|

हेटौंडा : हेटौंडाको शहीद स्मारकमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले एक घण्टा बिताइन्। हेटौंडा ११ थनाभर्याङस्थित प्रदेश प्रहरी कार्यालयमा राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट ओर्लिएर स्मारक आइपुगेकी हुन्। 

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल अध्यक्ष रहेको शहीद स्मारक स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा मुख्य प्रवेशद्वारमा निर्माण गरिएको रजत जयन्ती स्तम्भको अनावरण गरिन्। राष्ट्रपति भण्डारीले स्मारक ठूलो ढुंगामा कुँदिएका शहीदका प्रतिमामा माला अर्पण गरिन्। त्यसपछि उनले स्मारकमा रहेको प्रजातान्त्रिक पार्कको उद्घाटन गरिन्।

प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका प्रतिमाका राष्ट्रपति भण्डारीले इलेक्ट्रिक स्विच दबाएर एकसाथ उद्घाटन गरेकी हुन्। पार्कमा पुष्पलाल श्रेष्ठ, बिपी कोइराला, गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा निर्माण गरिएको छ। 

शहीद स्मारक विकास समितिले करिब डेढ करोड रुपैयाँ खर्चेर पार्कमा शालिक निर्माण गरको जनाएको छ। यसअघि शहीद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण शहीदलाई एकै थलोमा स्मरण गर्न शहीद स्मृति स्तम्भ निर्माण गरिएको थियो। जसमा ६५ फिट अग्लो स्तम्भ निर्माण गरिएको छ। यो स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गरेकी थिइन्।

राष्ट्रपति भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यार्पण गरिन्। आफ्नो स्वर्गीय श्रीमान मदन भण्डारीको शालिकमा माल्यर्पणपछि उनी केहीबरे एकोहोरो भइन। उनले मदन भण्डारीको शालिकबारे मुख्यमन्त्री पौडेलसँग केही कुरा गरेर मात्रै औपचारिक कार्यक्रमस्थलतर्फ गएकी थिइन्। 

प्राकृतिक, सांस्कृतिक सम्पदाका प्रयोगबाट दिगो विकास

उनले बागमती प्रदेश प्राकृतिक, सांस्कृतिक सम्पदाको दिगो विकासको लागि उपयोग गरे प्रदेश सरकार सफल हुने बताइन्। उनले बागमती प्रदेशभित्र रहेका पशुपति, बौद्ध क्षेत्र, स्वयम्भूलगायत अन्य धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकास गरि पर्यटनलाई विकास गर्नु पर्ने बताइन्।

राष्ट्रपतिले वन क्षेत्र, खानेपानी, ताल तलैयाको उपयोग संरक्षणमा सम्बन्धित क्षेत्रको ध्यान आकर्षण हुनुपर्ने पनि बताइन्। प्रदेश सरकारले वातावरणीय सन्तुलन, चुरे क्षेत्रको संरक्षण खाँचो रहेको भन्दै प्रदेशभित्र पर्यावरणमैत्री संरचना बनाउन आवश्यक रहेको बताइन्।

उनले प्रदेश भित्रको विद्युत क्षेत्रको विस्तार, शैक्षिक विकास, आन्तरिक आवागमनलाई सहज बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताइन्। उनले मुलुकको राजनीतिक, सामाजिक परिवर्तनमा शहीदको ठूलो योगदान भएको बताइन्। उनले शहीदको लागि मुख्यमन्त्री पौडेलको स्मारकप्रतिको लगावलाई आफ्नो सम्मान रहेको बताइन्।  

देशले रगत होइन, पसिना खोजेको छ : मुख्यमन्त्री पौडेल

शहीद स्मारक विकास समितिका अध्यक्ष समेत रहेको बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले देशको अहिले सम्मको उपलब्धीमा शहीदको महत्वपूर्ण भूमिका रहेको बताए। कार्यक्रमको अध्यक्षता गरेका मुख्यमन्त्री पौडेलले देशमा हुनु पर्ने राजनीतिक परिवर्तन भइसकेकोले अब आर्थिक र सामाजिक विकासतर्फ लाग्नुपर्ने बताए।

मुख्यमन्त्री पौडेलले भने, 'देशले अब परिर्वतनको लागि रगत होइन। समृद्धिको लागि पसिना खोजेको छ।' उनले  शहीदको सपना पूरा गर्ने बेला आएको भन्दै समृद्ध नेपाल, सुखी नेपाली  बनाउन सबैले आफ्नो स्थानबाट योगदान गर्नुपर्ने बताए। 

कार्यक्रममा  प्रदेश उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांंग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर वानियाँले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा बागमती प्रदेश प्रमुख विष्णु प्रसाईँ, सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका मन्त्रीहरू, विभिन्न देशका राजदूतको पनि उपस्थिति रहेको थियो।  


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.