|

काठमाडौं : प्रतिनिधिसभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ। 

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ। सभामुखमा नेकपाको तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी परेको छ। 

सापकोटाको मात्र उम्मेदवार परेकाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध हुनछन्। बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्ने कार्यतालिका छ। 

वक्तव्यसहित पेस हुने प्रस्तावमा समर्थकले धारणा राख्नेछन्। सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती र नेकपाका संसदीय दलका प्रमुख सचेतक देव गुरुङ छन्। यस्तै राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीमा समर्थन गर्नेछन्। प्रतिनिधिसभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक जनाको मात्रै उम्मेदवारी परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ।

मुख्य विपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले सभामुखमा उम्मेदवारी नदिएपछि नेकपा उम्मेदवार सापकोटा निर्विरोध निर्वाचित हुने निश्चित भएको हो।

यस्तै सभामुखमा उम्मेदवार बनेका सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। उनीविरुद्धको रिटमा आजै सुनुवाई हुँदैछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.