्दा तल तामक्रम रहने होटलका कोठामा  इलेक्ट्रिक बेड छ। तर एयर कन्डिस्नर भने जोडिएको छैन। 

रिसोर्टले पर्यटकीय मौसममा प्रतिव्यक्ति एक रात बसाईको आठ हजार रुपैयाँसम्म शुल्क लिने गरेको छ। एभरेस्ट पानोरमा रिसोर्टमा व्यवस्थापन हेरिरहेका सुदेश गौतमले भने होटलमा भएको घटनाबारे अहिले नबोल्ने बताए। 

उनले  मापदण्डबारे विस्तृत जानकारी आफुलाई नभएको बताउँदै दामन भन्दा काठमाडौंमै बसेर काम गर्ने हुँदा भौतिक अवस्थाबारे थाहा नभएको उल्लेख गरे। उनका अनुसार होटलमा ३० वटा रुम छन्। करिब ३५ रोपनी क्षेत्रफलमा रिर्सोट फैलिएको छ।  

गौतमले एभरेस्ट पानोरमा रिसोर्ट प्रालिको नाममा २०४८ सालदेखि रिसोर्ट सञ्चालनमा रहेको बताए। हाल रिसोर्टका मालिक रविचन्द्र हमाल देशमा नभएको उनले बताए। 

'मलाई  रिसोर्टबारेमा विस्तृत जानकारी छैन, मैले काठमाडौंमै बसेर हेर्ने गरेको छु', उनले भने, 'रवि सर व्यापारको सिलसिलामा विदेशमा हुनुहुन्छ।'  

सामुदायिक वनमा रिर्सोट

२०४८ सालमा तत्कालीन दामन गाविसमा सामान्य कटेजका रुपमा एभरेष्ट पानोरमा खुलेको स्थानीयबासी बताउँछन्। केही समपछि पानोरमाले त्यहाँको जग्गा आफ्नो नाममा लिएर नयाँ संरचना थप्दै गएको स्थानीय अगुवाहरुले बताए।  

अहिले करिब ३५ रोपनीमा फैलिएको उक्त रिर्सोटको केही भाग थाहा नगरपालिकाको करुणाभूमि सामुदायिक वनभित्र रहेको छ। करुणाभूमि सामुदायिक वनभित्र हेलिप्याडसहित केही स्थान रहेको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताए। उनका अनुसार सामुदायिक वनसँग रिसोर्टका केही संरचना निर्माण गर्न जग्गा लिजमा लिइएको हो। 

झगडा गरेर हिटर लगियो 

मकवानपुरको सिमभञ्ज्याङमा जाडो महिनामा प्रायः हिउँ पर्ने गर्छ। उत्तरी क्षेत्रस्थित पर्यटकीय नगरीको रुपमा परिचित थाहानगरपालिका-४ स्थित सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक मानिन्छ। 

पानोरमामा सोमबार साँझ भारत केरालाका आठजना पोखरा घुमेर दामन बा ३ क ३६८८ नम्बरको बसमा १५ जनाको समूह पारिवारिक भ्रमणको लागि आएका थिए। 

सोमबार साँझ ९ बजे आइपुगेका उनीहरुले सुरुमा चारवटा कोठा बुक गरेका थिए। साँझ होटलमा नै खाना खाएपछि समुहमा रहेका केही युवाहरुले जेडी ब्राण्डको रक्सी बेस्सरी खाएको होटलका कर्मचारीले बताए।

टोलीका मृत्यु हुने ३७ वर्षीय प्रविणले मध्यराति १ बजेतिर धेरै जाडो भएकोले हिटर दिन आग्रह गरेका थिए। तर हिटर बालेर सुत्दा खतरा हुने भन्दै कर्मचारी हच्किएका थिए।

मध्यरात भइसकेकोले होटल प्रशासनले सुत्न भनेपछि जाडो भगाउन हिटर चाहियो भन्दै झगडा गर्न थालेपछि दिएको होटलका कर्मचारी शिव केसीले जानकारी दिए। 

चारवटा कोठा बुक गरेर १५ जनामध्ये एउटामा ७ जना सुतेका थिए। अर्को कोठमा ८ जना हिटर चलाएर सुतेका थिए। अन्य दुईवटा कोठा उनीहरुले प्रयोग गरेनन्।  मकवानपुरको सबैभन्दा उचाई २४ सय ८८ स्थित उक्त रिसोर्टमा आइपुग्नेबित्तिकै उनीहरूले निकै चिसो महसुस भएको कर्मचारीहरुलाई बताएका थिए।

घटना दु:खद

होटल एशोसियन मकवानपुरले घटना दुखद् भएको जनाएको छ। एशोसिएसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठले थाहाखबरसँग कुरा गर्दै भने, 'हाम्रो एशोसिएसनको सदस्यता उक्त रिसोर्टले लिएको छैन्, यद्यपि एशोसिएसनले दामनको घटनाप्रति दुख व्यक्त गरेको छ।'

श्रेष्ठले  प्रख्यात होटलका कारण कसैले ध्यान दिँदा यस्तो अवस्था आएको हुन सक्ने बताए। उक्त रिसोर्टमा सिसी क्यामेरासमेत नभएको बुझिएको श्रेष्ठले बताए। 

छानबिन समिति 

रिसोर्टमा मंगलबार भएको आठ पर्यटकको मृत्युको घटनाबारे छनाविन गरिने भएको छ। छानविनका लागि पर्यटन विभागले छानविन समिति गठन गरेको छ।  

पर्यटन विभागको होटल शाखाले बुधबार सूचना जारी गरि घटनाको छानविन गरिने जनाएको छ। यसका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ। विभागको होटल शाखाका निर्देशकको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र होटल संघ नेपालका एक-एक प्रतिनिधि र पर्यटक प्रहरीका प्रहरी निरीक्षक सदस्य रहने जनाएको छ। 

त्यस्तै, विभागको होटल शाखाका अधिकृत समितिका सदस्य सचिव रहने सूचनामा जनाइएको छ। समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। छानविन समितिले स्थलगत अध्ययन गर्नेछ। 

समितिले के भन्यो?

घटनाबारे अनुसन्धान भइरहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिएका छन्। पर्यटन वर्षमै गम्भीर घटना भएकोले प्रशासनले विशेष रुपमा अनुसन्धान गर्न प्रहरीलाई आवश्यक सहयोग गरिरहेको भट्टले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.