|
फाइल फोटो

काठमाडौँः प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ। शनिवार बिहान भएको भेटमा समसामयिक राजनीतिक विषयवस्तुबारे छलफल भएको नेताहरुले जानकारी दिएका छन्‌।

नेकपा र कांग्रेसको शीर्ष नेताहरुबीच राज्य सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने बिषयमा छलफल भएको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले जानकारी दिए। 

‘शीर्ष नेताहरुबीचको छलफलमा सत्ताधारी र प्रतिपक्षी दलबीचको दुरी कम गराउने बिषयमा सहमति भएको छ’ नेम्बाङले भने, ‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्‍न छलफल केन्द्रित भएको भयो।’

प्रधानमन्त्री ओलीले गत शनिबार सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी नियुक्त प्रतिपक्ष दलसँग छलफल गरेर मात्रै गर्ने बताएका थिए। शीर्ष नेताहरुबीचको भेटमा संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म आधार तयार गरिएको बुझिएको छ।

शीर्ष नेताहरुबीचको छलफलमा उपसभामुख चयनको विषयले पनि प्रवेश पाएको बालुवाटार स्रोतले जनायो। लामो रस्साकस्सीपछि सत्ताधारी नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई ल्याएको छ। नेकपाले उपसभामुख पद राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेको राजपालाई दिन चाहेको छ।

कांग्रेसले भने प्रमुख प्रतिपक्षी दलको हकमा पनि उपसभामुख स्वत: आफ्नो भागमा पर्ने दाबी गरिरहेको छ। उपसभामुख पद प्राप्त गर्ने चाहनाके कारण कांग्रेसले सभामुख पदमा उम्मेवारी समेत दिएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.