|

काठमाडौं : व्यापारीले रत्नपार्कको सार्वजनिक शौचालयभित्र सम्झौताविपरीत व्यापारिक पसल सञ्चालन गरेका छन्। काठमाडौं महानगरपालिका र माधवप्रसाद काफ्लेबीच शहरी सेवा केन्द्र (रत्नपार्क)को आय संकलन (ठेक्का बन्दोबस्त) सम्झौतामा व्यापारिक पसल सञ्चालन गर्न पाउनुपर्ने उल्लेख छैन।  

पसल राख्ने सम्झौता उल्लेख नभए पनि अहिले ठेक्का पाएको लाम्पनटार सिन्धुलीका काफ्लेले सार्वजनिक शौचालयभित्र अनाधिकृत पसल सञ्चालन गर्न अरू व्यवसायलाई दिएका छन्। 

काठमाडौं महानगरपालिका (प्रथम पक्ष) र माधवप्रसाद काफ्ले (दोस्रो पक्ष) बीच २०७३ साल भदौ १ गते पाँच वर्षको लागि भएको सम्झौता पत्रमा भनिएको छ,‘दोस्रो पक्षले शहरी सेवा केन्द्रको हालको भौतिक संरचना परिवर्तन गर्न पाइने छैन। तर, हालको भौतिक अवस्थामा संरचनागत परिवर्तन नहुनेगरी मर्मतसम्भार गरी थप आकर्षक र सुविधा सम्पन्न बनाउन यसले बाधा पुर्‍याएको मानिने छैन।’

तर, अहिले पहिला भएको संरचनामा नयाँ टहरा, पसल राख्ने ठेला थपिएको छ। अहिले ठेला सटर गरी त्यस ठाउँमा ४० भन्दा बढी सटर ब्लक बनाई  जुत्ता, चप्पल, लुगालगायत पसल सञ्चालित छन्। शौचालयभित्र खाजाघर, रेष्टुरेन्टहरू समेत सञ्चालनमा छन्।   

सार्वजनिक सम्पत्तिमा रजाइँ : रत्नपार्कका चर्पीमा खाजाघर

‘दोस्रो पक्षले ठेक्का बन्दोबस्त गरेको क्षेत्रको सरससफाइ नियमित गर्नुपर्ने छ। त्यस्तैगरी, शौचालय प्रयोग प्रयोजनका लागि साबुन,रुमाल सरसफाइका सामग्री र अन्य बास्नादार वस्तुहरु अनिवार्य राख्नुपर्ने  छ।  प्रत्येक दिन शौचालय बिहान ५ बजे,मध्यान्ह १२ बजे र साँझ ५ बजे नियमित सरसफाइ गर्नुपर्ने छ’ सम्झौतापत्रमा उल्लेख छ।

तर, त्यहाँ न बास्नादार बस्तुहरू छन् न हात धुने साबुन नै। शौचालयलाई व्यवस्थित नगरिँदा दुर्गन्धले वरिपरिसमेत ओहोरदोहोर गर्न सक्दैनन् सर्वसाधारण। 
शौच गर्न भित्र छिर्दा मास्क लगाएर छिर्नुपर्ने बाध्यता छ। पसलका सामग्रीहरूले शौचालय कहाँ छ भनी सर्वसाधारणले खोज्दै हिँड्नुपर्ने अवस्था खडा भएको छ। 

महानगरपालिकाले अनाधिकृत पसल हटाउने बताउँदै आएपनि अहिलेसम्म ती पसल हट्न  सकेको छैन। जसले महानगरपालिकालाई आलोचित बनाएको छ।
ठेक्का सम्झौताअनुसार प्रथम पक्षले वार्षिक ४७ लाख रुपैयाँ भाडा नगरपालिकाको धरौटी खातामा जम्मा गर्नुपर्ने छ। 

पसल सञ्चालनको विषयमा ठेक्का पाएका माधवप्रसाद काफ्लेले पहिलैबाट पसल सञ्चालन गर्दे आएकाले पुनः पसल सञ्चालन गरेको बताए। उनले भने,‘शौचालय बनेको आजभन्दा १५ वर्ष अगाडि हो। मैले सञ्चालन गरेको चार वर्ष हुन लाग्यो। पहिले पनि यस्ता पसलहरू सञ्चालनमा थियो। त्यसलै मैले पनि पसल चलाउन दिएकोे हो।’ 

शौचालयको अवधारणमा सहरी शौचालय केन्द्र भनिएकाले त्यसभित्र शौचालय, जनमानसमा पर्ने आधारभूत आवश्यकताका लत्ता कपडाहरू पर्न आएकाले पनि पसल सञ्चालन गरिएको उनले तर्क गरे। सम्झौताअनुसार शौचालयमा बास्नादार र सफा गर्दे आएको समेत उनले दाबी गरे।

‘ट्वाइलेटभित्र फिमेल, हरफिक्स प्रयोग गरेका छौँ,’उनले भने,‘मापदण्डअनुसार काम गरेका छौँ। सम्झौतामा तीनपटक शौचालय सफा गर्नुपर्ने उल्लेख छ। हामी दिनमा पाँचपटक सफा गछौँ।’

उनले शौचालय सफा गर्दे आए पनि एक घण्टामा पाँच सय सर्वसाधारण प्रवेश गर्ने भएकाले खुट्टामा हिलो हुने गरेकाले केही फोहोर देखिएको बताए। उनका अनुसार शौचालय, पसल लगायतको कर महानगरपालिकामा तिर्ने गरेका छन्।

सार्वजनिक शौचालयमा पसल राख्नु अनैतिक कार्य

काठमाडौं महानगरपालिका-२८ का वडा अध्यक्ष भाइराम खड्गीले रत्नपार्कको सार्वजनिक शौचालयमा व्यापारिक पसल सञ्चालन गर्नु अनैतिक कार्य रहेको बताए। उनले भने,‘हामीले शौचालयलाई व्यवस्थित गर्न जिम्मा दिएका थियौँ। अहिले पसलले भरिएको छ। शौच गर्न जाने सर्वसाधारणलाई समस्या हुने गरेको छ। शौचालयमा पसल राख्‍न पाइँदैन। यो अनैतिक काम भयो।’ 

उनले ती अनाधिकृत पसल हटाउन महानगरपालिकालाई पत्रचार गरेर पसल हटाउन लगाइने बताए। ‘प्रक्रिया पुर्‍याएर छिट्टै नगरपालिकामा पसल हटाउन पत्रचार गर्छौं,’उनले थाहा खबरसँग भने,‘नगर प्रहरी खटाई पसल हटाइन्छ। खुला क्षेत्र खुलै हुनुपर्छ।’ व्यापारीले पसल सञ्चालन गरेबापतको कर तिर्ने गरेको बताए पनि नगरपालिकामा कर नतिर्ने गरेको उनको भनाइ छ। 

पसल हटाएरै छाड्छौँ : उपप्रमुख खड्गी

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पसल हटाउन पहल गरिरहेको बताउँदै जसरी भए पनि सार्वजनिक शौचालयका अतिक्रमित पसल हटाउने बताइन्। उनले भनिन्,‘सार्वजनिक शौचालयमा पसल सञ्चालन गर्ने भनेर सम्झौता गरेका छैनौँ। शौचालयभित्र पसल सञ्चालन गर्न पनि मिल्दैन। बोर्ड बैठकमा पनि पटकपटक कुरा उठाएको छु। जसरी भए पनि पसल हटाइन्छ।’ 

उनले  शौचालयभित्र पसल सञ्चालन गर्दा ऐतिहासिक टुँडिखेल र खुलामञ्च कुरूप देखिएको बताइन्। ‘सुन्धारा,रत्नपार्क र खुलामञ्चको सबै सार्वजनिक शौचालय वरिपरि पसलै पसल देखेको छु। शौच गर्ने ठाउँ व्यापारिक स्थल बनेको छ।’ उपप्रमुख खड्गी श्रेष्ठले भनिन्। पसल हटाउने विषयमा नगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई जानकारी गराउँदा उनले पनि हटाउनुपर्ने बताएको खड्गी श्रेष्ठले जानकारी दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.