|

जनकपुरधाम : राष्ट्रियसभाको चार सदस्य चयनका लागि प्रदेश २ मा कडा सुरक्षा घेरामा मतदान भइरहेको छ। जनकपुरस्थित महेन्द्र नारायण स्मृति भवनमा भइररहेको मतदान स्थलमा मोबाइलसमेत प्रतिबन्ध लगाएको छ।

बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्नेछ। निर्वाचनमा प्रदेश २ का मुख्यमन्त्री तथा समाजवादी पार्टीका उपाध्यक्षसमेत रहेका लालबाबु राउतले सबभन्दा पहिले मत खसाले। त्यसपछि मत खसाउने प्रदेश सांसद र जनप्रनिधिहरूको लाइन लागेको देखिन्छ। प्रदेश सांसदका लागि एउटा र जनप्रतिनिधिका लागि अर्को गरी दुई मतदान केन्द्र कायम गरिएको छ।

मतदान स्थलमा कडा सुरक्षाको प्रबन्ध मिलाएको छ। मतदान स्थलमा प्रवेश गर्ने मतदातालाई समेत मोबाइल लग्न दिएका छैन। मोबाइल लिएर सञ्चारकर्मीलाई समेत प्रवेश रोक लगाएको छ। सुरक्षाकर्मीले पत्रकारलाई मतदान केन्द्रभित्र क्यामेरा मात्र प्रयोग गर्न दिएका छन्।

राष्ट्रियसभाको चार सिटका लागि भइरहेको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)ले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)सँग र समाजवादी पार्टीले नेपाली कांग्रेससँग गठबन्धन गरी चार/चार उम्मेदवार चुनावी मैदानमा उतारेका छन्।

भोटक्रसिङको सम्भावना रहेकोले राजपा-नेकपा गठबन्धनले एकै पटक दुई मतदातालाई मतदान गर्न पठाउने गरेका छन्। यसअघि राजपाले ह्वीप नै जारी गरेका थिए। पछि तीन दिनसम्म सबै उम्मेदवारलाई महोत्तरीको बर्दिबासमा लगेर प्रशिक्षण दिए। आज बिहानै बसबाट उम्मेदवारलाई जनकपुर ल्याएपछि मतदानमा सहभागी भएका छन्।

निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उप-प्रमुखले मतदान गर्नेछन्। १ सय ७ सांसद र १३६ स्थानीय तहका २७२ जनप्रतिनिधि गरी कुल ३ सय ७९ जना मतदाता छन्। चुनाव आफ्नो पोल्टामा पार्न समाजावादी-काँग्रेस गठबन्धनले राजपा-गठबन्धनका ६ प्रदेश सांसद वा १६ जनप्रतिनिधिको मत तान्नुपर्ने देखिएको छ।

मधेस र संघीता विरोधी नेकपासँग मधेसको एजेण्डा बोकेका दल राजपा गठबन्धन गरेका कारण क्रस भोटिङको सम्भावना छ। भोट क्रसिङ हुने पक्का रहेको भन्दै काँग्रेस-समाजवादी गठबन्धनका चारै उम्मेदवार जित्ने नेताहरूले दाबी गरेका छन्। तर राजपा-नेकपा गठबन्धनका मतदाता भने क्रस भोटिङ नगर्ने उनी पक्षका नेताहरूको दाबी छ।

राजपाको तर्फबाट अल्पसंख्यक समूहअन्तर्गत शेखरप्रसाद सिंह र अन्य समूहअन्तर्गत मृगेन्द्र कुमार सिंह यादव उम्मेदवार छन्। राजपासँग गठबन्धन बनाएका नेकपाले महिला समूहअन्तर्गत तुलसा कुमारी दाहाल र दलित समूहअन्तर्गत राधेश्याम पासवान उम्मेदवार बनाएका छन्।

यस्तै, काँग्रेस-समाजवाजवादी पार्टीको गठबन्धन २/२ सिट बाँडेर भएको छ। कांग्रेसले महिला समूहतर्फ नगिना यादव र अल्पसंख्यक समूहतर्फ भोला पञ्जियारलाई उम्मेदवार बनाएको छ। समाजवादी पार्टीले दलित समूहतर्फबाट रामपृत पासवान र अन्य समूहतर्फबाट अनिरुद्र कुमार सिंहलाई चुनावी मैदानमा उतारेका छन्।

निर्वाचन सकिएलगत्तै मतगणना सुरु गरिने राष्ट्रियसभा निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए। उनका अनुसार आजै रातिसम्म मतपरिणाम सार्वजनिक गर्ने तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.