|

हेटौंडाः बागमती गोल्डकप फूटबल प्रतियोगिताको तेस्रो संस्करण फागुनमा हुने भएको छ। शुक्रबार पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारीमा आयोजित पत्रकार सम्मेलनमा पुरस्कार राशी समेत दुई गुणा बृद्धी गरिएको आयोजकले जानकारी दिएको छ।

बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण लामा बलले प्रतियोगितामा प्रथम हुने टिमलाई छ लाख र दोस्रो हुने टिमलाई तीन लाख रुपैयाँसहित शील्ड र प्रमाणपत्र दिईने बताए। फागुन १ गतेदेखि १० गतेसम्म हुने प्रतियोगिता हेटौंडाबाट ४५ किलोमिटर पूर्वस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा ६७ लाख ६५ हजार रुपैयाँ खर्च हुने उनले बताए।

५ वटा ए डिभिजन, प्रदेशस्तरीय र जिल्लास्तरीय ४–४ वटा र आयोजकसहित १० टिमको सहभागिता रहने करिब २५ हजार जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार तथा विधागत उत्कृष्ट ५ खेलाडीलाई जनही १० हजार, प्रत्येक खेलका 'म्यान अफ दी म्याच'लाई पाँच हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र दिईने अध्यक्ष बलले जानकारी दिए।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले अब श्रमिक मात्र होईन गाउँमै फूटबल खेलाडी उत्पादन गरेर विदेश पठाउन सके धेरै कमाई हुने बताए। प्रतियोगितामार्फत बागमती गाउँपालिकाको पनि प्रचारप्रसार हुने भन्दै उनले प्रतियोगिताका लागि गाउँपालिकाले ३५ लाख रुपैयाँ सहयोग गर्ने बताए।

प्रतियोगितामा वीरगन्ज युनाईटेड, नवजागृती सिमरा, बागमती क्लब (सर्लाही), मकवानपुर ११ लगायतले खेल्ने बताएपनि ए डिभिजन क्लबहरुसँग समन्वय भईरहेको बताईएको छ। दोस्रो बागमती गोल्ड कप २०७५ को उपाधी सरस्वती क्लब काठमाडौं र पहिलो बागमती गोल्ड कप २०७५ को उपाधी हरिहरपुर गाउँपालिका, सिन्धुलीले आफ्नो पोल्टामा पार्न सफल भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.