मनाङेबाट कुटिनुअघि गुरुङले हानेका थिए ढुंगा

|

काठमाडौं : मनाङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले गत मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मुक्का हाने। मनाङेले बुधबार पत्रकार सम्मेलन गरेर मिलनलाई कुट्दा मजा आएको प्रतिक्रिया समेत दिए। 

यो प्रसंग भन्दा पहिले एन्फाका अध्यक्ष मिलनको 'दादागिरी'को कुरा गरौँ। सांसद मनाङेले मिलनमाथि मुक्का हान्‍नु एक दिनअघि मात्रै मिलनले पनि अर्का एक जनालाई हातपात गरेका थिए।

उनले पोखरा क्रिएटिभ अवार्ड हाउसका रामकृष्ण पौडेललाई धकेल्दै हातपात गरेका थिए। उनले पौडेललाई हान्‍न ढुंगा पनि ताकेका थिए। मिलनले रामकृष्णलाई हान्‍न ढुंगा ताक्दै गर्दा अर्का एकजना आएर सम्हालेको भिडियो सार्वजनिक भइसकेको छ।

मिलनले नेपाल सरकारले भव्यताकासाथ सम्पन्‍न गरेको भनिएको साग गेममा पनि पोखरामा अपशब्द बोले। उनले गण्डकी प्रदेशसभाका विधायन समितिका सभापति मोहनप्रसाद रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङसँग भनाभन गरे।

एन्फा कास्कीकै आयोजनामा हुँदै आएको मनकामना केबलकार कपको पुरस्कार पनि लामो समय विजेता टिम, खेलाडीलाई दिएनन्।

तर, प्रायोजकहरुले एन्फा कास्कीलाई सबै रकम प्रदान गरिसकेको बताएका थिए। त्यस्तै मनकामना केबलकार कपमै पत्रकारलाई प्रदान गरिएको पुरस्कार २५ हजार रुपैयाँ अझै पत्रकारले पाएका छैनन्। 

एक वर्षअघि उक्त पुरस्कार नागरिक दैनिकका पत्रकार उमेश पुनलाई प्रदान गरिएको थियो। त्यति बेला विजेता टिम, उत्कृष्ठ खेलाडी र पत्रकार सबैलाई डमी चेक मात्रै पुरस्कारको रुपमा प्रदान गरिएको थियो।  

त्यस्तै उनकै अध्यक्षतामा भएको पोखरा कपमा आएका खेलाडीलाई राखिएको होटलको खर्च समेत नतिरेको बताइएको छ। मिलनलाई पोखरा क्रिएटिभ हाउसका पौडेलले गत आइतबार उजुरी दर्ता गराइसकेका छन्। मिलन जसरी रिस पोख्न हात चलाउँछन् त्यसरी नै अश्लील शब्दसहित मुख पनि चलाउँछन्। 

‘मलाई माननीयले मुक्का र किक हान्‍नुभयो। मैले पनि सक्थें प्रतिवाद गर्न, तर माननीय भएको कारणले केही गरिन’, उनले भने। मिलनले बुधबार जिल्ला प्रहरी कार्यालयमा जीउधनको सुरक्षाको माग गर्दै उजुरी पनि दिएका छन्। 

अब कुरा गरौँ मंगलबार एन्फाका अध्यक्षमाथि मुक्का हान्‍ने सांसद मनाङेको। उनले बुधबार मात्रै भनेका छन्, ‘यो मान्छे नामुद ठग रै’छ। मैले एक झापड हान्दिएँ। मुख्यमन्त्री कप भइरहेको छ। यसलाई मुख्यमन्त्रीले हान्‍नुपर्ने मैले पो हानेँ।’  

सांसद गुरुङले ठगलाई तह लगाउन झापड नै हान्‍नुपर्ने प्रतिक्रिया दिएका छन्। ‘त्यो ठगलाई नहानेर के फुल माला लगाउने? तपाईं भन्‍नुस् त ल। मैले झापड हानेकै हो।’ उनले खेलाडीलाई बस्ने ठाउँ, अभ्यासका लागि मैदान, टाइसिट बनाउँदा एक्लै बनाएको आरोप पनि लगाएका छन्। 

सांसद मनाङे बिरुद्द पक्राउ गरेरै अनुसन्धान गर्नु पर्ने देखिएकाेले प्रकाउ गरिएकाे कास्काका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी  दिए। 

'जीउधनको सुरक्षाको माग गरेर माननीयज्यूविरुद्ध उजुरी प्रहरी कार्यालय परेकाे थियाे। नियन्त्रणमा लिइएकाे छ,' उनले भने, 'अब अनुसन्धानले बाँकी कुरा थाहा हाेला ।'  

त्यस्तै, प्रहरीले एन्फाका अध्यक्ष मिलन गुरुङ विरुद्द परेकाे उजुरी बारे भने प्रहरीले अनुसन्धान गरिरहेकाे बताएकाे छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.