|

बाँके : बाँकेमा हरेक वर्ष आपराधिक घटना बढ्दै गएको जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्यांकले देखाएको छ। तथ्यांकअनुसार, आर्थिक वर्ष ०७६/०७७ को ६ महिनामा जिल्ला प्रहरी कार्यालयमा पाँच सय ६४ वटा मुद्दा दर्ता भएका छन्। गत आव ०७५/०७६ मा एक हजार १५६ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

बाँकेमा लागुऔषध, हतियारसहितको संगठित अपराध, मानव बेचविखन, चन्दा आतंक, महिला हिंसा, कर्तब्य ज्यान, सवारी ज्यान, हत्याजस्ता गम्भीर प्रकृतिका घटनामा बृद्धि भएको प्रहरीको तथ्यांकले देखाएको छ। प्रहरीले सार्वजनिक गरेको पाँच वर्षको अपराध तालिकाले पनि विगतका वर्षभन्दा चालु आर्थिक वर्षमा आपराधिक गतिविधि बढेको देखाएको छ।

चालू आवको ६ महिनामा दर्ता भएका पाँच सय ६४ मध्ये पाँच सय ६९ मुद्दा फर्स्यौट भएको र बाँकी ५४ वटा अनुसन्धानको क्रममा रहेको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिए।

उनले यस अवधिमा विभिन्न मुद्दामा आठ सय ६ जनालाई पक्राउ गरिएको बताए। चालू आवको पुस मसान्तसम्म कर्तव्य ज्यान ६, ज्यान मार्ने उद्योग १८, चोरी ६२, लागुऔषध एक सय ८, जुवा १२, जवरजस्ती करणी २७, मानव बेचविखन ४, सवारी साधनबाट ज्यान गुमाउने २७, सवारीबाट अगंभगं हुने ७, बाल यौन दुर्व्यवहार ५, सार्वजनिक शान्तिविरुद्धको कसुर ५४, अभद्र व्यवहार एकसय ४०, आत्महत्या दुरुत्साहन ३ र बैकिङ कसुर अन्तरगत ६ वटा मुद्दा दर्ता भएको छ ।

विगत पाँच वर्षको तथ्यांक हेर्दा अपराध दर ह्वात्तै बढेको देखिन्छ। आर्थिक वर्ष २०७१/०७२ मा ७३८, २०७२/०७३ मा ७५५, २०७३/०७४ मा ८५५, २०७४/०७५ मा एक हजार २१ र २०७५/०७६ मा एक हजार १५६ मुद्दा दर्ता भएका छन्।

दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढि लागुऔषधका छन्। पञ्चवर्षीय अपराध तालिकाअनुसार आव २०७१/०७२ देखि आव २०७५/०७६ सम्म बाँकेमा कर्तव्य ज्यानअन्तर्गत ७९, ज्यान मार्ने उद्योगमा एक सय ३१, सवारी चोरी ४३, बहुविवाह ९७, बालविवाह १०, जबरजस्ती करणी एक सय ९४, मानव बेचविखन ७०, सवारी साधनबाट ज्यान गुमाएका दुई सय ६६, लागुऔषध सात सय १०, अपहरण ४१, बालयौन दुराचार २३ र बैकिङ कसुर एक सय ४७ वटा मुद्दा दर्ता भएका छन्। जुन प्रत्येक वर्ष क्रमशः ५.१५ प्रतिशत, २.२५ प्रतिशत, ११.७० प्रतिशत, १६.२५ प्रतिशत र ११ प्रतिशतले बृद्धि भएको देखिन्छ।

आमनागरिकमा प्रहरीप्रतिको विश्वास र सचेतना बढेका कारण हरेक बर्ष मुद्दाको संख्या बढ्दै गएको बाँकेका प्रहरी प्रमुख ओलीले दावी गरे। प्रहरी समक्ष आउन हिच्किचाउनेहरू न्याय प्राप्तिका लागि सहजै प्रहरी कार्यालय आउने र मुद्दा दर्ता गराउने क्रम बढेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.