दैनिक एकसय २० कामदार काममा

|

बुटवलः लुम्बिनीमा झण्डै तीन वर्षअघि बुद्ध जयन्ती समारोहका लागि तयार पारिएको कार्यक्रमस्थल हावाहुरी र पानीले ध्वस्त बनाइदियो। कार्यक्रममा आएका राष्ट्रपति र प्रधानमन्त्रीसहितका विशिष्ट पाहुना टोली लामो समयसम्म भैरहवामै रोकिए। 

हावाहुरीसँगै भएको आगलागीका कारण कार्यक्रम नै बिथोलिएपछि त्यतिबेलै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार जना अट्ने र एकैपटक ध्यान गर्न मिल्ने सभाहल बनाउने घोषणा गरे।

प्रधानमन्त्रीले लुम्बिनीमा अस्थायी संरचना बनाएर खर्च गरिरहने भन्दा स्थायी प्रकृतिको अन्तर्राष्ट्रिय ध्यान केन्द्रसहितको विशाल सभाहल बनाउने घोषणा गरेका थिए। अहिले लुम्बिनीमा प्रधानमन्त्री ओलीले घोषणा गरे अनुरुपको भव्य सभाहल निर्माण भइरहेको छ। 

यो सभाहल तयार भएपछि लुम्बिनीमा हुने बुद्ध जयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव हट्नेछ। बुद्धजयन्तीको अवसरमा २०७५ वैशाख १८ गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा दक्षिण एसियाकै नमुना बौद्ध ध्यान केन्द्र तथा सभाहल भवनको शिलान्यास गरेकी थिइन्‌। 

३२ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त सभाहल २२ महिनामा सम्पन्‍न गर्नेगरी झण्डै डेढ वर्षअघि ठेक्का लगाइएको हो। सभाहल निर्माणको काम आगामी चैत मसान्तसम्म सक्ने गरी सम्झौता भएको थियो। सभाहल निर्माण ठेक्का बाबुल निर्माण सेवाले लिएको छ। सम्झौता गरेको मितिमै निर्माण सक्नेगरी अहिले काम भइरहेको छ।

अहिलेसम्म करिब ७० प्रतिशत निर्माणकार्य सकिएको निर्माण कम्पनीका प्रबन्ध निर्देशक सफिक अहमद खानले जानकारी दिए। उनले आउँदो बुद्ध पूर्णिमाका दिन कार्यक्रम नयाँ सभाहलमै गर्न मिल्नेगरी निर्माण भइरहेको दावी गरे। यद्यपि फिनिसिङका काम भने त्यतिबेलासम्म सकिने अवस्था छैन।

संरचना निर्माण भएको स्थानमै कार्यक्रम गर्न मिल्ने गरी अहिले काम भइरहेको छ। हालैको लगातारको हिउँदे झरी र अत्यधिक चिसोका कारण झण्डै एक महिनाजति ढिलाई भएको निर्माण कम्पनीका प्राविधिक निर्देशन इन्जिनियर सन्तोष अधिकारीले जानकारी दिए। 

अहिले दैनिक १२० जनासम्म कामदार दुई सिफ्टका काममा खटिएका छन्। उनीहरूमध्ये ५० जनाले त वेल्डिङको काम गरिरहेका छन्। भवनमा प्रयोग गरिने सामग्री अहिले लुम्बिनीसहित विभिन्न ठाउँमा बनिरहेका छन्। त्यसरी तयार भएका सामग्रीलाई यहाँ ल्याएर संरचनामा जोडिनेछ।

सभाहलको छाना कोरियाली प्रविधिमा निर्माण भइरहेको छ। अहिले सभाहल, कन्ट्रोलरुम, र दुईवटा शौचालय निर्माणका काम चलिरहेका छन्। सभाहलको भवन मात्रै करिब डेढ विघा क्षेत्रफलमा निर्माण भइरहेको छ।

इन्जिनियर अधिकारीका अनुसार यो हल बनेपछि आठ हजारभन्दा धेरै मानिस अट्न सक्छन्। तर, ध्यानकेन्द्र बनाउने भनिएकाले खुला क्षेत्र धेरै छाडेर पाँच हजारजना अट्नेगरी संरचना बनाइँदैछ।

भवनको पूरै ११ हजार स्क्वायरमिटरको क्षेत्र ध्यानकेन्द्र तथा सभा गर्न मिल्ने ठाउँ हो। यसका अतिरिक्त ध्यानकेन्द्र तथा सभाहल वरपर बुद्धकालिन रुखवृक्ष (कल्पवृक्ष), फलफूलका बिरुवासहितको हरियाली बनाइने छ भने बाटो पनि सोहीअनुरुपको हुने छ।

सभाहलको निर्माण भएपछि बुद्ध जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अर्को आकर्षक केन्द्र बन्‍ने लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए।  

लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरका सभा सम्मेलन, साधना तथा ध्यान गर्न र लुम्बिनीको प्रबर्द्धनमा समेत यो हलले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.