खाता खोल्नेको संख्या करिब ३० लाख

|

काठमाडौं : क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडि सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इ-सेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ।

सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इ-सेवा एक दशकको अवधिमा मुलुकका हरेक स्थानमा पुग्न सफल भएको छ। 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इ-सेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा सघाइरहेको छ। 

एक दशकको अवधीमा इ-सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड जनसंख्याले इ-सेवामार्फत सेवा लिइरहेका छन्। 

हाल इ-सेवाका देशभर करिब ८० हजार एजेन्ट (इ-सेवा जोन तथा पोइन्ट) रहेका छन्। हालसम्म इ-सेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेका छन्। 

दशवर्ष पुरा भइ एघारौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा इ-सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘यो एक दशक हाम्रा लागि निकै उत्साहजनक रह्यो। कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौँ। आगामी दिनमा पनि हामीले आम जनजीवनलाई सहज बनाउने खालका विभिन्न सेवा थप गर्दै जानेछौँ।’ 

इ-सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ। 

इ-सेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इ-सेवामा सहजै रकम जम्मा गर्न तथा इ-सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.