आगामी फेब्रुअरीबाट टि-२० विश्वकप

|

आइसिसी महिला विश्वकप २०२१ आयोजना हुने सहरको टुंगो लागेको छ। आगामी संस्करण न्युजिल्यान्डमा हुन तय भए पनि प्रतियोगिता हुने स्थान तय भएको थिएन।

अन्तर्राष्ट्रिय क्रिकेट बोर्ड (आइसिसी) ले न्युजिल्यान्डको अकल्यान्ड, वेलिङटन, हेमिल्टन, टौराङ्गा, दुनेदिन र क्राइस्टचर्चमा प्रतियोगिता हुने टुंगो लगाएको हो।

६ फेब्रुअरीदेखि ७ मार्च २०२१ सम्म हुने प्रतियोगिताको उद्घाटन सत्र अकल्यान्डको इडन पार्कमा हुने छ। फाइनल खेल क्राइस्टचर्चको हेग्ले ओभलमा हुनेछ। सेमिफाइनलका खेलहरू हेमिल्टनको सेडन पार्क र टौराङगाको वेय ओभलमा हुने आइसिसीले जनाएको छ। प्रतियोगिताअन्तर्गत ८ राष्ट्रले ३१ खेल खेल्ने छन्।

हालसम्म प्रतियोगिताको लागि आयोजकसहित ३ राष्ट्रको मात्र टुंगो लागेको छ। आयोजकको हैसियतले न्युजिल्यान्ड तथा आइसिसी वुमन च्याम्पियनसिपको शीर्ष २ मा पर्ने अष्ट्रेलिया र इंग्ल्यान्डको मात्र टुंगो लागेको हो।

आइसिसी वुमन क्रिकेट बर्ल्ड कपकी सिइओ एन्ड्रिया नेल्सनले भनिन् ‘हाम्रो लक्ष्य ३१ वटै खेल उत्कृष्ट भूमिमा खेलाइनेछ, जसमा भौगोलिक फैलावट छ। किवी खेल प्रशंसकहरूलाई खेलमा जोडनका लागि उत्तम सम्भावना रहन्छ’ नेल्सनले भनिन्, ‘विश्वका सर्वश्रेष्ठ खेलाडीहरूको स्वागत गर्ने मौकाका लागि बोली लगाउनको लागि उत्साह देखेर खुशी लाग्यो।’

अकल्यान्डको कोहिमार बीचमा आयोजक सहर घोषणापछि बीच क्रिकेट खेलिएको थियो। जसमा भारतीय क्रिकेटर मिथाली राज, न्युजिल्यान्डकी नवनियुक्त कप्तान सोफी डेभिन, सुजी बेट्स, अमेलिया केर तथा ब्ल्याक क्याप उपमा पाएको न्युजिल्यान्डको पुरुष टोलीका टोम लाथम, हेनरी निकोलस तथा सन् २००० को विश्वकप विजेता इमिली ड्रम र रेबेका रोल्सको सहभागिता थियो।

किवी टिमकी कप्तान डेभिनले घरेलु भूमिमा विश्वकपको प्रतिस्पर्धा अविश्वसनीय मौका रहेको बताइन्। उनले घरेलु भूमिमा उपाधी रक्षाका लागि तयार रहेको बताइन्।

आगामी वर्ष हुने प्रतियोगिताको पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ। २०१७ को विजेता इंग्ल्यान्डले २ मिलियन डलर प्राप्त गरेकोमा आगामी वर्ष हुने बिजेताले ३.५ मिलियन पाउने आइसिसीले जनाएको छ। सन् २०१७ को ११ औ संस्करण इंग्ल्यान्ड टिमले भारतलाई ९ रनले हराउँदै जितेको थियो।

आगामी फेब्रुअरीबाट टि-२० विश्वकप

आगामी २१ फेब्रुअरीबाट ८ मार्च २०२० सम्म टि-२० महिला विश्वकपसमेत हुँदैछ। अष्ट्रेलियाको ४ वटा सहरको ८ वटा रंगशालमा हुने प्रतियोगितामा १२ राष्ट्रको सहभागीता रहेको छ।

टिमहरूलाई २ समूहमा विभाजन गरिएको छ। समूह 'ए' मा आयोजक तथा गत संस्करणको विजेता अष्ट्रेलियासहित भारत, न्युजिल्यान्ड, श्रीलंका र बंगलादेश रहेका छन्।

समूह 'बी'मा गत संस्करणको उपविजेता इंग्ल्यान्डसहित दक्षिण अफ्रिका, वेस्ट इन्डिज, पाकिस्तान र थाइल्यान्ड रहेका छन्। प्रतियोगिता विजेताले १ मिलियन डलर तथा उपविजेता ५ लाख डलर प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.