|

'टिभी रियारिटी शो'का आफ्ना प्रिय प्रतियोगीलाई जिताउन हामीमध्ये धेरैले मोबाइल भोटिङ प्रकृयामा भाग लिएका छौं। अमेरिकन आइडल होस् वा नेपाल आइडल, यो अभ्यास विश्वमा जहीँतहीँ देख्न पाइन्छ।

तर नेता चुन्न यस्तो अभ्यास भएको सुन्नुभएको छ? यो अभ्यास अमेरिकाबाट सुरु हुने भएको छ।

अमेरिकाको सियाटलवासीले भोट हाल्न लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। सियाटलको पनि एउटा क्षेत्रमा मात्रै यो प्रविधि प्रयोग गर्न लागिएको हो। त्यहाँ, आउँदो फ्रेब्रुअरी ११ मा मतदान हुँदैछ।

एजेन्सीहरूले जनाएअनुसार, किङ संरक्षित क्षेत्रको बोर्ड सुपरभाइजर छनोट गर्न ओम्नीब्यालेट नामको भोटिङ एप प्रयोग गर्न लागिएको हो। उक्त क्षेत्रमा ३० शहर छन्, जहाँका १२ लाख मतदाताले यसपटक घरै बसेर भोट हाल्नेछन्।

'किङ काउन्टीभित्रका मतदाताले मतदानका दिन स्मार्टफोन, ट्याब्लेट वा कम्प्युटरबाट भोट हाल्न सक्ने व्यवस्था मिलाएका छौँ', सियाटलका कार्यकारी प्रमुख बेआ कोभिङ्टनले भने, 'जसका लागि अहिले नाम दर्ता गर्ने कार्य भइरहेको छ।'

डेमोक्रेसी लाइभ नामक कम्पनीले स्मार्ट भोटिङको चाँजो मिलाएको छ। कम्पनीका प्रमुख कार्यकारी ब्रायन फिन्नीले भने, 'हस्ताक्षरको माध्यमबाट मतदाताको मत प्रमाणित हुनेछ, मतदाताले मत दिनासाथ इलेक्ट्रोनिक हस्ताक्षर गर्नुपर्नेछ, जसलाई हामी फाइलमा अगावै संग्रहित मतदाताको हस्ताक्षरसँग भिडाएर मात्रै गणना गर्नेछौँ।'

अमेरिकामा यसअघि अशक्त, अपाङ्ग र ड्युटीको सिलसिलामा विदेशमा खटिएका सैनिकहरूले मात्रै स्मार्ट भोटिङको सुविधा पाउँदै आएका थिए। व्यापक स्तरमा मतदातालाई इलेक्ट्रोनिक मतदानमा सामेल गराउन लागिएको यो नै पहिलोपटक हो।

अमेरिकी अधिकारीहरूले सियाटलको यस चुनावमा ९९ प्रतिशतसम्म भोट खस्ने अनुमान गरेका छन्। अमेरिकामा निकै महत्वपूर्ण मानिने राष्ट्रपतीय निर्वाचनमा पछिल्लोपटक ७० प्रतिशत मतदाताले मात्रै भाग लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.