|

काठमाडौं: ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन जापान भ्रमणमा गएका छन्। विश्व बैंक र जापान सरकारको संयुक्त आयोजनामा आउँदो सोमबार देखि शुक्रबारसम्म आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ गएका हुन्।

महर्जन गरीबी लक्षित सहरी पुनर्उत्थान परियोजना (प्रो पोर अर्बान रिजेनेरेसन पाइलट प्रोजेक्ट-पियुआरपिपी) अन्तर्गत दोस्रो चरणको छलफल कार्यक्रममा सहभागी हुन शनिवार जापान गएका छन्।

‘पियुआरपिपी फ्लो अन स्केल अप’ को यस चरणमा ललितपुर महानगरपालिकाको अगुवाइमा गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कीर्तिपुर र दक्षिणकाली नगरपालिकालाई लाभान्वित गराउन आवश्यक कार्यक्रम र योजनाका बारेमा छलफल हुने ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। कार्यक्रममा प्रमुख महर्जनले समुदायको विकासका लागि ललितपुर महानगरपालिकाले संचालन गरेको कार्यक्रम, ती कार्यक्रम कार्यान्वयन गर्दाको अनुभव लगायतका विषयमा आफ्ना धारणा प्रस्तुत गर्ने उनले जानकारी दिए।

पियुआरपीपी परियोजनाको पहिलो चरण अन्तर्गत भएका कामले ललितपुर महानगर र महानगरवासीमा भएको विकास र प्रगतिको बारेमा समेत उनले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। नेपाली टोलीले जापानमा भएका उत्कृष्ट र नमूना परियोजनाहरुको समेत अवलोकन गर्नेछ। 

उक्त परियोजनाको पहिलो चरणमा पिम्बहाल पोखरी (पिम्बहा पुखु) को पुननिर्माण र मूर्त तथा अमूर्त सम्पदा संरक्षण गर्न काम भएको थियो। पहिलो चरणको उक्त परियोजना विश्व बैंकले ‘जापानीज सोसियल डेभलपमेन्ट फण्ड’ अन्तर्गत विश्वको ३५ वटा देशमा संचालन गरेको थियो। ३५ देशका परियोजना मध्ये ललितपुर महानगरपालिकामा सम्पन्न भएको परियोजना सबैभन्दा उत्कृष्ट भएको विश्व बैंकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.