जाजरकोट : कर्णाली प्रदेशलाई प्रांगारिक प्रदेश बनाउने लक्ष्य सफल पार्न जाजरकोटका स्थानीयतहले रासायनिक मल आयात र प्रयोगमा प्रतिबन्ध लगाउन थालेका छन्।
कुशे गाउँपालिकाले रासायनिक मल तथा विषादी आयातमा प्रतिबन्ध लगाएको छ। अर्गानिक गाउँपालिकाको रूपमा गत वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको कुशेले पुस अन्तिम साताको गाउँसभाबाट रासायनिक मल तथा विषादी आयातमा प्रतिबन्ध लगाएको हो।
गाउँपालिकाको निर्णयअनुसार रासायनिक मल र विषादी भित्र्याउन नदिन सबै सीमा क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ। गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले प्रवेश क्षेत्रमा चेकजाँच सुरु भइसकेको जानकारी दिए। कर्णाली प्रदेश सरकारले गत वर्ष गाउँपालिकालाई अर्गानिक गाउँपालिका घोषणा गरेको थियो। निर्णय कार्यान्वयनको क्रममा गाउँपालिकाले-९ नम्बर वडास्थित कृषि केन्द्रमा मौज्दात रहेको विषादी नष्ट गरिएको छ।
गाउँपालिकाकाले यस वर्ष किसानलाई जैविक विषादी तयार गर्ने तालिम दिन थालेको छ। केही वडाका किसानलाई जैविक विषादी वितरण गर्ने कार्यक्रमसमेत छ। ‘आगामी वर्षदेखि कुशे पूर्ण अर्गानिक गाउँपालिका बन्नेछ,’ अध्यक्ष बस्नेतले भने, 'कृषिउपज मार्फत मानवस्वास्थ्यमा प्रत्यक्ष फाइदा पुर्याउन विषादी प्रतिबन्धको निर्णय गरिएको हो।'
चिकित्सकका अनुसार कृषि उपजमा विषादी र रासायनिक मल प्रयोग गर्दा मानव स्वास्थ्यमा अल्सर, मुटु, नसासम्बन्धी रोग र क्यान्सरको जोखिम बढी हुन्छ। बालरोग विशेषज्ञ डा. मानबहादुर केसीका अनुसार विषादीको सेवनबाट अपांग बच्चा जन्मिने, अन्धो हुनेलगायत स्वास्थ्य समस्या देखा पर्छन। प्रांगारिक उत्पादन पोषिलो तथा गुणस्तरयुक्त हुने उनको भनाइ छ। कृषि प्राविधिकका अनुसार जैविक मल प्रयोगबाट खाद्यान्न उत्पादनमा वृद्धि हुने, माटोको उर्वराशक्ति बढ्ने, जमिनमा शुद्ध पानी पाइनेलगायत फाइदा पुग्छ। कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले अर्गानिक उत्पादनले जैविक विविधता संरक्षणमा टेवा पुग्ने जानकारी दिए।
गोठेमल ब्यवस्थापन, ड्रम वितरण, मलमुत्र संकलन, भकारो सुधारलगायत अर्गानिक अन्नबाली तथा तरकारी बीऊ उत्पादनका कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताए। कृषि विकास कार्यालयले गत आर्थिक वर्ष कुशेमा 'अर्गानिक मोडेल' निर्माण कार्यक्रमका लागि ९५ लाख रुपैयाँ विनियोजन गरेको थियो।
अर्गानिक प्रणालीले वातावरण तथा पर्यावरणमा सुधार ल्याई नागरिकलाई स्वस्थ जीवन जिउन मद्दत पुग्ने कार्यालय प्रमुख अधिकारीले बताए। उनका अनुसार कार्यालयले कुशेमा अर्गानिक भटमास खेतीमा जोड दिएको छ। प्रदेश सरकारले कुशेमा अर्गानिक कार्यक्रम सञ्चालन गर्न चालु आर्थिक बर्ष ५० लाख रुपैयाँ विनियोजन गरेको छ।
अर्गानिक कृषि उत्पादन नीतिलाई कार्यान्वयनमा ल्याउन गत वर्षदेखि जुनीचाँदे गाउँपालिकामा पनि कोदो र फापरलगायत रैथाने बाली उत्पादनमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए ।
जिल्लाको नलगाड नगरपालिकाले एक वर्षदेखि लसुनखेतीमा विशेष जोड दिँदै आएको छ। अहिले यहाँका स्थानीय कृषकहरले जिल्लाभन्दा बाहिर पनि लसुनको वीउ निर्यात गरिरहेको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए। उनका अनुसार यो आर्थिक वर्षदेखि गाउँपालिकाले व्यावसायिक टिमुर खेतीका लागि पनि पकेट क्षेत्र घोषणा गरी खेतीको लागि काम थालेको छ। त्यस्तै महका लागि पकेट क्षेत्र बनाएर यसै वर्षदेखि काम शूरू गरिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए।
जिल्लाको भेरी नगरपालिकाले पनि तरकारी र वीउविजनका लागि पकेट क्षेत्र घोषणा गरी काम थालेको छ। तरकारीबाली र अन्नबालीको वीउका लागि भेरी नगरपालिकाले विभिन्न पकेट क्षेत्र घोषणा गरी कृषकमुखी कार्यक्रम सञ्चालन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीका अनुसार नगरपालिकाले गहुँ र धानको वीउका लागि कालेगाउँ , होलु तथा मकैको वीउका लागि कालाभुर र पोख्रालाई 'पकेट क्षेत्र' घोषणा गरिसकेको छ। यसैगरी, तरकारीको वीउका लागि मटेला भेरे र ईवरलाई र आँपका लागि कुदुलाई पकेट क्षेत्र तोकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।