आधा घण्टाभन्दा बढी हिँड्नु नपर्ने सरकारी मापदण्ड

|

म्याग्दी : सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्न आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड निर्धारण गरेको छ। संविधानमा मौलिक हक रुपमा प्रत्येक नागरिकलाई आधारभुत शिक्षाको पहुँच हुने र प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने उल्लेख गरिएको छ।

तर, सरकारको मापदण्ड र संविधानको मौलिक हक कागजमा मात्रै सीमित रहेको पाइएको छ। अन्नपूर्ण गाउँपालिका–१ दोवा औल माराकाका पाँच वर्षीय बादल पुर्जा बिहान १० बजे लाग्ने स्कुलका लागि बिहान साढे सात बजे नै घरबाट हिँड्छन्। उनी मात्र होइन, कैशाल माविमा अध्ययनरत पाँच वर्र्षीया मेञ्जु पुन, खुसी सुनार पनि एका बिहानै घरबाट हिँड्छन्।

गाउँमा विद्यालय नभएकाले यस गाउँका बालबालिकाहरु बारजरा र सल्लेरी सामुदायिक वन, फाँट हुँदै जोखिम मोलेर केही अभिभावकसँगै र कोही माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीको सहयोगमा टाढा रहेका विद्यालयमा पुग्ने गरेका छन्। गाउँनजिक रहेको सुनारी आधारभुत विद्यालयमा पुग्न खोलाको बाटो र बालबालिकाको ज्यानकै जोखिम मोल्नुपर्ने भएकाले विद्यार्थीले दोवा गाउँमा अवस्थित विद्यालयमै जानुपर्ने अवस्था रहेको स्थानीय अमृत गर्बुजाले बताए।

थकाइले कक्षा कोठमै सुत्छन् 

टाढाबाट धाउनुपर्ने बाध्यता भएकाले कलिला बालबालिका थकानका कारण कक्षा कोठामै निदाउने गरेको अन्नपूर्ण गाउँपालिका–१ का वडासदस्य अमृत गर्बुजा बताउँछन्। उकालो बाटो र जंगलका कारण बालबालिकालाई जंगली जनावरको समेत खतरा रहेको उनले बताए।

गाउँ आसपासबाट दैनिक करिव ४० जना विद्यार्थी बिहान ८ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता रहेको छ। उनीहरुमध्ये केही अभिभावकले मोटरसाइकलमा पु¥याउने ल्याउने गरे पनि अधिकांश विद्यार्थी पैदल हिँडेर विद्यालय आउने जाने गरेका छन्।

‘उकालो बाटोमा निकै थकानका साथ पुग्नु पर्दा पठनपाठनमा समेत असर परेको छ,’ कक्षा ६ का विद्यार्थी विमल पुर्जाले भने, ‘बिहान किताब हेर्ने पाइँदैन।’ कलिला बालबालिका हिँड्न नसक्ने भएकाले माथिल्लो कक्षामा अध्ययनरत विद्यार्थीले बोकेर लैजाने गरेको उनले बताए।

बर्खामा झन् जोखिम

बर्खाको समयमा चिप्लो बाटो, पहिरोको जोखिम, हावाहुरीको डरले विद्यार्थी घरमै बस्नुपर्ने बाध्यता रहेको स्थानीय तमबहादुर विकले बताए। 

गाउँ नजिकै नयाँ विद्यालय स्थापनाका लागि पटक–पटक माग गरिए पनि अहिलेसम्म सुनुवाइ नभएको गुनासो गरे। कैशाल माविका प्रधानाध्यापक शिरबहादुर गर्बुजाले विद्यार्थी दैनिक लामो हिँडाइले आजित भएको बताए। 

‘दिनैपिच्छे चारघण्टा पदैल हिँडेपछि विद्यार्थी थाक्छन्,’ प्रधानाध्यापक अर्बुजाले भने, ‘आवासीय सुविधाको पहल भएमा विद्यार्थीलाई धेरै राहत हुने थियो।’ थकित अवस्थामा विद्यार्थीले सजिलै पाठ्यक्रममा ध्यान दिन नसक्ने भएकाले विद्यालयबाट करिव आधा घण्टाभन्दा टाढाका विद्यार्थीलाई अनिवार्य आवासीय सुविधा वा पायक पर्ने स्थानमा विद्यालयको हुनुपर्नेमा सरोकारवाला निकायको जोड रहेको छ।

जिल्लाभरी उस्तै अवस्था

रघुगंगा गाउँपालिका–६ अमर माविमा कक्षा ९ मा अध्ययनरत ठाडाखानीका कमल छन्त्याल पनि दैनिक दुई घण्टा हिँडेर विद्यालयमा पुग्छन्। उनीजस्तै यस विद्यालयका करिव ३५–४० जना विद्यार्थीले दैनिक पैदलयात्रा गरी विद्यालयमा आउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक युकुमार गर्बुजाले बताए।

मंगला गाउँपालिको मंगला मावि, मालिका गाउँपालिकाको जनप्रिय माविमा समेत करिव डेढ घण्टासम्म पैदलयात्रा गरी विद्यार्थी पढ्न आउने गरेको विद्यालयले जनाएको छ। ‘टाढाबाट आउने विद्यार्थी कहिले काहीँ त कक्षा कोठामै सुत्छन्,’ जनप्रिय माविका प्रधानाध्यापक दिवाकर सुवेदीले भने, ‘हामीले समस्यालाई बुझ्ने प्रयास गर्छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.