|

काठमाडौं : काठमाडौं विश्वविद्यालयमा २५ दिनदेखि तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ। प्राध्यापक र कर्मचारीले सहमति भएको चार बुँदे माग कार्यान्वयनमा नआएको भन्दै पुस १६ गतेबाट तालाबन्दी गरेपछि पढाइ प्रभावित भएको हो। 

साउन २३ गतेबाट सुरु भएको प्राध्यापकको आन्दोलन ४२ दिनपछि सहमतिमा टुंगिएको थियो। भदौ ३० गते भएको सहमतिमा काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ (कुपा) र कर्मचारी संघ (कुसा) लाई पारित गर्ने, विश्वविद्यालय सभामा प्रतिनिधित्व गराउने, आर्थिक तथा नीतिगत भ्रष्टाचार छानविन गर्ने र वृत्ति विकास लगायतका विषय थिए। तर, ती सहमति अहिलेसम्म कार्यन्वयन हुन नसक्दा आन्दोलनले पढाइ ठम्प छ।

आन्दोलनले अहिलेसम्म पढ्न नपाएकोमा विद्यार्थी दुखेसो पोखेका छन्। काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी एंव अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका संयोजक सुमनराज पौड्यालले तालाले गर्दा पठनपान प्रभावित भएको बताए। ‘प्राध्यापक र कर्मचारीले पुस १६ गते आन्दोलन गरी विद्यालयमा ताला लगाएको छ,’उनले भने,‘अहिलेसम्म खुल्न नसक्दा हामीले पढ्न पाएका छैनौँ। कुनै पनि कोर्स २० प्रतिशतभन्दा पूरा हुन सकेको छैन। फेब्रुअरीमा हुनुपर्ने सातौँ समेष्टरको परीक्षा पनि नहुने भएको छ।’ 

उनका अनुसार कलेजबाट हुने परीक्षाहरू पनि आन्दोलनले गर्दा रोकिएको छ। ताला लाग्दालाग्दै कलेजले बन्दलाई ढाकछोप गर्न माघ १ गतेबाट १३ गतेसम्म विन्टर भ्याकेसन (जाडो बिदा)दिएको उनको आरोप छ।  

उनले भने,‘माघ १३ गते प्रधानमन्त्रीको विशेष सभा छ।  त्यस सभामा आन्दोलनको माग सम्‍बोधन भएमा मात्र कलेज खुल्ने नभए नखुल्ने कुरा सुनेका छौँ।’त्यस सभामा कर्मचारीहरूको माग सम्बोधन नभए विद्यार्थीहरूले ताला तोड्ने उनले चेतावनी दिए। 

माघ १४ गतेबाट विद्यालय सञ्चालन हुने

काठमाडौं विश्वविद्यालयका सूचना अधिकारी हेमराज काफ्लेले माघ १४ गतेबाट विद्यालय सञ्चालनमा आउने बताए। ‘१३ विशेष सभाको बैठक छ,’उनले थाहा खबरसँग भने,‘जुन मागका कारणले बन्द भएका छन। ती सबै सम्‍बोधन हुने छन्। पक्कापक्की १४ गतेबाट पठनपाठन सुचारु हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.