जटिल शल्‍यक्रियादेखि वार्षिक ६५ हजार बढीको सेवा

|

रुकुम : रुकुम पश्चिमको चौरजहारीमा रहेको चौरजहारी अस्पतालमा सेवासुविधा थप भएपछि बिरामीहरुको भिड लाग्न थालेको छ। यसअघिका वर्षमा पनि बिरामीहरूको चाप हुने अस्पतालमा पछिल्लो समय जटिल प्रकारका अप्रेशसन सहितका सेवा थप भएपछि बिरामीहरुको झनै संख्या बढेको हो। जसका कारण रुकुम पश्चिमको चौरजहारी अस्पताल कर्णाली प्रदेशकै एउटा नमुना अस्पताल बनेको छ।

दुर्गम क्षेत्रमा रहेर पनि सुगम अस्पतालको जस्तै सेवा सुविधा र चिकित्सकहरुको व्यवस्था भएका कारण यो अस्पताले धेरै बिरामीहरुको मन जीत्न सफल भएको हो।

रुकुम पूर्व र पश्चिमका साथै छिमेकी जिल्ला जाजरकोट, सुर्खेतको पश्चिमी क्षेत्र, डोल्पा र सल्यानका समेत अधिकांस स्थानीयहरु यही अस्पतालबाट सेवा सुबिधा लिने गरेका छन। काठमाडौं र नेपालगञ्जका अस्पतालमा हुने सेवा पनि चौरजहारी अस्पतालमै हुन थालेपछि यस क्षेत्रका धेरै स्थानीयहरु यही अस्पतालबाट सेवा लिन सहज भएको सल्यानबाट उपचारका लागि आएका रत्न पुनमगरले बताए।

‘सल्यानमा अस्पताल नभएको चाहिँ होइन धेरै छन्’ उनले भने, ‘राम्रो सेवा लिने भएका कारण सल्यानका पनि अधिकांश नागरिक रुकम पश्चिमको चौरजहारी अस्पतालमा नै उपचार तथा चेकजाँच गर्न आउछन्।’

अघिल्लो साउन देखि अस्पतालमा भर्ना हुने ५ वर्ष मुनिका बिरामी बालबालिकाहरुलाई अस्पतालमा रहेसम्म बच्चा र अभिभावकलाई समेत नि:शुल्क खाना व्यवस्था गरेपछि बिरामीहरु निकै खुसी भएका छन्।

त्यस्तै, अस्पतालमा साना ठूला र प्रसूति अप्रेशन गरी २ सय बढी अप्रेशन भइसकेका छन्। अस्पतालमा दैनिक सरदर दुई सयदेखि पाँच सयसम्म र एक आर्थिक वर्षमा ६५ हजार बढीले सेवा लिने गरेको अस्पतालले बताएको छ। अस्पतालमा अत्याधुनिक मेशिनबाट बिरामीको उपचार तथा अप्रेशन गरिन थालेपछि झनै बिरामीको चाप बढेको हो।

अस्पतालमा विशेष प्रकारको सी.आर. ऐक्सरे मेशिन, डि.आर.डिजिटल एक्सरे, जनरल एनेस्थेसिया मेशिन र बायो केमेस्ट्रिक एनलाईजर मेशिनबाट उपचार भइरहेको डाक्टर कालेव बुढाले बताए। ‘अन्य आधुनिक सेवा देखि मुटुको विशेष प्रकारको जाँच समेत आवश्यक परेमा हामी यहाँ गछौं’ उनले भने। अस्पतालमा रहेको अर्को बायो केमिस्ट्रिक एनलाइजर मेशिन बिरामीहरुको रगतमा भएको खराबी पत्ता लगाउन उपयोगी छ।

एनालाइजर मेशिनले मुटु, कलेजो, मृगौला, प्यांक्रिज, सुगरको अवस्था पत्ता लगाउन पनि सजिलो बनाएको छ। त्यसैगरी अस्पतालमा प्रयोगमा आएको जनरल एनेस्थेसीया मेशिन बिरामीहरूको अप्रेशन गर्नुपूर्व बेहोस गराउन प्रयोग हुन्छ।

अस्पतालले उक्त मेशिन नेपाल सरकारको अनुदान सहयोगमा खरिद गरेको हो। अस्पतालको थप स्तरबृद्धिको लागि अस्पतालमा लागि प्रयोग हुने अक्सिजन उत्पादन देखि मेडिकल कजेल स्थापना सम्मको लक्ष्य राखिएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए।

अस्पतालमा १० शय्‍याको बाल वार्ड, ३ शय्याको आइसियु, १० शय्याका सुत्केरी वार्ड र २७ शय्याको जनरल वार्ड रहेको छ। अस्पताल ५० शैय्याको भए पनि बिरामी भने त्यसको दोब्बर संख्यामा भर्ना हुने गरेका छन्।

अस्पतालमा ७ जना डाक्टरसहित ४० जना स्वास्थ्यकर्मी कार्यरत छन्। सरकारी अस्पतालहरुमा राम्रो सेवासुविधा नभएर रिफर सेन्टर भइरहेको अवस्थामा मानव विकास तथा सामुदायिक सेवामार्फत सञ्‍चालित यस अस्पताल भने दुर्गम क्षेत्रका बिरामीहरुको लागि बरदान नै सावित हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.