दैलेखबाट पचास लाख उठाएर फरार, काठमाडौंमा पक्राउ

|

दैलेख : दैलेखमा विगत दुई वर्षदेखि संचालन हुँदै आएको स्वर्णभूमि कृषि तथा पशुपालन एग्रिकल्चर लिमिटेडका नाममा लाखौँ रकम उठाएर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

आफूलाई एग्रिकल्चर लिमिटेडको प्रबन्धक बताउने मुगु खत्याड गाउँपालिका-२ घर भई वीरेन्द्रनगर नगरपालिका-४ बस्ने २५ वर्षीया किरण बिसी भन्ने (कर्णसिंह टमाटा)लाई महानगरीय प्रहरी वृत महाराजगंज, काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-३ बसुन्धाराबाट पक्राउ गरेको हो।

टमाटाले दैलेखको नारायण नगरपालिका-१ नयाँ बजारमा कार्यालय राखी जिल्लाका विभिन्न स्थानीय तहका जनतालाई समूहमा रकम जम्मा गर्न लगाउँदै आएका थिए। जम्मा गरेको रकमसहित उनी तीन महिनाअघि सम्पर्कविहीन भएका थिए। उनले संचालन गरेको एग्रिकल्चरमा कार्यरत कर्मचारीले ठगी गरी भागेको भन्ने उजुरीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको थियो। 

उनलाई माघ ९ गते काठमाडौंमा लुकीछिपि बसेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले बताए। पक्राउ परेका टमाटालाई आइतबार पत्रकार समेलनमार्फत दैलेख प्रहरीले सार्वजनिक गरेको हो। 

पचास लाख बढी ठगी

टमाटाले दैलेखका विभिन्न पालिकाका जनताबाट पचास लाख भन्दा बढी ठगी गरेको विवरण दैलेख प्रहरीमा आएको छ। लिमिटेडको प्रबन्दक बताउँने टमाटाले कर्मचारीको तलब चार लाख ४५ हजार, कर्मचारीको शेयरबापतको रकम ६ लाख बचतकर्ताको रकम १० लाख, कृषक व्यापारी तथा अन्य व्यक्तिहरूको रकम २२ लाख ६८ हजार ५ सय, संस्था रहेको घर भाडा डेकोरेशन खर्च ३ लाख ९० हजार गरी अहिलेसम्म प्रहरीमा आएको विवरणअनुसार ४७ लाख ३ हजार ५ सय ठगी गरेको खुलेको छ।

प्रहरीका अनुसार दुल्लुमा उनले सगुन कृषि तथा पशुपालन एग्रिकल्चर समूह निर्माण गरी ७ लाख ३० हजार ठगी गरेको देखिएको छ।

जागिर दिने भन्दै असुली

सहकारीमा जागिर लगाइदिने भन्दै प्रबन्धक टमाटाले कर्मचारी नियुति गर्दा लिमिटेडमा शेयर लगानी गर्न लगाइ ठगी गर्ने गरेको खुलेको छ।

उनले स्वर्णभूमि एग्रिकर्लचर सहकारीमा काम गरेकी एक कर्मचारीबाट नाम निकल्दिने भन्दै एक लाख रुपैयाँ ठगी गरेको भेटिएको छ। ती कर्माचारीका अनुसार आफू कृषि अध्ययन गरेकाले उक्त एग्रिकल्चरमा कृषि प्राविधिकका लागि कर्मचारी माग गरेको सूचनाका आधारमा जागिरका लागि आवेदन दिन गएको र नाम निकालिदिने भन्दै टमाटाले १ लाख रुपैयाँ लगाइन्।

आफूबाट एक लाख मात्र लगेको भए पनि पछि काम गर्दै जाँदा अरू कर्मचारीबाट पाँच लाखसम्म लगेको जानकारी पाएको उनले बताइन। आफूलाई पहिले कृषि प्राविधिक भनेर कर्मचारी राखेका भए पनि पछि कम्प्युटर जान्ने भएकाले टमाटाले लेखाको काममा लगाएको उनले बताइन।

आफूलाई लोकजनशक्ति पार्टीको केन्द्रीय महासचिवसमेत बताउने टमाटाले जागिर लगाउने भन्दै पैसा लिएको अर्का पीडित मिना थापाले बताइन्। उनले आफ्नै अगाडि मन्त्रीसँग फोन गर्ने र मुख्यमन्त्रीसँग खिचिएको फोटो देखाउँदै विभिन्न गाउँपालिका अध्यक्षलाई समेत फोनमा कुरा गरेर प्रलोभनमा पारी ठगी गरेको बताएन।

सुर्खेतमा भेटेर टमाटाले आफ्नो पार्टी कार्यालय राख्नको लागि घर चाहिएको बताएपछि उनले साथीको घरसमेत देखाएको बताइन्। टमाटाले आफ्नो घर बैंकले लिलाम गर्न लागेको भन्दै १ लाख ५० हजार मागेको र जागिर पाइने लोभले पैसा दिएको उनले बताइन।

पछि पैसा माग्दा कहिले कहाँ बोलाउने र कहिले कहाँ बोलाउने गरेपछि प्रहरीलाई खबर गरेर समात्छु भन्दा टमाटा भागेको उनको भनाइ छ। उसले आफूलाई अपहरण गरेर मार्नेसमेत योजना बनाएका कारण पनि आफूलाई पैसा लिन कहिले कही कहिले कही बोलाउने गरेको मिनाको आरोप छ।

प्रहरीकै अगाडि ज्यानमार्ने धम्की

प्रहरीले टमाटालाई जिल्ला अदालत दैलेखबाट म्याद थप गरेर थप अनुसन्धानका लागि हिरासतमा राखेको छ।

हिरासतबाट म्याद थपका लागि जिल्ला अदालत लगिर्दै गर्दा प्रहरीसँगै रहेका उनले पूर्वकर्मचारीहरू र ऋण दिएका सबैलाई प्रहरीकै अगाडि ज्यान मार्ने धम्कीसमेत दिएका छन्। एकजना पूर्वकर्मचारीले आफूलाई प्रहरीकै अगाडि जानमार्ने धम्की आएको बताइन्।

यस्तो छ कानुनी व्यवस्था

दैलेखका प्रहरी प्रमुख डिएसपी वलीले टमाटालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा २१ को १ विपरीत २ बमोजिम कसुर गरेको हुँदा निजलाई सोही दफाको उपदफा ३ ग बमोजीम ७ वर्षसम्म कैद सजाय र ७० हजारसम्म जरिवाना र बिगो बमोजिम क्षतिपूर्ति भराउने व्यवस्था रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.