|

कञ्चनपुर : बर्सेनि नदीको बाढीले गर्ने भू-क्षय रोक्न कञ्चनपुरका स्थानीय तह जैविक तटबन्धमा लगानी बढाउन थालेका छन्। भू-क्षय रोक्नका लागि दिगो उपायका रुपमा स्थानीय तहले जैविक तटबन्ध बनाउन थालेका हुन्।

नदी तटीय क्षेत्रमा घाँस जोगाउने र बाँसको जैविक तटबन्ध निर्माण गरी भू-क्षय रोक्ने कार्य हुन थालेपछि स्थानीय बासिन्दाको खेती योग्य जग्गा जोगिन थालेपछि जैविक तटबन्ध निर्माणमा जनसहभागिता समेत बढ्न थालेको छ। 

माघ महिनाको चिसो पानीमा स्याली नदीमा नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरको सहकार्यमा जैविक तटबन्ध निर्माणमा स्थानीयसँगै खटिएका शुक्लाफाँटा नगरपालिका ३ का वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले लाखौं रुपैयाँ खर्च गरेर निर्माण गरिएका ढुंगा तारजालीको तटबन्धले रोक्न नसकेको भू-क्षयको कार्य जैविक तटबन्धले रोक्न थालेपछि यस कार्यालाई निरन्तरता दिँदै आएको बताए। उनका अनुसार रेडक्रस सँगको सहकार्यमा वडा कार्यालयले स्याली नदीको उल्टापानीमा तीन सय मिटर जैविक तटबन्ध निर्माणको कार्य शुरु गरेको छ।

जसका लागि वडा कार्यालयले एक लाख ५० हजार, रेडक्रसले प्राविधिक सहयोगसहित नगद रु एक लाख ७० हजार रकमसहित स्थानीयले एक लाख २३ हजार बरावरको श्रमदान गर्ने छन्। स्थानीय तह सँगको सहकार्यमा चारवर्ष अघिदेखि स्याली, सवनवोरा, वनहरा र दोदा नदीमा रेडक्रसले निर्माण गरेका जैविक तटबन्ध भू-क्षय रोक्न सक्षम भएका छन्।

स्थानीय तहले थोरै रकममा भू-क्षय हुने जग्गा जैविक तटबन्धका माध्यमबाट रोकिन थालेपछि यसका लागि बजेटको व्यवस्था गर्दै आएका छन्। रेडक्रसका विपद् जोखिम न्यूनीकरण सुपरभाइजर जनक लेखकका अनुसार चालु आबमा शुक्लाफाँटा, कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सहकार्यमा एक हजार दुई सय ५० मिटर जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको छ।

स्याली र दोदा नदीमा जैविक तटबन्ध निर्माणको कार्य भइरहेको छ। लालझाडी गाउँपालिका भएर बग्ने दोदा नदीको खल्लाजाँई, सिकलपट्टि र नन्द गाउँमा गरी एक हजार ५० मिटर लम्बाइको जैविक तटबन्ध निर्माणको कार्य अगाडि बढाइएको छ। सुपरभाइजर लेखकले भने, 'जसका लागि गाउँपालिकाले १२ लाख ५० हजार रकम लगानी गरेको छ। रेडक्रसले ११ लाख ९९ हजार रकम लगानी गरेको छ। जसमा स्थानीयको जनश्रमदान समेत रहेको छ।' 

सिकलपट्टिमा ढुंगाको टोवाल समेत निर्माण भइरहेको छ। लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले जैविक तटबन्ध निर्माण कार्य निकै प्रभावकारी देखिएकाले यसलाई विस्तार गर्नका लागि यथेष्ट बजेटको व्यवस्था मिलाइएको बताए। यसैगरी, कृष्णपुरको वडवैका टोलमा नगरपालिकाको पाँचलाख ५० हजार र रेडक्रसको  दुईलाख ५० हजारको लागतमा जैविक तटबन्ध निर्माणको कार्य शुरु गरिएको छ। 

आब २०७५/०७६ मा लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकामा गरी तीन हजार ३०० मिटर जैविक तटबन्ध र २१ वटा स्पर एक करोड ६५ लाख ९४ हजार ८० रकम खर्च गरिएको छ। जसमध्ये रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनाको २२ लाख २६ हजार १६६, समुदायको ११ लाख ८५ हजार ५७९, दुई वटै स्थनीय तहको १६ लाख ८२ हजार ३३५ रकम लगानी गरेको थियो। 

आब २०७४/०७५ मा लालझाडी, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका क्षेत्र भएर बग्ने नदीमा तीन हजार ४५० मिटर जैविक तटबन्ध ५० लाख ६१ हजार २७६ मा निर्माण गरिएका छन। जसमध्ये परियोजनाको १३ लाख ४० हजार ४३६, समुदायको १० लाख १६ हजार ६५०, तीन वटै स्थनीय तहको २७ लाख चार हजार १९० रकम लगानी गरेको थियो। 

आव २०७३/०७४ मा लालझाडी, कृष्णपुर र शुक्लाफाँटामा गरी एक हजार मिटर बाँसको जैविक तटबन्ध निर्माण गरिएको थियो। जसमा ९८ मिटर तटबन्ध टोवाल र ३५.२ मिटर रिटेनिङ वाल निर्माण गरिएको थियो।

तटबन्धका लागि परियोजनाको २० लाख २३ हजार ५६९, समुदायको सात लाख ९० हजार ७०४, स्थानीय तहको एक लाख १० हजार १९०, जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयको चार लाख ६५ हजार ७९९ गरी जम्मा ३५ लाख ४० हजार २०४ रकम लगानी गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.