|

बैतडी : बैतडीका विभिन्‍न क्षेत्रहरु न्यूनतम खाद्य असुरक्षित हुन थालेका छन्‌। बैतडीमा मुख्य खाद्यबालीको रुपमा रहेको मकै उत्पादनमा कमी आउन थालेपछि खाद्यान्‍न अपुग हुन थालेको हो।

बारीमा उत्पादित अन्‍नबालीले तीन महिना पनि नथेग्‍ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्र तोकिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिएका छन्‌।

साविकको जिल्ला कृषि विकास कार्यालयले तीन बर्षअघि गरेको अध्ययनअनुसार बैतडीका महाकाली, पञ्चेश्वर, शिवनाथ, कुलाउ, सिगास, थालाकाँडा रढुंगाड क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रको रुपमा राखिएको छ।

पछिल्ला तीन बर्षयता पनि कृषि उत्पादनमा सुधार नआएकाले ती क्षेत्रहरुलाई खाद्यान्‍न असुरक्षित क्षेत्रमा राखिएको हो। खडेरी, जंगली जनावरलगायतका कारणले बालीनालीमा क्षति पुगेपछि खाद्यान्‍न उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

स्थानीयहरुले खेत बाँझै छोडेकाले खाद्यान्‍न उत्पादन कमी आउन थालेको हो। जंगली जनावर र बाँदरका कारण खेत बाँझै छोड्नुपरेको दशरथचन्द नगरपालिका ५ का स्थानीय पुष्पा चन्दले बताए। उनले भने, 'बारीमा लगाएको बाली बाँदरले सखाप पार्ने भएकाले खेत बाँझै छोड्न बाध्य भएका छौं।' मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली पनि जंगली बदेलले नष्ट गर्न थालेपछि खाद्यान्‍न अभाव हुँदै गएपछि स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन्‌।

खाद्यान्‍न पनि अपुग

बैतडीमा उत्पादित खाद्यान्‍न जिल्लाकै लागि अपुग हुने गरेको छ। पछिल्ला बर्षहरुमा खाद्यान्‍न उत्पादनमा कमी आएसंगै जिल्लामा आवश्यक खाद्यान्‍न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था छ। जंगली बँदेल तथा बाँदरका कारणले खेतीयोग्य जमीन बाँझै राख्ने प्रवृति बढेपछि खाद्यान्‍न उत्पादनमा कमी आएको हो। 

जिल्लामा बार्षिक ५० हजार ६७५ मेट्रिक टन खाद्यान्‍न आवश्यक परेपनि ४३ हजार ३४३ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ। कृषि ज्ञान केन्द्रका अनुसार बार्षिक ७ हजार ३३२ मेट्रिक टन खाद्यान्‍न अपुग हुने गरेको छ। पहिले थोरै मात्रामा आयात भएपनि झण्डै एक दशकदेखि आयात हुने खाद्यान्‍नको परिमाण बढिरहेको छ। 

मकैखेतीको क्षेत्रफल नै घट्दै 

बैतडीमा मकैखेती गरिने जमीनको क्षेत्रफल घट्दै गएपछि उत्पादन पनि घटेको छ। १४ हजार ५ सय हेक्टर जमीनमा मकै खेती गरिँदै आएकोमा गत बर्ष १२ हजार २ सय हेक्टर जमीनमा मात्रै खेती गरिएको छ। गत बर्षमा २३ हजार २ सय मेट्रिक टन मकै उत्पादन भएकोमा यो बर्ष १९ हजार ७६४ मेट्रिक टन मकै उत्पादन भएको छ। 

बाँदर र जंगली बदेलले व्यापक क्षति पुर्‍याएकाले मकैको उत्पादन घटेको हो। धान उत्पादन भने केही वृद्धि भएको छ। गत बर्ष १६ हजार ९ सय मेट्रिक टन धान उत्पादन भएकोमा यो बर्ष १७ हजार मेट्रिक टन धान उत्पादन भएको सरकारी तथ्याङ्कमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.