|

भद्रपुर (झापा) : झापा सदरमुकाम क्षेत्रमा पछिल्लो समयमा भुस्याहा कुकुरको आतङ्क बढेको छ। भुस्याहा कुकुरको टोकाइबाट चौपाया मार्न थालेका छन् भने मानिस घाइते भएका छन्।

भुस्याहा कुकुर नियन्त्रण तथा रोकथाममा नगरपालिकाले चासो नदेखाएको स्थानीयहरुले गुनासो गरेका छन्। भारतीय सीमासँग जोडिएको भद्रपुर नगरपालिका–३ भैसाबाडी गाउँमा भुस्याहा कुकुरले दिनहुँ घरपालुवा जनावर टोक्न थालेको छ। 

कुकुर टोकाइबाट रेबिज लागेर खसी, बाख्रा, कुखुरा मार्दा समेत नियन्त्रण गर्न कसैले चासो नदेखाएको स्थानीय वासीलाल गणेशले गुनासो गरे।  ‘भैसाबाडी गाउँमा जस्तो गाई र खसी–बाख्रा, नगरको कुनै स्थानमा पालिएको छैन,’ उनले भने, ‘मेरै आठवटा खसीब्राखा थिए, भुस्याहा कुकुरले मार्दा अहिले तीनवटा मात्र छन्।’

भैसाबाडीका काशीलाल राजवंशी, श्रवण गणेश, धिरेन राजवंशी, फेनेस गणेश, मुना तातीलगायतको किासानका खसी, बाख्रा भुस्याहा टोकेर मारिदिएको स्थानीय रतिया राजवंशीले बताए। दिनहुँ भुस्याहा कुकुरले गाउँमा घरपालुवा जनावर मार्दा पनि जनप्रतिनिधिले चासो नदेखाएको उनको भनाइ छ ।

‘जनप्रतिनिधि आउँछन्, गाउँवासीको कुरा सुन्छन्, अनि जान्छन्,’ उनले भने, ‘तर, गाउँवासीको कुराको सुनवाइ हुँदैन।’

भद्रपुर–९ मा पनि कुकर आतंक छ। देवकोटा चोक आसपासका क्षेत्रहरूमा दिनहुँ कुकुरले गाईवस्तु तथा खसीबाख्रा टोकेर मार्न थालेको छ। पुष्पा भट्टराई, वृहस्पति पोखरेल, बाबुराम ढकालको बाख्रालाई टोकेर मारिदिएको छ। कुकुरले ब्राखा मारिदिएको गुनासो लिएर नगरपालिका पुगे पनि सुनवाइ नभएको उनीहरुको भनाइ छ।

यसअघि पनि भद्रपुर–३ मा भुस्याहा कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी चौपाया मरेका थिए। गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसीबाख्रालगायतलाई कुकुरले टोकेपछि रेबिज लागेर मरेका थिए। 

यता पशु सेवा केन्द्रका अधिकृत गणेश भट्टराईले नगरको भुस्याहा कुकुर आतङ्क बारेमा स्थानीय तहबाट कुनै पनि जानकारी नआएको बताए। ‘भुस्याहा कुकुर आतङ्क नियन्त्रणका लागि कुनै अभियान सञ्चालन गरिएको छैन,’ उनले भने, ‘कार्यालयमै कुकुरलाई भ्याक्सिन लगाउने काम मात्र गरिरहेका छौ।’ 

भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले नेपालको कानुनमा कुकुर मार्न नपाइने भएको बताए। नगरपालिकामा कुकुर आतङ्क बढेको बारे कही कतैबाट जानकारी नआएको उनले बताए। 

बन्ध्याकरण र सचेतना कार्यक्रममै बजेट स्वाहा

चालु आर्थिक वर्षमा नगरपालिकाले पशु स्वास्थ्य सेवा तथा नियमन कार्यक्रमअन्तर्गत सडक तथा सामुदायिक कुकुरहरू व्यवस्थापन सुरु गर्न १० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, कुकुरमा रेबिज खोप निःशुल्क र बहुला कुकुरले टोकेको पशुहरूको उपचारमा ५० हजार, पशुपक्षी उपचार सेवा सञ्चालनमा दुई लाख, रेबिज, सर्पदंश आदिको प्रचारप्रसार दिवस मनाउने पशुपक्षी आदिबाट हुने सरुवा रोग सम्बन्धी रोकथाम र सचेतना कार्यक्रममा २० हजार बजेट छुट्टाएको छ।
 
विनियोजित बजेटमध्ये नगरपालिकाले गत भदौ २६ मा दुई दिने सडक सामुदायिक तथा घरपालुवा कुकरको बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो। नगरपालिको हरेक वर्ष बन्ध्याकरण शिविर र सचेतना कार्यक्रम गरेर लाखौँ बजेट खर्च गर्दै आए पनि कुकुर आतङ्कबाट कृषकसहित नगरवासीले राहत महसुस गर्न भने पाएका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.