|

काठमाडौं : काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप पाँच करोड अनुदान दिएको छ। यसअघि नै दुई चरणमा पाँच करोड पचास लाख रुपैयाँ अनुदान दिएको महानगरपालिकाले योपटक थप पाँच करोड दिएको हो।

बागमती प्रदेशका प्रदेश सांसद राजेश शाक्यको नेतृत्वको काष्ठमण्डप पुनर्निर्माण समितिलाई महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार पाँच करोडको चेक हस्तान्तरण गरेका हुन्।

उनले अस्त–व्यस्त, ध्वस्त र जीर्ण बनेका सम्पदा पुनर्निर्माण अभियानमा महानगरपालिका जुटेको बताए। उनले काष्ठमण्डप पुनर्निर्माणका लागि आर्थिक अभाव नहुने गरी महानगरपालिका सहयोग गर्न तयार रहेको समेत बताए।

२०७५ साल वैशाख १ गते काष्ठमण्डप पुनर्निर्माण समिति गठन गरेर पुनर्निर्माणको कामलाई अघि बढाएको समितिलाई महानगरपालिकाले सुरुमा पचास लाख दिएको थियो।

५० लाखले कार्यालय व्यवस्थापन गर्ने लगायतबाट काम सुरु गरेको समितिलाई महानगरपालिकाले दोस्रो चरणमा पाँच करोड अनुदान दिएको थियो। ‘सुरुमा हामीले पचास लाख अनुदान दिँदा र जग खन्दै गर्दा धेरैले काष्ठमण्डप बन्ला र भनी आशंका गरेका थिए,’ शाक्यले भने, ‘दोस्रो चरणमा पाँच करोड दिएपछि ओहो अब त काष्ठमण्डप बन्ला जस्तो छ भन्ने धेरै भए। अहिले हामीले फेरि पाँच करोड दिएका छौँ।

अब सबै ढुक्क भए हुन्छ काष्ठमण्डप बन्छ।’ प्रमुख शाक्यले काठमाडौं महानगरपालिका महानगरभित्रका सबै सम्पदा निर्माण–पुनर्निर्माणको कामलाई सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरे।

संघीय सांसद कृष्णगोपाल श्रेष्ठले पनि आर्थिक अभावमा काष्ठमण्डपको काम नरोकिने बताए। समितिका अध्यक्ष राजेश काक्यले ५५ प्रतिशत काम सम्पन्न भएको भन्दै तोकिएको तीन वर्षको अवधिमा काम सम्पन्न गरेरै छाड्ने प्रतिबद्धता जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.