|

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीले जिल्लाभित्र छाउगोठ नरहेको जनाएको छ। गृह मन्त्रालयले पुस ८ गते छाउगोठलाई नष्ट गर्न निर्देशन दिएपश्चात प्रशासनले जिल्लाभित्र छाउगोठ नै नरहेको प्रतिवेदन तयार पारेकाे छ। 

प्रशासन कार्यालयले  प्रहरी युनिट, स्थानीयतह र सरोकारवालासँग छलफल गरेपछि छाउगोठ नरहेको निष्कर्ष निकालेको हो। सरकारले निर्देशन दिएपश्चात छाउगोठ रहे/नरहेको बारे तथ्याङ्क संकलन गर्न सबै स्थानीयतह र प्रहरी युनिटहरुमा पत्राचार नै गरिएको थियो।  बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले तथ्यांक संकलनपश्चात छाउगोठ नरहेको पुष्टि भएको, यद्यपी : कुनै स्थानमा छाउगोठ रहेको जानकारी पाए त्यसलाई पनि भत्काइने जानकारी दिए।

प्रथाका नाममा विभेद र अत्याचार भइरहेको भन्ने गुनासो र समाचार आइरहेकाले मन्त्रालयले सुदूपश्चिमाञ्चलका केही जिल्लालाई छाउपडीमा जान तथा सो कार्य गर्न बाध्य पार्ने जुनसुकै व्यक्तिलाई पनि यथाशीघ्र कानुनी कारवाहीको दायरामा ल्याउनसमेत निर्देशन दिएको थियो।

मुलुकी अपराधसंहिता, २०७४ ले परिभाषित गरेका सामाजिक विभेद र भेदभाव तथा अपमानजनक व्यवहारविरुद्धका कानूनी व्यवस्था सम्बन्धमा आम नागरिकमा व्यापक सचेतनामूलक अभियान सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन गरेको छ।

प्रशासनले छाउगोठमा राखेको पाएमा कार्बाही समेत गर्ने जनाएको छ। 

छाउ बार्ने चलन भने कायमै

बैतडीमा छाउगोठ नभएपनि महिनावारीका बेला महिलाहरु अलग्गै बस्ने तथा छाउ बार्ने चलन कायमै रहेको छ। यो अवधिमा मासिकस्रावमा रहेका महिलाहरुले दुधदही समेत खाँदैनन्‌। 

महिनावारीका बेला स्कूले किशोरीहरुसमेत विद्यालय  जाँदैनन्‌ भने मन्दिर प्रवेश गर्न नहुने अन्धविश्वास रहेको छ। महिनावारी भएका बेला चार दिनसम्म कुनै व्यक्तिलाई छुन नहुने र दुधदही खान नदिने गरेको डिलाशैनीका अमिता बोहरा बताउँछन्‌। 'घरमा अलग्गै सुत्नुपर्छ,' उनले भने, 'महिनावारीका बेला बढी पोषिलो खानुपर्ने भएपनि यस्ता खानेकुरा खान बर्जित गरिन्छ।' अहिले बैतडीमा महिनावारीलाई प्राकृतिक नियमका रुपमा बुझ्न थालिएको उनले बताए। 

महिनावारीका बेला लागू हुने अन्धविश्वास अन्त्य गर्न पनि आवाज उठिरहेको छ।गृह मन्त्रालयले बैतडीसहित सुदूरपश्चिमका ९ वटै जिल्लाका साथै अन्य ११ जिल्ला प्रशासनलाई छाउगोठ भत्काउन निर्देशन दिएको छ। जसअनुसार सुदूरपश्चिमका विभिन्‍न जिल्लामा छाउगोठ भत्काउने अभियान जारी रहेको छ।  

सामाजिक कुरीति, बेथिति र अन्धविश्वासको रुपमा रहेको छाउपडी प्रथाका कारण दिन प्रतिदिन विभिन्न सामाजिक अपराध, महिला तथा बालबालिका हिंसामा वृद्धि, बलात्कार महिला अधिकारमाथिको चरम अवहेलनाजस्ता विकृति बढ्न गएको भन्दै यस्तो निर्देशन दिएको हो  ।

छाउगोठ राख्ने तथा महिनावारी भएकी महिलालाई छाउगोठमा बस्न बाध्य बनाउनेलाई प्रशासनले कारवाही गर्ने समेत जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.